‘ पार्टीलाई जनतासँग जोड्न चुनाव प्रयोग’

२०७९ बैशाख २७ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको सेवा गर्ने हिसाबले स्थानीय चुनाव प्रयोगको नीति लिएको ठोकुवा गरेका छन । नेकपा रास्कोट नगर कमिटी, कालिकोटले आयोजना गरेको चुनावी जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन्।
चुनावी जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भने – ‘अहिलेको परिस्थिति एकीकृत जनक्रान्तिको रक्षाका लागि हाम्रो बीचमा दुई वटा विकल्प खडा भए । दुई वटा विकल्पमा एकीकृत जनक्रान्तिको रक्षा कुन विकल्पले गर्न सक्छ भन्ने छलफल गर्दै गर्दा चुनावी रणनीति अगाडि आएको हो । कार्यदिशा अनुसार पार्टीलाई जनतासँग जोड्नका लागि चुनावी प्रयोग गर्ने नीति आएको हो । यसले जनतालाई सेवा गर्न ठूलो मद्दत गर्छ ।
प्रवक्ता प्रकाण्डले देश प्रतिगमनको भन्दा दलाल पुँजीवादको कब्जामा गएकाले संकटको भुमरीमा रहेको बताउदै भने,‘देश प्रतिगमनको खतरा रहेको भनेको नेपालमा फेरी राजा फर्किन्छ भनेको हो ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भनाईलाई लक्षित गर्दै उनले भने, ‘देशमा नागार्जुन दरबारमा थन्किएको राजाबाट कुनै प्रतिगमन हुँदैन । देशमा प्रतिगमनको खतरा भन्दा दलाल पुँजीवादबाट खतरा छ । त्यसका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिमार्फत संघर्ष गरिरहेको छ ।’
पार्टी फुटको विषयमा कुरा गर्दै उनले पार्टी भित्रको फोहोर सफा भएको बताए । उनलेे भने, ‘कन्चनजी, सुदर्शनजीले विष बमन गरिरहनु भएको छ । उहाँहरुले राष्ट्रिय परिस्थिति, अन्तिराष्ट्रिय परिस्थिति र पार्टी एकीकृत जनक्रान्तिको रक्षा गर्नका लागि लिएको नीतिबारे गलत बुझ्नु भयो ।’ उनले अगाडि थप्दै भने, ‘उहाँ जस्तो पार्टीभित्रको फोहोर पखालिएको महशुस भएको छ । पार्टीले क्रान्ति छोडेको छैन । एकीकृत जनक्रान्तिको परिकल्पनाकार महासचिव हामीसँगै हुनुहुन्छ । म सहित सिंगो पार्टी हामीसँग छ । त्यसैले यस्ता फोहोरहरु बाहिर जाँदा हामीलाई राम्रै हुन्छ ।’
पार्टीको कार्यनीति अनुसार चुनावमा पार्टीले जिताएका उम्मेदवारलाई जिताउनु रास्कोटी जनताको कर्तव्य भएको उनको भनाई थियो । ‘ह्यवी वीटहरुलाई हामीले निर्वाचनको मोर्चामा खटाएका छौँ । उहाँलाई जिताएर नमुना नगरपालिका बनाउने अवसर आएको छ ।’ उनले भने, ‘यो अवसरलाई सदुपयोग गर्नु रास्कोटी जनताको कर्तव्य हो ।’


अहिले एमसीसीका पक्षधर र विरोधीहरुबीच ठूला संघर्ष चलिरहेको भन्दै यसलाई फिल्डमा लागु गर्न नदिने बताए । उनलेे भने,‘एमसीसीको पक्षमा को को थिए । हामी सबैलाई थाहा छ । अहिले उनीहरुलाई चिन्ने अवसर आएको छ । उनैले हिजो महाकाली बेचे, टनकपुर बेचे, अरुण थर्ड बेचे, अपर कर्णाली बेचे, अहिले एमसीसी आएको छ । यिनीहरु सबै राष्ट्रघाती हुन् ।’
नेकपाका केन्द्रीय सदस्य भरत बम (रणबीर)ले भ्रष्टाचार मुक्त नगर बनाउन, सामाजिक, सांस्कृतिक नगर बनाउन पार्टीले पठाएका स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन पर्ने बताए । ‘विभिन्न कुराहरुले बदनाम उम्मेदवारहरु हामीसँगको प्रतिस्पर्धामा छन् । उनीहरुलाई जिताएर रास्कोटलाई बदनाम बनाउन आफ्नो मतको दुरुपयोग नगर्नुहोस् ।’ उनले भने, ‘इमान्दार उम्मेदवारहरुलाई आफ्नो मत दिएर आफ्नो मदाधिकारको सदुपयोग गर्नुहोस् ।’
रास्कोट नगरपालिकाको नगर प्रमुखकी उम्मेदवार धिरेन्द्रा उपाध्याय (भृकुटी)ले आफूले जनताको पक्षमा राम्रो काम गर्नका लागि आएको बताइन् । ‘म सकेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछु । सकिन भने मेरो पार्टीले मलाई फिर्ता बोलाउने अधिकार राख्छ ।’ उनले भनिन्, ‘यदी पार्टीले पनि फिर्ता नबोलाए तपाईँहरु हस्ताक्षसहित आउनु होला । म मेरो पद छोडिदिन्छु । त्यसमै टालिएर बस्ने छैन ।’
कार्यक्रम नेकपा कालिकोटका इन्चार्ज तथा केन्द्रीय सदस्य कर्णबहादुर भण्डारी (विराट) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु