आज बेपत्ता योद्धा स्मरण दिवस

२०७९ जेष्ठ ७ गते, शनिबार


काठमाडौं । आज जेठ ७ गते अर्थात बेपत्ता योद्धा स्मरण दिवस । अन्तर्राष्ट्रिय जगतमा अगष्ट ३० लाई अन्तर्राष्ट्रिय बेपत्ता दिवसका रूपमा मनाउने गरे पनि नेपालको विशिष्ट अवस्था र परिवेशका कारण हामी फरक दिनमा ‘बेपत्ता योद्धा स्मरण दिवस’ मनाउँछौं ।नेपालमा ७ जेठ २०५६ मा काठमाडौंको सुन्धारा तेबःहालबाट तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने लगायतका तीन जना सदस्य नवीन राई, कमला शर्मा, मिलन नेपालीलाई गिरफ्तार गरी बेपत्ता बनाएको थियो । असाध्यै प्रतिकूल समय २०५६ सालमा संस्थागत रूपमा राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालको स्थापना गरी २०६८ सालदेखि पहिलो चोटि नेपालमा बेपत्ता योद्धा स्मरण दिवस मनाउन शुरुआत गरिएको थियो ।राज्यले मुक्तिगामी आन्दोलनमा सरिक भएका र राजनीतिक आस्था राखेकै कारण बलपूर्वक बेपत्ता पार्ने कार्यको थालनी गरेको कालो दिनको रूपमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आइरहेका छौं ।५ मंसीर २०६३ मा सम्पन्न विस्तृत शान्ति सम्झौतामा उल्लेख भए अनुसार ६० दिनभित्र बेपत्ताहरूको यथार्थ अवस्था परिवारलाई जानकारी दिने भनियो । नेपालको अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौतामा सशस्त्र द्वन्द्वको क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्न व्यक्तिहरूको बारेमा सत्य अन्वेषण र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय आयोग गठन गर्ने व्यवस्था गरियो ।नेपालको अन्तरिम संविधान, २०६३ मा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको सम्बन्धमा गठित छानबिन आयोगको प्रतिवेदनको आधारमा त्यस्ता व्यक्तिहरूका पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रावधान पनि राखिए । २८ वैशाख २०७१ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन जारी भयो ।व्यक्ति बेपत्ता पार्ने सम्बन्धी घटनाको छानबिन गरी वास्तविक सत्य, तथ्य जनसमक्ष ल्याउन, घटनाबाट पीडित व्यक्तिलाई परिचयपत्र प्रदान गरी परिपूरणको व्यवस्था गर्न र त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीको लागी सिफारिश गर्ने समेतको उद्देश्य सहित दुई छुट्टाछुट्टै आयोग गठन भए ।आयोगको ऐन एवं अन्तर्राष्ट्रिय कानून समेतले व्यक्ति बेपत्ता पार्ने कार्यलाई मानवअधिकारको गम्भीर उल्लङ्घन र मानवता विरुद्धको अपराध भनी परिभाषित ग¥यो । तर, आज पनि समस्या ज्यूँका त्यूँ नै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु