निर्वाचनमा दुई लाख ६५ हजार सुरक्षाकर्मी परिचालन

२०७९ बैशाख २९ गते, बिहीबार

काठमाडौं । सरकारले शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट साढे दुई लाख भन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटाइएका छन् । गृह मन्त्रालयका अनुसार नेपाली सेनाबाट ७१ हजार ५ सय, नेपाल प्रहरीबाट ६२ हजार, सशस्त्र प्रहरी बलबाट ३२ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट दुई हजार कर्मचारी निर्वाचन सुरक्षाका लागि कार्यक्षेत्रमा पठाइएका छन् । यस्तै, निर्वाचन सुरक्षाका लागि भनेर भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि निर्वाचन सुरक्षार्थ खटिएका छन् । स्थानीय तह एकीकृत सुरक्षा योजना–२०७८ अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले देशभरका १० हजार ७५६ मतदान केन्द्रमध्ये २ हजार ९४६ वटालाई अति संवेदनशील मानेको छ भने ४ हजार ४२३ वटा संवेदनशील र ३ हजार ३७८ वटा सामान्य छन् । सबैभन्दा बढी अति संवेदनशील मतदान केन्द्र मधेश प्रदेशमा छन् । मधेशपछि लुम्बिनी, सुदूरपश्चिम र प्रदेश–१ लाई चुनौतिपूर्ण मानिएको मन्त्रालयको रिपोर्टमा उल्लेख छ । मतदान केन्द्रको सुरक्षाका संवेदनशीलताका आधारमा पहिलो घेरामा ८ देखि ११ जना सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।
मतपेटिकाको सुरक्षासँगै प्रहरीले आफ्नो नेतृत्वमा म्यादी प्रहरीलाई पनि खटाउने छ । मतदानपश्चात् मत पेटिकाको ढुवानी र सुरक्षा, जित्ने र हार्ने पक्ष दुवै पक्षका उम्मेदवारको सुरक्षाका लागि पनि प्रहरीले आन्तरिक तयारी पूरा गरेको छ ।
एकीकृत सुरक्षा योजनाले निर्वाचनको समयमा ड्रोन प्रयोग गरेर खबर संकलन तथा निगरानी गर्ने जिम्मेवारी पनि नेपाल प्रहरीलाई दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु