सामाजिक सुरक्षाभत्ता कर्मचारी र जनप्रतिनिधिको गोजीमा !

२०७९ जेष्ठ ६ गते, शुक्रबार


काठमाडौं । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको तथ्य बाहिर आएको छ । आर्थिक वर्ष २०७४ देखी २०७६/७७ आर्थिक वर्षमा सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको देखिएको हो । सामाजिक सुरक्षाभत्तामा व्यापक अनियमितता भएको गोप्य सूचना आएपछि सत्यतथ्य बुझ्न वडामा गएर सूचना माग्दा सूचना दिनै आलटाल गरिएको थियो । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम आएको सूचना अनुसार वडा नम्बर १ दिक्तेलमा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको आशंका गरिएको हो । जसअनुसार एउटै व्यक्तिको नाम दुई÷दुई ठाउँमा उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता बुझेको पाईएको छ ।
मृत्यु भएका, दोहोरो नाम परेका, नागरिकता नम्बर मिलेका तथा विवरणमा नाम नभएकालाई समेत सामाजिक सुरक्षाभत्तामा समावेश गरेर रकम बुझेको देखिएको छ । एउटै नाम नागरिकता नम्बर उल्लेख गरेर तुलसादेवी आचार्य, तुलसा आचार्य, देउबहादुर देउजा, नरमाया आचार्य, मिनाकुमारी श्रेष्ठ, बिष्णुमाया आचार्य, मोहनकुमारी राजभण्डारी र मुत्यु भैसकेका रत्नप्रसाद आचार्य लगायतको नाम उल्लेख गरेर सामाजिक सुरक्षाभत्ताको रकम बुझेको पाइएको हो ।
यता, सोही वडाकी वडा सदस्य अन्जना केशी (हाल निर्वाचित महिला सदस्य) ले विधुवाभत्ता समेत बुझेको पाईएको छ । एउटै व्यक्तिले दुईतिरबाट राज्यबाट एउटा सुविधालिएपछि अर्कोतिरबाट लिन नपाउने भएतापनी कतिपय जनप्रतिनिधिले समेत दुवैतिरबाट सेवासुविधा बुझ्ने गरेको देखिन्छ । यसमा कर्मचारी र जनप्रतिनिधि कै मिलेमातो रहेको आशंका गरिएको छ । बाहिर आएको सूचनाका आधारमा अख्तियारले खोजी गर्ने बुझिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु