‘वैज्ञानिक समाजवाद अपरिहार्य’

२०७९ बैशाख १८ गते, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली श्रमिकवर्ग, जनताको पूर्ण मुक्ति एवं राष्ट्रिय स्वाधीनताका लागि नेपालबाट दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य रहेको बताएका छन । महासचिव विप्लवले
१३३ औं मई दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा भनिएको छ –’ हामीलाई पूर्ण विश्वास छकि आउँदा बर्षहरु क्रान्तिका लागि निकै महत्वपूर्ण हुनेछन् । वर्ग संघर्ष, वैचारिक संघर्ष र राष्ट्रिय स्वाधीनताको संघर्षमा आउने सारा बिचलन, अवरोध र हमलाहरुलाई परास्त गर्दै नेपाली श्रमिक जनताले आफ्नो विजय सुनिश्चित गरिछाड्ने छन् । ‘
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “आज २०२२ मई १ अर्थात १३३औ अन्तराष्ट्रिय श्रमिक दिवस हो । यो दिन विश्वभरका मजदुर वर्गको मुक्ति संघर्ष, वलिदान र अधिकार प्राप्तीसँग जोडिएको गौरवपूर्ण दिन हो । यस अवसरमा हामी संसारभरका श्रमिक वर्ग, नेपाली श्रमिक वर्ग, सारा श्रमिक जनता र मानव मुक्तिका लागि लडिरहेका कम्युनिष्टहरुप्रति शुभकामना व्यक्त गर्न चाहन्छौं । साथै श्रमिक वर्गीय आन्दोलनमा वलिदान गर्ने महान सहिद तथा वेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं ।
यतिवेला विश्व पूँजीवाद साम्राज्यवाद हुँदै भूमण्डलीकृत पूँजीवादमा पुगेको छ । यसले आफ्नो उच्चतम आर्थिक, राजनैतिक, सैनिक, प्राविधिक संजालहरुको प्रयोग गरेर श्रमिकवर्ग एवं आम नागरिकहरुको जीवनलाई चुसिरहेको छ । पूँजीपति वर्गले आफ्नो झोला भर्न केवल श्रमिक वर्गको मात्र होइन सारा नागरिकहरुको सम्पत्ति निचोरीरहेको छ । एकातिर श्रमिक वर्ग र आम उपभोक्ता नागरिकहरु छन् भने अर्कोतिर भूमण्डीकृत पूँजीवाद छ । दुई शिवीरका बीचमा वर्ग संघर्ष चलिरहेको छ । जतिनै षड्यन्त्र गरे पनि धर्तिबाट पूँजीवादले विदा लिनु पर्ने छ ।
नेपालमा दलाल पूँजीवादी सत्ता जबरजस्त लादिएको छ । राजनैतिक, आर्थिक, स्वाधीनता, साँस्कृति दृष्टिले चौतर्फी असफलतामा डुबेको छ । यसले भूमण्डलीकृत पूँजीवादको सहारामा स्वास फेरिरहेको छ । दलाल पूँजीवादी सत्ताले केवल मजदुर वर्गलाई मात्र होइन सारा नेपाली जनतालाई शोषण–दमन गरिरहेको छ । नेपाली श्रमिकवर्ग, जनताको पूर्ण मुक्ति एवं राष्ट्रिय स्वाधीनताका लागि नेपालबाट दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य छ ।
हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी दलाल पूँजीवादी सत्ताको आमूलपरिवर्तन, वैज्ञानिक समाजवादको स्थापना र राष्ट्रिय स्वाधीनताको लागि महान एकीकृत जनक्रान्तिको बाटोमा बढिरहेको छ । क्रान्तिमा हद दर्जाको अराजकता, गूटफूट र घातक अवसरवादी प्रवृत्तिहरु जरुर देखा परेका छन्, घर आगो लगाएर आगो ताप्ने विध्वंसकारी प्रवृत्ति प्रकट भएको छ तर यी सारा घटिया प्रवृत्तिहरु फोहर पानीका फोका हुन् जो क्रान्तिको गड्गडाउँदो प्रवाहमा समाप्त भएर जाने छन् । हामी देशभरी देख्दैछौं प्रतिक्रियावादी सत्ताको उत्पीडनमा परेका सारा नेपाली नागरिक हाम्रो पार्टी र एकीकृत जनक्रान्तिवरिपरी गोलबन्द बन्दै गएका छन् । हामीलाई पूर्ण विश्वास छकि आउँदा बर्षहरु क्रान्तिका लागि निकै महत्वपूर्ण हुनेछन् । वर्ग संघर्ष, वैचारिक संघर्ष र राष्ट्रिय स्वाधीनताको संघर्षमा आउने सारा बिचलन, अवरोध र हमलाहरुलाई परास्त गर्दै नेपाली श्रमिक जनताले आफ्नो विजय सुनिश्चित गरिछाड्ने छन् । आउनुहोस श्रमिकहरु संसारको मुक्तिको सपनाभित्र नेपालमा दलाल पूँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापनाका लागि दृढतापूर्वक एकीकृत जनक्रान्तिको उज्यालो मार्गमा अगाडि बढौं । वैज्ञानिक समाजवाद नै सारा श्रमिक वर्ग र मानव मुक्तिको भविष्य हो । “

        

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु