दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

२०७९ जेष्ठ २९ गते, आईतवार

शोभाराम राना मगर

आजको दुनियाँमा असम्भव केही छैन भने हाम्रो मुलुक बन्न पनि असम्भव छैन । तर, अहिलेसम्म बनिरहेकोे छैन । यसको गहिराइमा पुगेर खोज, अनुसन्धान, छलफल, समीक्षा र दृढ संकल्प गर्नुपर्ने भएको छ । चीन, उत्तरकोरिया, रूस, सिंगापुरलगायतका राष्ट्रहरु केही समय मात्र अगाडिसम्म नेपालसँग समान हैसियतमा थिए । उनीहरुले यसरी छ्लाङ हानेकी पृथ्वीमा मानब जातिको अस्तित्व संकट प¥यो भने अन्य ग्रहमा बस्ती बसाल्न सक्ने हैसियतमा छन्् । हाम्रो मुलुक विश्व कै सबैभन्दा राम्रो जल, जमिन, जंगल र जलवायुको अनुपम संगम हुँदाहुँदै पनि हाम्रो मुलुक किन बनेन ? कुन कुन कुराको अभाव भयो ? कसरी आधुनिक मुलुक बनाउन सकिन्छ ? कहिले बनाउन सकिन्छ ? आदि विषयहरुमा संक्षेपमा यहाँ उल्लेख गर्ने कोसिस गरिएको छ ।

पहिलो, मुलुक बदल्ने मुख्य बाटो क्रान्ति हो । क्रान्तिले पुरानो राज्य सत्ताको ठाउँमा नयाँ जनवादी राज्यसत्ताको निर्माण गर्छ । क्रान्ति अत्यन्तै निर्मम र कठोर हुन्छ । चाहे रुसी क्रान्ति होस् वा चिनियाँ क्रान्तिमा करोडौं सचेत जनताको समर्थन, लाखौं योद्धाहरुको बलिदानी र सयौं युद्ध मोर्चाको जित पछि मात्र क्रान्ति सम्पन्न भएका थिए । हाम्रो मुलुकमा पनि पटक–पटकको क्रान्तिमा लाखौं जनताको साथ हजारौं योद्धा हरुको बलिदानी भएका छन्् । विडम्बना क्रान्ति लक्ष्यमा नपुग्दै धोका पाएको छ । जसले गर्दा जनता र युवाहरूलार्ई अब फेरि क्रान्तिमा सहभागी हुनको लागि केही आशंकाहरु पैदा हुनु स्वभाविक हो । तर, मुलुक परिवर्तनको निर्विकल्प क्रान्ति नै हो । जनता र युवाहरूको सहभागी बिना क्रान्ति सम्भव पनि छैन । यी अन्तर सम्बन्धलार्ई जोडिरहनको लागि कयौँ चुनौती सामना गर्नुपर्ने हुन्छ । युवाहरूमा भएको निम्न पुँजीवादी चिन्तन, प्लायनवादी सोच, उपभोक्तावादी सोच, जड्सूत्रवादी, अनुभववादी, संकीर्णवादी, अकर्मण्यतावादी, अवसरवादी र बुर्जुवा संस्कृतिको पर्दा धुजाधुजा हुनेगरी च्यात्ने कुशल नेतृत्व, वैज्ञानिक कार्यदिशा, परिस्थिति अनुकुलको कार्यनीति, र विचार सहितको रणनीति भएको पार्टीको आवश्यकता हुन्छ । क्रान्तिको यात्रामा त्यस्तो पुस्ता मात्र सहभागी हुन्छ । जसले क्रान्ति हुनेमा पूर्ण विश्वस्त हुन्छ । क्रान्ति पछि क्रान्तिको रक्षा र विकास हुने देख्छ । आपूm सहिद भए पनि आफ्नो राष्ट्र र सन्ततिको भविष्य उज्ज्वल हुने निश्चित देख्छ । संसदीय पार्टीमा जस्तो नभई युवापुस्तालार्ई पार्टीको होस् वा राज्यको नीति, योजना र कार्यक्रम निर्माण गर्ने तहमा जानबाट निषेध नगरिने देख्छ । अनि मात्र युवाहरू क्रान्तिमा सहभागी हुन्छन्् ।

दोस्रो, राजनैतिक नेतृत्वहरु निजी स्वार्थबाट टाढा भए मुलुक बन्छ । राजनीतिक दलका नेताहरू लुट्तन्त्र र दलालीको चङ्गुलबाट बाहिर निस्कने इच्छा शक्ति हुनुपर्छ । तर, अहिले आपूmलार्ई जनताको पार्टी भन्ने मूलधारका पार्टीको राजनीतिक चित्र भनेको पैसा दिएर, नाता लगायर, चाकडी गरेर जसरी भए पनि शक्तिशाली गुटको शक्तिशाली उपगुटमा प्रवेश गर्ने अबैध दुलोबाट पार्टीको ठूलो पदमा पुग्ने त्यसलार्ई स्पृङबोडको रुपमा प्रयोग गर्ने र राजकीय पदमा पुग्ने जति सक्यो लुट्ने फेरि उफ्रिने र पार्टीको अझ ठूलो पदमा पुग्ने र अझ ठूलो राजकीय पदमा पुग्ने यस्तै प्रक्रिया पछि सबैभन्दा ठूलो राजकीय पद (प्रधानमन्त्री, राष्ट्रपति) मा पुग्ने यतिले मात्र पुग्दैन त्यही पदमा दोहोरिने यति गर्दा आफ्नो बलियो गुट तयार हुन्छ ।

शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री भएर पनि फेरि हुन खोज्नु, प्रधानमन्त्री हुनको लागि केपी र प्रचण्डको झगडा संसद विघटन हुँदै पार्टी बिभाजनसम्म पुग्नु, काँग्रेसको क्रियासिल सदस्यता वितरणमा विवाद, माकेको विद्यार्थी संगठन र युवा संगठनको सम्मेलनमा देखिएको विवाद, मन्त्री बन्नको लागि गुट मात्र होइन दिनको दुई पटक पार्टी फेरिएको घटना होस् वा मन्त्रीको लागि फ्लोर क्रस गरिएको घटना होस् । यी सबै निजी स्वार्थका लागि गरिएका बलियो उदाहरण हुन् । यस्ता राजनैतिक नेतृत्व हुँदासम्म मुलुक बन्दैन । यसका लागि निस्वार्थी, त्यागी, समर्पित, निडर, दुरदर्शी, निष्ठावान र क्षमतावान नेतृत्वको आवश्यकता हुन्छ । माक्स, माओ, लेनिन, स्टालिन जस्ता नेतृत्व चाहिन्छ । त्यति हुन नसके पनि वर्तमान विश्वका सि जिन पिंङ, किम जङ उन, जनरल पार्क, इमरान खान, लि क्वान यु जस्ता नेतृत्व भए पनि नेपाल धेरै अगाडि जान्छ ।

तेस्रो मुलुक बनाउन भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । ट्रान्सफरेन्सी इन्टरन्यासनलको सर्वेक्षणअनुसार भ्रष्टाचार हुने देशहरूमा नेपाल एक नम्बरमा प¥यो । त्यसमा पनि सबैभन्दा बढी मन्त्रीबाट भएको तथ्यांक छ । जसलार्ई जनताले मुलुकको विकासको जिम्मा दिएको छ । उनीहरुले नै देशलार्ई कंगाल बनाइरहेका छन्् । कुनै आयस्रोत नभका नेताहरूको काठमाडौँमा भएका बंगाला, करोडौंको गाडीहरू, नेपालमा मात्र होइन बिदेशी बैंकहरुमा भएको बैंक ब्यालेन्स नै भ्रष्टाचार गर्नेहरुमा नेता र मन्त्री हुन् भन्ने सबुत प्रमाण हो । भ्रष्टाचार हुनुको पहिलो कारण उम्मेदवार को उच्च निर्वाचन खर्च हो । चुनावमा आफ्नो एजेन्डाद्वारा नभई पैसाद्वारा मतदाता किन्नु पर्ने त छदैछ त्यसमा आफ्नै पार्टीबाट टिकटसमेत संस्कारले गर्दा चुनाव अत्यधिक खर्च हुन्छ । यति धेरै रकम कहाँ बाट ल्याउँछन्् ? कुन तहको उम्मेदवार हो त्यहीअनुसारको दलाल, माफिया, तस्कर, बिचौलिया र बिदेशी मालिकहरुबाट सर्त सहितको रकम लिन्छन्् । चुनावमा सफल भएपछि कार्यलयको सहयोगि देखी प्रधानन्यायाधीश, प्रधानमन्त्री सम्म्को नियुक्त, स्कुलको शौचालय बनाउने देखी अर्बौंका ठूला आयोजना ठेक्का दिने, केही चिनी मिलदेखि एनसेलजस्ता विदेशी कम्पनीहरुलार्ई मोटो कर मिनाहा गर्ने, राष्ट्रघाती सन्धि सम्झौता गर्ने आदि जस्ता पूर्वसर्तअनुसारको हुबहु कार्यान्वयन गर्नुपर्ने हुन्छ र गर्छन् । चुनावमा भएको खर्च र फेरि अर्को चुनावमा हुने खर्चका लागि भनेर बर्सै पिच्छे उहीँ शीर्षक उही उपभोक्ता समिति र कामको परिणाम पहिले जति थियो उति भएको कुरा हामीले रोल्पामा देखेका सुनेका छौँ । शान्ति मन्त्रालयबाट युद्ध पर्यटन शीर्षकमा रोल्पामा करिब ५० करोड खर्चेर बनाएका पार्क, प्रतीक्षालय, शौचालय प्रयोग गर्न नमिल्ने छ । नेपालभर यस्ता सयौं उदाहरण छन्् । २०७८ भदौमा प्रचण्डले एउटा सार्वजनिक कार्यक्रममा बोल्दै भने “अब चुनाव लडन सकिँदैन संघको चुनाव जित्न १० करोडभन्दा बढी, प्रदेश संसद जित्न ५ करोड बढी र स्थानीय तह जित्न २ करोड बढी रकम चाहिन्छ । “यहीँ कुरा बाट स्पष्ट हुन्छ कि जित्नेले यति रकम गर्छ भने हार्नेले पनि त यो भन्दा केही मात्र कम खर्च त गर्छ नै । जित्ने र हार्नेहरु सबैको खर्चको स्रोत चोरबाटो नै हो । यसरी प्रत्येक उम्मेदवारले गरेको अबैध उच्च चुनावी खर्च र सरकारले चुनावको लागि भनेर गरेको बैधानिक अर्बौं खर्चले नै मुलुक बिकासको बाधक हो । अर्को भ्रष्टाचार हुनुको कारण सेना, प्रहरी र कर्मचारीहरुलार्ई उचित तलब भत्ताको कमी र नियुक्ति, बढुवा, सरुवा हुँदा क्षमता, दक्षता, अनुभव र योग्यताको आधारमा नभई पैसाको आधारमा हुनु हो । कर्मचारीलार्ई भ्रष्टाचार गर्ने बाताबरणको सिर्जना राज्यले गरेको छ । यदि स्वच्छ प्रतिस्पर्धाको आधारमा नियुक्ति, सरुवा, बढुवा र उपयुक्त तलब भत्ताको व्यवस्थापन गर्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । विभिन्न प्वालहरु टाल्दा टाल्दा नेपालको कुल बजेटको जम्मा १० प्रतिशत बजेट मात्र वास्तविक कार्यान्वयन हुन्छ भने बाँकी ९० प्रतिशत भ्रष्टाचार भएको छ । जम्मा ९० प्रतिशत बजेट सम्बन्धित योजनामा कार्यान्वयन गर्नुको साथै न्यून र पारदर्शी कर प्रणाली बनाउने हो भने १० बर्षमा आधुनिक मुलुक बनाउन सकिन्छ ।

चौथो, हाम्रो मुलुक बिदेशी शक्ति केन्द्रको रिमोट कन्ट्रोलबाट चल्न पूर्णतया रोक्नुपर्छ । जसका लागि नेपाली माटो सुहाउँदो, नेपाली सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने योग्यता, योजना, भिजन, सक्षम र दुरदर्शी नेतृत्व आवश्यक पर्छ । जुन वर्तमान नेतृत्वहरुबाट सम्भावना छैन । देशभक्त नेपालीहरुको चर्को बिरोध हुँदाहुँदै पनि ठूलो बहादुरीका साथ राष्ट्रघाती एमसिसी संसदबाट पास गरी नेपाली दलाल सत्ता गठबन्धनले नेपाललार्ई अमेरिकी सैन्य गठबन्धनमा समावेश गरी आधुनिक मुलुक होइन अफगानिस्तान, इराक, इरान, युक्रेन जस्तै क्रीडास्थल बनाउने निश्चित जस्तै भएको छ । तर, यसको विरुद्ध जनताको सशक्त प्रतिरोधले साम्राज्यवादी र उनका नोकरलार्ई धुलोपिठो पार्न सकिन्छ । नागरिकका लागि रोजगारीका ढोकाहरु खोल्ने र त्यही ढोकाहरुको उपयोग गर्न सक्ने क्षमतको विकास पनि गरिदिनु पर्छ । जसले गर्दा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्छ र आधुनिक मुलुक निर्माणमा सहयोग पुग्छ ।

अन्त्यमा, आधुनिक मुलुक बनाउन ४५–५० डिग्रीको गर्मीमा खाडी मुलुक बनाइरहेका ७५ लाख युवाहरूलार्ई स्वदेश फर्काइ २० लाख बिघा जमिनमा कृषि उत्पादन गर्न सहुलियतमा ऋण उपलब्ध गरिदिनुको साथै उत्पादित वस्तुको बजार र उचित मूल्यमा बजारको ग्यारेन्टी गरिनु पर्छ । राज्यले ठूलो धनराशि खर्चेर शिक्षा दिएका युवा विद्यार्थीहरु विदेशी शिक्षा लिने नाममा प्रत्येक बर्ष ७०–८० हजारको संख्यामा नफर्किने गरी प्लान भैरहेका छन्् । यो प्लान रोक्न उनीहरूले इच्छाएको क्षेत्रहरु नेपालमै चाहे विकास निर्माणको क्षेत्र होस् वा कृषि क्षेत्र होस्, चाहे शिक्षा क्षेत्र होस् वा चिकित्सा क्षेत्र होस्, औद्योगिक क्षेत्र होस् वा हाइड्रोपावरमा काम गर्ने उच्चस्तरको दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । ता कि उनीहरुले आधुनिक मुलुक निर्माणको दृढइच्छा शक्तिका साथ योगदान गरुन् । दलाल पुँजीवादी संसदीय व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था लिएर मात्र आधुनिक मुलुक बन्छ । जहाँ दलाल पुँजीवादी उत्पादन सम्बन्धको कारण हुने वैदेशिक हस्तक्षेपको अन्त्य हुन्छ । उत्पादन शक्तिको हातमा उत्पादन साधन हुन्छ । नोकरशाही पुँजीको अन्त्य भइ राष्ट्रिय पुँजीको विकास हुन्छ । अनि मात्र भ्रष्टाचारी, लुटेरा, तस्कर, माफिया र बिचौलियको अन्त्य हुन्छ । बाँस, गास, कपास, शिक्षा, स्वास्थ र रोजगारको निश्चित हुन्छ । अनि हाम्रो मुलुक भ्रष्टाचार गर्ने एक नम्बरको देश होइन विकसित देश हुनेछ । साँच्चिकै आधुनिक मुलुक बन्नेछ ।

लेखक ः नेकपा रोल्पाका पूर्व DCS हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु