भ्रष्ट र दलाल नेतालाई समाजमा गाली, कार्यक्रममा ताली ,निर्वाचनमा बिजयको माली

२०७९ जेष्ठ ४ गते, बुधबार
दयाराम सिंह लुवर


निर्वाचन देश निर्माणका लागि योग्य, सक्षम, क्षमतावान, निर्भीक र दृढ ब्यक्ति छनोटका लागि स्वतन्त्र, भयरहित करकाप बिना अनुशासित र शान्त वातावरणमा जनतालाई आफ्नो मनलागेको देशभक्त उम्मेदवारलाई बिजयी गराई देश निर्माणको जिम्मेवारी दिने विषय हो । नेपालको स्थानीयदेखि प्रदेशसम्मका अधिकाङ्स निर्वाचन लोकतान्त्रिक विधि पद्धति अनुसार योग्य र देशभक्त उम्मेदवार बिजय गरि स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न भएको देखिदैन । आफ्नो पार्टीका भ्रष्ट एवं दलाल उम्मेदवार जिताउनका लागि राजनीतिक दलका नेताकार्यकर्ता जस्तोसुकै लोकतान्त्रिक विधि प्रक्रिया मिच्न र हद पार गर्न तयार हुन्छन । आफ्नो जितका लागि साम, दाम, दण्ड,भेद सबै प्रकृया प्रयोग गर्छन । समाजले चाहेको, रुचायको क्षेमतावान र योग्य उम्मेदवारको छनोटका लागि कसैको पनि ध्यान केन्द्रित भएको देखिदैन ।

निर्वाचनमा जनताद्वारा जनताका आफ्ना योग्य जनप्रतिनिधि छान्नका लागि पहिला त जनतालाई भयरहित वातावरणमा स्वतन्त्र रुपले छनोटको पुर्ण अधिकार दिनुपर्छ ।
दोस्रोमा – चुनाव प्रचारप्रसारमा आफ्नो मावल देखाउन र समाजलाइ प्रभावित पार्न गरिव घरपरिवारका छोराछोरीलाई आश्वासन देखाएर, रक्सिखुवाएर, डरधम्की देखाएर भ्रष्ट र दलाल कुरालाइ जनपक्षीय भनी भन्न लगाउन युवाहरू प्रयोग गर्नु गलत छ ।
तेश्रोमा – चुनावको एक दुइदिन अगाडि समूह बनाएर लुकिछिपी राती घरमा सुतेका अर्ध निन्द्राका परिवारलाइ बिउझाएर उस्ले बार्गेनिङ गरे बमोजिमको पैसा दिने, यदि नमाने थर्काउने, धम्काउने, ठुलाठुला आश्वासन देखाउने र अन्य देशभक्त उम्मेदवारलाई आफ्ना प्रगतिशील एजेन्डा र बिचारसहित जनताको बिच जान नदिनका लागि आफ्ना चुनावी गुण्डाहरुद्वारा कुटपिट तथा साङघातिक हमला गरि बन्देज गर्ने काम झन घातक छ ।
चौथोमा – चुनावको दिन बिहानै केही युवाहरु खटाई मतदाताहरुलाई गाउगाउबाट आफ्नो नियन्त्रणमा सम्झाउदै आफ्नो पार्टीको चुनाव चिन्नमा मतदान गर्न लगाउनु जनताले चितायको ब्यक्तिलाई बन्चित गरि जनबिरोधी ब्यक्ती छान्नु हो ।
पाचौमा – निर्वाचन आयोगले समयमा निर्वाचन गर्ने क्षेत्र तथा ठाउको वास्तविक मतदाता पहिचान गरि मताधिकारको प्रयोग गर्न नसकेकाले केही पाल्तु कार्यकर्ता प्रयोग गरि मिर्त्यु भइसकेका, मतदान स्थलमा उपस्थित नभएका मतदाताहरुको परिचयपत्र आफ्नो नियन्त्रणमा लिइ आफ्नो पार्टीको चुनाव चिन्नमा मत हाल्ने परिपाटीले झन गलत नेतृत्वको चयन र धाधली एवं मुडभेटको परिस्थिति निम्त्याउदछ । केही ठाउँमा पैसा र पावरको चलखेलमा मतपेटिका नै अदलबदल हुने र आफुले चायको ब्यक्ति जितायको पनि समाचारमा सुन्न पाइन्छ । निर्वाचनको बेला हुने गलत कार्यको अनुगमन र नियन्त्रणमा निर्वाचन आयोगको खासै चासो दियको पनि पाइदैन ।

राजनीति इमान्दारीता, निष्ठा, त्यागी, सृजनसिलता, सामाजिक उत्कृष्टता, बिवेकशिल मस्तिष्क, समाज सुधारको भाव, सर्वहारावर्गीय सोच, आर्थिक समृद्धि र नवीनताको बिकसित प्रविधि चाहाने आलोकित ब्यक्तिका लागि समाजको सेवा र परिवर्तनको बाहक हो । राजनीति राष्ट्र र जनताको बिशुद्द सेवा हो । राजनितीज्ञका लागि राजनीति कमाउने र कमाइखाने दुहुनु भैंसी होइन । नत आफ्ना आसेपासे र नेताकार्यकर्तालाई मात्र राज्यसम्पतिको भोग गर्ने माध्यम हो । बिगतको भन्दा अहिलेको पुस्ता चुनावमा प्रतिनिधि छनोट गर्ने सवालमा केही सजक र ससेत भएको पक्कैछ । तर जुन ढंगले जनस्तरमा नागरिक चेतनाको बिकास हुनुपर्ने थियो त्यो भएको देखिदैन । आम नागरिकले अहिले सम्म जति नेताहरु निर्वाचित गरि पठाए ती मध्य केहिले मात्रै राम्रो काम गरेको देखिन्छ । उनिहरुले चाहे जति काम गर्न यो दलाल पुजीवादी व्यवस्था भित्रका केही नितिगत , प्रशासनिक र व्यवहारिक जटिलताहरुले पनि बाधेकोछ । तर अधिकाङ्श निर्वाचित प्रतिनिधिहरुले जनता र राष्ट्रलाई व्यापक लुटेकाछन, धोका दिएका छन र ठगेका छन । त्यस्ता भ्रष्ट र दलाल नेताहरुलाई जनताले राम्ररी चिनेकाछन तर पनि निर्वाचनको बेला त्यस्तै भ्रष्ट नेताहरुलाई संसदवादी राजनीतिक दलहरूले जनसेवकको लेपन लगाइ भोट माग्न जनतामाझ पठाउछन । निर्वाचनको बेला केहि बौद्धिक, प्रगतिशील र देशभक्त ब्यक्तिहरुले आफ्नो विवेकको प्रयोग गरि इमानदार, त्यागी र देशभक्त उम्मेदवारलाई चुनावमा भोट हाले पनि अधिकाङस जनता कुनैन कुनै प्रलोभन, आश्वासन, डर, धम्की मै परि गलत नेतालाई भोट हालेको देखिन्छ । यसले गर्दा पहिला त राष्ट्रले ठूलो क्षेती बेहोर्नुपर्छ । भ्रस्टाचार बढेर आर्थिक संकट निम्तिन्छ । सामाजिक अपराध तथा उत्पीडनका घटना बढ्छन । शिक्षा, स्वास्थ, गास, बास, कपास जस्ता आधारभुत आवस्यकता दलाल तथा माफियाहरुको नियन्त्रणमा पुग्छ । नयाँ उत्पादनका श्रोतहरु पहिचान गरि उत्पादनमुखी अर्थतन्त्रको निर्माण गरि रोजगारी सृजना गर्नुको सट्टा बेरोजगारी बढ्छ । दक्ष तथा योग्य स्वस्थ जनशक्तिलाई सीप र क्षमता अनुसारको स्वदेशमै रोजगारी दिनुको सट्टा मेडिकल परिक्षण गरि सस्तो मूल्य र न्यून ज्यालादारीमा बिदेश पलाएन गरिन्छ । कुसल प्रशासन संचालन र व्यस्थित सैन्य सम्रचना निर्माणमा बाधा पुग्छ । त्यसकारण अवका निर्वाचनमा सम्पुर्ण राजनीतिक दल, बौद्धिक वर्ग र आम जनताले गम्भीर बन्दै निर्वाचनलाई जनमुखी र प्रगतिशील बनाउदै राष्ट्र निर्माणमा समयमै चिन्तित बन्न आवश्यक छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु