ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनौटको खेल पुनः खेलाउन निर्देशन

२०७९ बैशाख २७ गते, मंगलवार


काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत गत सेप्टेम्बरमा रद्द भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः खेलाउन फिफाले निर्देशन दिएको छ । फिफाले छानबिनपछि गत फेब्रुअरीमै यी दुई टोलीबीचको खेल पुनः खेलाउन निर्देशन दिएको थियो । तर, ब्राजिल र अर्जेन्टिनाका फुटबल संघले भने यो खेलको नतिजाले दक्षिण अमेरिकी समुहको छनौटमा कुनै असर नगर्ने भन्दै पुनः खेल खेलाउने फिफाको निर्णय खारेज गर्दै दुवै टोली अंक बाँड्न सहमत रहेको जनाएका थिए । फिफाले सो अपिल खारेज गरेसँगै खेल पुन खेलाउनुपर्ने भएको हो । साथै फिफाले अर्जेन्टिनाका खेलाडीहरु मार्टिनेज, ब्युन्डाइ, रोमेरो र लो सेल्सोमाथिको निलम्बन यथावत राख्दै दुवै देशका फुटबल संघमाथि जरिवानाको निर्णय पनि गरेको थियो ।
ब्राजिलको साओ पाउलोमा खेल सुरु भएको पाँच मिनेटमै ब्राजिलका स्वास्थ्य अधिकारीहरु मैदान प्रवेश गरेपछि सो खेल रद्द भएको थियो ।
अर्जेन्टिनाका खेलाडीहरुले कोभिड विरुद्धको स्वास्थ्य मापदण्ड मिचेको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरु मैदान प्रवेश गरेका थिए । ब्राजिल र अर्जेन्टिनाले यसअघि नै कतार विश्वकपको टिकट पक्का गरिसकेका छन् । ब्राजिल ४५ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिनाको ३९ अंक रहेको छ । यी दुई टोलीबीचको नतिजाले अंक तालिकामा भने कुनै परिवर्तन हुने छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु