नेपाली चलचित्रको संरक्षण गर्न माग

२०७९ बैशाख ८ गते, बिहीबार

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी सङ्घले नेपाली चलचित्रको संरक्षण गर्न माग गरेको छ । संघका अध्यक्ष विवेक सापकोटा र महासचिव कार्तिक राणाले एक बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्।
यस बिषयमा अध्यक्ष विवेक सापकोटा र महासचिव कार्तिक राणाले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – “इतिहासको लामो कालखण्डदेखि नै राज्य दलालहरूको चङ्गुलमा फस्दै आएको छ । यहाँका शासकहरू व्यक्तिवादी चिन्तनद्वारा ग्रस्त छन्, जसले जनतामाथि निरङ्कुशता लादिरहेका छन् । यिनीहरू निजी स्वार्थमा विदेशी दलालहरूको कठपुतली बन्न पुगेका छन् । मुलुक आज प्रतिक्रियावादी दलदलमा फसिरहेको छ । राज्यका प्रत्येक अङ्गमा सामन्ती, दलाल र नोकरशाही नै छन् । सामन्तवादको नाइके ढले पनि त्यसको वर्गचरित्र जस्ताको तस्तै छ । राज्यको अर्थतन्त्र, सुरक्षासंयन्त्र, नियम कानुन, राज्यसंरचना आज पनि सामन्ती प्रतिक्रियावादी–प्रतिक्रान्तिकारी नै छ । आज पनि आर्थिक, सामाजिक, सांस्कृतिक संरचनामा पुरातन विचारधाराको हालीमुहाली छ । सामन्तवादी–प्रतिक्रियावादी संस्कृतिको अन्त्य गर्न पुरानो सत्तालाई जगैदेखि हटाउनु जरुरी छ । यतिबेला नेपाली कलासाहित्य, गीतसङ्गीत र चलचित्र क्षेत्रमा पनि विदेशी कलासाहित्य, गीतसङ्गीत र विदेशी चलचित्रको हस्तक्षेप तीब्र बनेको छ; जसको कारण नेपालको मौलिक कलासाहित्य, गीतसङ्गीत र चलचित्रको अस्तित्व समाप्त हुने खतरा बढेको छ । यतिबेला स्वाभिमानी र देशभक्त चलचित्रकर्मीहरू सजग र सतर्क नहुने हो भने नेपाली चलचित्र सङ्ग्रहालयमा खोज्नुपर्ने स्थिति नआउला भन्न सकिन्न । नेपाली राष्ट्रियता, राष्ट्रिय स्वाधीनतामाथि नै भैरहेको वैदेशिक नाङ्गो हस्तक्षेपको विरोध गर्नु आजको आवश्यकता हो । हामी नेपाली राष्ट्रियताप्रति अत्यन्त प्रतिबद्ध छौँ । तसर्थ, नेपाली राष्ट्रियताको संरक्षण एवम् नेपाली संस्कृतिको जगेर्ना गर्दै राष्ट्रियता, मौलिक, स्वाभिमानी संस्कृति तथा सम्बद्ध नेपाली चलचित्र उद्योगको विकास गर्ने उद्देश्यले हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी सङ्घ समग्र नेपाली चलचित्र जगत्लाई वैज्ञानिक समाजवादी दिशा दिन प्रयत्नशील छ । हाम्रो सङ्गठन सबै जातिजातिका भाषा, हिमाल, पहाड, तराईका कलासंस्कृतिको संरक्षण, विकास गर्न, तिनीहरूमाथि हुने सबैखाले विभेदपूर्ण हस्तक्षेप र उत्पीडिनविरुद्ध, नेपाली चलचित्र जगत्को संरक्षण र संवद्र्धन गर्न निरन्तर सङ्घर्षरत छ ।
अहिले चलचित्रको आन्तरिक तथा बाह्य जीवन अत्यन्त सङ्कटपूर्ण बनिरहेको छ । चलचित्र क्षेत्रका प्रत्येक अङ्ग अस्थिर र सङ्कटपूर्ण बनिरहेका छन् । लगानीकर्ताको लगानी असुरक्षित छ । कर्मशील श्रमिकहरूको भविष्य अन्धकार छ । कलाकारिता न त जीवनयापनको गतिलो आधार बनेको छ, न त सुरक्षित र सम्मानजनक नै हुन सकेको छ । चलचित्र क्षेत्रलाई आधार बनाई भ्रष्टाचार, घोटला, अपचलन, विचलन, गद्दारीजस्ता कार्यहरू झाँगिदो छ । अनैतिक, अपारदर्शी, अवैधानिक व्यावसायिक गतिविधि बढ्दो छ । अशिष्ट, असामाजिक, विकृतिपूर्ण तथा यौनको अपरिष्कृत र अमर्यादित प्रस्तुतिसहितका चलचित्रको बाढी लागेको छ । चलचित्रले आर्थिक, भाषिक, सांस्कृतिक तथा राष्ट्रिय महत्त्वलाई उजागर गर्ने वास्तविकतालाई हृदयङ्गम गरी यथार्थपरक, सामाजिक, व्यावासायिक, देशभक्तिपूर्ण चलचित्र निर्माण हुनुपर्दछ । चलचित्र निर्माण निकै महँगो र खर्चिलो छ । लगानी सुरक्षित भए मात्र चलचित्रद्वारा निदृष्ट उद्देश्य हासिल गर्न सकिन्छ । श्रम र श्रमिकको उचित मूल्य, मान्यता र सम्मान भए मात्र दिगो चलचित्र उद्योग निर्माण हुने हो । पेसागत संस्थाहरूले नैतिकता र इमानदारिताका साथ आफ्नो अग्रणी भूमिकालाई निर्वाह गरेर चलचित्र उद्योग गतिशील बनाउनुपर्दछ । असल चलचित्रले मात्र सम्मान र सफलता प्राप्त गर्न सक्तछ । नियमन, नियन्त्रण र विकसित गर्ने जिम्मेवारीप्राप्त सरकारी निकाय उत्तरदायी हुन सके नेपाली चलचित्रले विश्वव्यापी पहिचान स्थापित हुने अवसर प्राप्त गर्दछ । कलाकार, प्राविधिक, लेखक, कामदार, गीतसङ्गीतका सिर्जनशील समदाय हाम्रै समाजका प्रतिनिधि हुन् । सामाजिक उत्तरदायित्वलाई जिम्मेवारपूर्ण ढङ्गले निर्वाह गरे दर्शक तथा जनताको माया र सद्भाव पाइन्छ, जसले नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पु¥याउँछ ।
नियोजित ढङ्गले चलचित्र घरहरूमा रातारात सो सञ्चालन गरेर कानुनलाई नै धज्जी उडाउने काम भएको छ । यो सरसार स्वदेशी चलचित्रलाई विस्थापित गर्ने र विदेशी चलचित्रलाई स्थापित गर्ने कार्य हो । राष्ट्रिय स्वाधीनतामाथि ठाडो हस्तक्षेपले सिधै विदेशी चलचित्रमाथि जबरजस्त निर्भर पार्ने उद्देश्यले चालिएको चलखेल हो, जसले कालान्तरमा यो राष्ट्रलाई विदेशी भूमिमा सुम्पिने उद्देश्यका साथ लागेका दलालहरूको चलखेल सावित भएको छ । नेपाली जनताले यस्ता दलालहरूलाई पहिचान गरी विस्थापित गर्न आवश्यक छ । किनकि नेपाल आमाका सपूत हामी वीर नेपालीले झुक्न होइन झुकाउन जानेका छौं । विदेशीको बुई चढेर स्वदेश तिर तीरहान्ने दुश्प्रयास नगरियोस । यदी राष्ट्र र राष्ट्रियतालाई खल्बल्याउन कसैले पनि दुश्प्रयास गर्छ भने हामी गम्भीर पाइला चाल्न पछि पर्नेछैनौं । यस्तो परिस्थिति सृजना नगरिदिनुहुन अनुरोध गर्दछौं ।
यसर्थ, नेपाली चलचित्रको संरक्षण गर्न हाम्रो सङ्गठन अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी सङ्घ सरोकार निकायलगायत सबैसँग हार्दिक आह्वान गर्दछौँ ।”

प्रतिक्रियाहरु