उत्तर कोरियामा कोरोना संक्रमण : देशभर लकडाउन

२०७९ बैशाख २९ गते, बिहीबार

काठमाडौं । उत्तर कोरियामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएपछि किम जोङ उनले देशभर लकडाउन घोषणा गरेका छन् । उनले कोरोना रोकथामका उपायहरु बढाउन पनि निर्देशन दिए । यसका साथै निर्देशनलाई कडाइका साथ पालना गर्न पनि भनिएको छ । कोरियन सेन्ट्रल न्यूज एजेन्सीले बिहीबार राजधानी प्योङयाङमा केही व्यक्तिको नमूना परीक्षण गरिएको जनाएको छ, जसमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२० को अन्त्यसम्ममा उत्तर कोरियाले १३,२५९ शङ्कास्पद व्यक्तिको नमूना परीक्षण गरेको थियो, जसको रिपोर्ट नेगेटिभ आएको थियो ।
एजेन्सीले ओमिक्रोन भेरियन्टको पुष्टि भएपछि किम जोङ उनले पार्टीको पोलिटब्यूरो र अन्य अधिकारीहरूको बैठक बोलाएर कोरोनाबाट बच्न सुरक्षा गर्ने नियमहरूलाई कडाइका साथ लागू गर्ने र मानिसहरूलाई पालना गराउने घोषणा गरेको बताएको छ । बैठकको उद्देश्य कोरोनाको सङ्क्रमण रोक्न र यो महामारीलाई छिटोभन्दा छिटो अन्त्य गर्ने उद्देश्य रहेको केसीएनएले जानकारी गरायो । अर्कोतर्फ, विज्ञहरूले उत्तर कोरियाको कमजोर स्वास्थ्य प्रणालीलाई ध्यानमा राख्दै देशले कोरोनाको गम्भीर परिणाम भोग्न सक्ने बताएका छन् ।
सन् २०२० को सुरुमा विश्वभर कोरोना भाइरस फैलनुअघि उत्तर कोरियाले भाइरस रोक्नको लागि गम्भीर र कडा कदम चालेको थियो । सरकारले कोरोनाजस्ता लक्षण देखिएका व्यक्तिलाई क्वारेन्टाइनमा राखेर दुई वर्षसम्म अन्य मुलुकमा आवतजावत र व्यापार बन्द गरेको थियो ।

प्रतिक्रियाहरु