भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गर

२०७९ बैशाख २६ गते, सोमबार

यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै सम्पूर्ण उम्मेदवारले प्रचार–प्रसार कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । सत्ता पक्ष र प्रतिपक्ष राजनीतिक दलले गठबन्धन गरी खडा गरेका उम्मेदवारलगायत अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत अहिले विभिन्न सभा – सम्मेलन र घर दैलो कार्यक्रम गरी चुनावी अभियानमा होमिएका छन् । चुनावमा आफ्नो एजेन्डा जनतासामु प्रस्तुत गरी जनताको सदिक्षा प्राप्त गरी विजयी हुन् खोज्नु हरेको उम्मेदवारको दायित्वभित्र पर्दछ । तर, अहिले त्यस्तो वातावरण देखिन्न किनकि सत्ता र प्रतिपक्षीय गठबन्धनद्वारा आफ्नो उम्मेदवारको पक्षमा खडा हुन जनतालाई डर, धम्की दिइएको छ, जुन ज्यादै घृणित र निन्दनीय कार्य हो । सत्ता र प्रतिपक्षीय गठबन्धनको यो हर्कतप्रति निर्वाचन आयोग सचेत हुनै पर्छ भने मनोवैज्ञानिकरुपमा त्रास दिँदै आफ्नो पक्षका उम्मेदवारलाई मतदान गर्न दिइएको धम्कीको आमजनताले समेत प्रतिकार गर्नुपर्दछ । मतदान अघि नै आफ्नो उम्मेदवारको पक्षमा मतदान गर्न धम्की दिने गठबन्धनले मतदानको दिन मतदातालाई यो या त्यो बहानामा प्रभावित पार्ने भएकाले यस विषयमा निर्वाचन आयोग गम्भीर हुनुपर्दछ । त्यसैले निर्वाचन आयोगले जनतालाई स्वच्छ छवि र इमान्दार नेता छान्ने अवसर प्रदान गर्न कुनै कसर बाँकी राख्नु हुँदैन ।

तसर्थ, यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आमजनताले कसैको दबाब र प्रभावमा नपरेर आफ्नो दलीय र व्यक्तिगत सम्बन्ध र स्वार्थलाई त्यागेर स्वच्छ छवि भएका र इमान्दार नेता छान्नु पर्दछ । अन्यथा, स्थानीय निकाय पुनः बिगतमा जस्तै भ्रष्टाचारको अखडा बन्ने, विकास, निर्माण र जनजीविका चौपट हुने र आगामी दिन घोर अन्धकारमय र कष्टकर हुने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु