नेकपासँग जनअपेक्षा

२०७८ चैत्र १३ गते, आईतवार

यतिबेला नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समितिको बैठक कपिलवस्तुको शिवगढीमा जारी छ । सरकारले स्थानीय निर्वाचनको तालिका सार्वजनिक गरेपछि बसेको नेकपाको उक्त बैठक यतिबेला राजनीतिक वृत्तमा चर्चाको केन्द्रमा रहेको छ । नेकपाको उक्त बैठकमा सरकारले हालै घोषणा गरेको स्थानीय निर्वाचन प्रयोग गर्ने बिषयले प्रवेश पाएपछि देशी विदेशी दलालहरुको निदहराम भएको छ । विगतमा नेकपाप्रति जनताको आशा र भरोशा बढ्दै गएपछि नेकपामाथि प्रतिबन्ध लगाएर सिध्याउन खोज्ने राष्ट्र र जनघाती राजनीतिक दल, नेता र शक्ति नै अहिले नेकपाले स्थानीय निर्वाचन प्रयोग गर्ने चर्चाले अत्तालिएका छन् । किनकि प्रतिबन्ध हटेपछि एमसीसीलगायत देश र जनताप्रति नेकपाले उठाएको एजेन्डा र संघर्षले आमजनताको साथै र सहयोग उक्त पार्टीप्रति ह्वातै बढेको छ । नेकपाप्रतिको यो जनलहर देखेर संसद्वादी दल, नेता र देशी–विदेशी दलालहरुलाई खपी नसक्नु भएको छ । किनकि उनीहरु नेकपालाई राजनीतिको मूलधारवाट अलग राखेर सधैँ राष्ट्र जनघात गर्दै आफ्नो लुटको स्वर्ग कायम राख्न चाहन्छन् । यदि नेकपाले स्थानीय निर्वाचनलाई प्रयोग गरेर देश र जनचाहनाबमोजिम कार्य ग¥यो भने उनीहरुको लुटको स्वर्ग धराशयी हुने निश्चित छ । त्यही कारण उनीहरु नेकपालाई जसरी हुन्छ, सिध्याउनु पर्छ भन्दै कम्मर कसेर लागेका छन् । यो कुरा नेकपाका तमाम नेता र कार्यकर्ताले बुझ्नु जरुरी छ । किनकि यतिबेला आमस्वाभिमानी नेपाली जनता नेकपा स्थानीय निर्वाचनमा सहभागी भएर देश र जनताको पक्षमा उदारणीय कार्य गरोस् भन्ने चाहन्छन् । जनताको यो चाहनालाई नेकपाले सम्मान गर्दै अगाडि बढ्नु नै पार्टी, नेता, कार्यकर्ता, देश र जनाताको लागिसमेत हितकर हुन्छ । नेकपा र त्यस पार्टीका नेता कार्यकर्ताले यस कुराको हेक्का राख्नै पर्छ, अन्यथा पार्टीमाथिको जनभरोशा गुम्न सक्छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु