नेकपा विभाजनको षड्यन्त्र असफल

२०७९ बैशाख २६ गते, सोमबार
विष्णु पन्त

१. पार्टी र मुख्य नेतृत्वलाई ध्वस्त बनाउने षड्यन्त्र असफल – वैकल्पिक राजनीतिको नयाँ सम्भावनाको विकास भएपछि अनि एमसीसीविरुद्धको संघर्ष पेचिलो बन्ने देखेपछि साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिहरु जसरी पनि नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्न चाहन्थे । हिजो प्रतिबन्ध लगाएर सिद्धाउने षड्यन्त्र थियो भने आज विभाजित गरेर सिध्याउने षड्यन्त्र गरियो । प्रतिबन्ध र विभाजन दुवै घटनामा पर्दा पछाडिका खलनायकहरु उही व्यक्ति छन् । विभाजनको योजना स्वभाविक थिएन किनकि प्रहारको निशाना नेतृत्वप्रति थियो र पार्टीप्रति थियो । विभाजनका लागि उक्साहट, उत्तेजना र भड्कावको प्रयोग गरिएको थियो । एकता, संघर्ष र रुपान्तरणका लागि हुने बहसहरु शिष्ट, मर्यादित र राजनीतिक हुन्छन् । इतिहासमा धेरै बहस, छलफल र विवादहरु भए तर यति तुच्छ प्रकारका आरोप र हमला कहिल्यै सुनिएका थिएनन् । हमला मुख्य गरी महासचिव र प्रवक्तामाथि लक्षित गरिए । शुरुदेखि नै महासचिव अल्पमतमा परेका प्रचारहरु गरिए । यहाँसम्म कि पार्टी विभाजनका लागि चितवनमा भएको भेलामा ३८ जना केन्द्रीय सदस्य उपस्थित भएको र महासचिव र प्रवक्तालाई पार्टी अपदस्त गरिएको झुटा समाचार गोयबल्श शैलीमा प्रचार गरियो । आफैँले प्रचारमा ल्याएका फोटा र भिडियोमा सल्लाहकारसहित जम्मा ११ जनाको उपस्थिति स्पष्टै देखिन्छ । राजनीतिमा इमानदारिता र विश्वसनीयता हुनुपर्छ । ८÷९ जनालाई ३८ जना भनी प्रचार गर्नुको मुख्य कारण के हो त ? राजनीतिमा मतभेद, विवाद र विभाजनहरु हुन्छन् तर यति विघ्न हावादारी र कपोतकल्पित र भ्रमपूर्ण समाचारहरु कहिल्यै सुनिएको थिएन । हो विभाजनको पक्षमा ३८ जना पु¥याउने षड्यन्त्र रहेछ भन्ने अनुमान गर्न सकिन्छ । तर, नौजनाको मात्र उपस्थितिका बीच विभाजनको ठूलो दुष्प्रचार गरियो । सबै सञ्चार माध्यमहरु एक साथ सूचनाको विश्वसनीयता परीक्षण नगरी प्रसार गरियो । यसबाट पार्टी विभाजनका लागि बाहिर र भित्रको संयोजन भएको थियो भन्ने स्पष्ट हुन्छ । त्यसकारण विभाजनको षड्यन्त्र अलि भयानक थियो । महाधिवेशनसम्मै पार्टीलाई रणभूमि बनाउने षड्यन्त्रहरु थिए, ती असफल भए । भ्रम र षड्यन्त्र संयोगबाट पार्टीलाई ध्वस्त बनाउने रणनीतिको प्रयोग गरियो । जब अनाधिकृत वक्तव्य जारी भयो तब कारबाहीको निर्णय नभएको भए आगामी महाधिवेशनसम्म पार्टीभित्र आन्तरिक लडाईँ, कलह र कुटाकुट गराई तहसनहस बनाउने योजना थियो । यो कुनै राजनीतिक वा कार्यनीतिक विवाद थिएन बरु त्यसलाई तहसनहस बनाउने योजना बनाइएको थियो । त्यसकारण प्रतिबन्ध र विभाजनको योजना बनाउने पर्दा पछाडिका पात्रहरु एउटै हुन् । कति मान्छेहरु भ्रमबश र कति षड्यन्त्रबश त्यो योजनामा सामेल भए । वास्तवमा भ्रम र अज्ञानताहरु ठूलो गल्ती वा अपराध मानिँदैन तर षड्यन्त्रलाई अपराध मानिन्छ । यहाँसम्म कि विप्लव र प्रकाण्डलाई भौतिक रुपमै सिध्याउनेसम्मका षड्यन्त्र भएको आँकलन गर्न सकिन्छ । पार्टी र नेतृत्वका विरुद्ध निरन्तर रुपमा प्रयोग भइरहेका पात्रहरुले विजयोत्सवका रुपमा खुसीयाली मनाए । पार्टी, क्रान्ति र मित्र शक्तिको चिन्ता गर्ने हो भने के विभाजनलाई विजयोत्सवका रुपमा मनाउन सकिन्छ त ? पार्टीले एउटा नयाँ धुव्रीकरणको योजना बनाइरहेको बेलामा यो जबर्जस्त विभाजन गराउन खोजिएको छ ।

पार्टीभित्रका बहस र छलफलमा मिलेका कुरा बाहिर जानासाथ बिग्रिए किन ? केन्द्रीय समितिले एकमतले गरेको निर्णय बाहिर जानासाथ तोडमोड किन ? त्यसकारण षड्यन्त्र अलि गम्भीर र भयानक थियो । तर, असफल वा आंशिक मात्र सफल भयो । क्षति, नयाँ अनुभव अनि ज्ञान र शिक्षा मिल्यो । नेताहरुका प्रवृत्ति, चिन्तन, रुचिलाई विशेष अध्ययन नगरी एकता वा विश्वास गर्नुहुँदैन भन्ने निष्कर्ष निस्कयो ।

२. राजनीतिक व्यवहार र संस्कारको विकास गरौं– पृथ्वी गोलो छ र फेरि पनि भेट भइरहन्छ भन्ने तथ्यलाई नभुलौं । हिजो किरणसँग सम्बन्ध विच्छेद भएको भए पनि आज रणनीतिक मोर्चामार्फत् सहकार्य र एकतासम्मका बहसहरु भएका छन् । किरणलाई धेरै तुच्छ गालीगलौज गरिएको थिएन । किरण र विप्लवबीच राजनीतिक सम्बन्ध उच्च प्रकारकै रहेको थियो । तर, आज विप्लव र प्रकाण्डलाई भौतिक रुपमै सिध्याउने अनि अपराधी करार गराउने प्रवृत्तिका षड्यन्त्रहरु भए । राजनीतिक आरोप, प्रत्यारोप स्वभाविक मान्न सकिएला तर वर्ग दुश्मनले पनि लगाउन नसकेका कपोकल्पित आरोप लगाएर चरित्र हत्या गर्ने काम भए । दुश्मनहरुले पनि आफैँले लगाउन नसकेका आरोपहरु पार्टी भित्रैका सहयात्रीमार्फत् लगाइयो । यदि राजनीति गर्ने हो भने भोलि पनि भेट भइरहन्छ नि ! आजै अन्तिम भेट त होइन होला नि ? फेरि यस्तो घिनलाग्दो प्रवृत्ति बोकेर अनि छताछुल्ल पारेर अर्काे पार्टीमा जान पनि गाह्रो पर्ला ! हिजो धाउँदै र जी–हजुर गर्दै विप्लवलाई खोज्दै आउने अब बकवास गर्दै जाने ? राजनीतिको कुनै नैतिकता भएको भए कार्यनीतिक विषय नमिलेकाले छुट्टिने निर्णय ग¥यौँ भनेको भए हुन्थ्यो । बैठकमै अनि सार्वजनिक ढंगले पार्टी र नेतृत्वमाथि प्रहार गर्ने काम भयो ।

आज नेकपाभित्र एमालेमा देखापरेको प्रवृत्ति हुबहु नक्कल गर्ने काम भयो । अझैभन्दा एमालेमा स्वयं प्रचण्ड र माधव नेपालले पनि ओलीलाई यति निम्न स्तरको गाली गरेका थिएनन् न ओलीले प्रचण्ड र माधव नेपाललाई नै । शायद सबैभन्दा तुच्छ बहस त तत्कालीन सरकारी नेकपाको विवाद नै थियो । त्यसलाई पछि रेकर्ड ब्रेक गर्ने काम अहिले निस्किनेहरुबाट भयो । त्यसकारण यतिविघ्न छुद्र आरोपहरु बुर्जुवाहरु पनि लगाउँदैनन् । फेरि पनि मेरो भन्नु छ ः राजनीतिक व्यवहार र संस्कारको विकास गरौं । संघर्ष वा सहकार्य जुन मोर्चामा रहे पनि राजनीति गर्न भूगोल यही हो र भोलि पनि निरन्तर भेट भइरहन्छ । दुश्मन वा मित्र जे भए पनि भेट भइरहन्छ भन्ने तथ्यलाई आत्मसात गरौं । कार्यनीतिक बहसलाई पनि मित्रतापूर्ण प्रतिस्पर्धाबाट अगाडि बढाउन सकिन्छ । अर्कोलाई सिध्याएर मात्र आपूm स्थापित भइन्छ भन्ने मान्यता अब पुरानो भयो । यदि क्रान्तिकारी बनिरहने हो भने विप्लव र किरणजस्ता नेताहरुलाई सत्तोसराप गर्न छाडौं । प्रतिक्रान्तिको मतियार बन्ने हो भने त भन्ने कुरा नै के रहन्छ र ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु