जीउमा ६ लाख ३७ हजार मौरी राखेर विश्व कीर्तिमान

२०७९ जेष्ठ २६ गते, बिहीबार


काठमाडौं । चीनका रुआन लियांगमिंगले आफ्नो शरीरलाई झण्डै साढे ६ लाख वटा मौरीको गोलोमा बदलेर गिनिज बुकमा नाम लेखाएका छन् । लियांगमिंगले आफ्नो पूरै शरीरलाई मौरीले छोपिदिए । सोसल मिडियामा मौरीको गोलो बनेको उनको शरीरको तस्वीर तथा भिडियोहरू भाइरल बनिरहेका छन् । रुआनले कीर्तिमान रच्नका लागि एउटा रानी मौरीलाई सुरुमा आफ्नो शरीरमा राखे । त्यसपछि त एकाएक अरु लाखौँ मौरीहरू रानीलाई खोज्दै उनको जीउमा आएर बस्न थाले ।
उनले आफ्नो सरीरमा कुल ६० वटा रानी मौरी बसालेका थिए र अरु करिब ६ लाख ३७ हजार मौरी आफैं आएर उनको जीउमा बसे । त्यसरी उनको जीउमा आएर बसेका मौरीहरूको कुल वजन ६७।७ केजी थियो । गिनिज बुुक अफ वल्र्ड रेकर्डस्का अनुसार यसरी शरीमा लाखौं मौरी बसाल्ने कलालाई बी बर्डिङ भनिन्छ, जुन कला १९औँ शताब्दीदेखि नै प्रचलित छ । एक अन्तरवार्ताका क्रममा रुआनले यस्तो कला देखाउनका लागि शान्त ढंगले बस्न सक्नुपर्ने बताउँछन् ।
मौरीले आफूमाथि खतरा उत्पनन नभएपछि कसैलाई पनि नचिल्ने भन्दै उनले यसरी शरीमा बस्ने कुनै पनि मौरीले मानिसलाई आक्रमण नगर्ने बताएका छन् । मौरीले आफ्नो सुरक्षाका लागि मात्र आक्रमण गर्ने उनको भनाइ छ ।
मौरीलाई आफ्नो शरीरमा बसाउने क्रममा रुआन संयमित तवरले बसिरहे । त्यसक्रममा उनका आँखा खुल्ला थिए भने मुख बन्द थियो । उनको शरीरमा माहुरीहरू राखिदिने मानिसले चाहिं सुरक्षाको उपकरण लगाएका थिए । तर रुआन आफैंले भने कुनै पनि सुरक्षा उपकरण लगाएका थिएनन् । उक्त पूरै घटनाक्रमलाई गिनिज बुकमा प्रतिनिधिहरु एन्जेला वू र लीसा हफम्यानले अवलोकन गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु