एमसीसी द्वन्द्वको कारक नबनोस्

२०७८ फाल्गुन १५ गते, आईतवार

यतिबेला एमसीसी सम्झौतालाई लिएर देशव्यापीरुपमा आन्दोलन चर्किरहेको छ । आमक्रान्तिकारी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी र राष्ट्रवादी राजनीतिक दल, नेतालगायत आमस्वाभिमानी नेपाली जनता एमसीसीको विरुद्धमा सडकमा उत्रिएका छन् भने सरकार कुनै पनि हालतमा एमसीसी संसद्बाट पारत गराउने प्रपञ्चमा लागिरहेको छ । अमेरिका पनि जुनसुकै मूल्यमा नेपालमा एमसीसी लागू गराउन कम्मर कसेर लागेको छ । एमसीसी सम्झौता कति राष्ट्रघाती छ भन्ने कुरा ‘एमसीसी सम्झौता र नेपालको कानुन बाझिएमा एमसीसी सम्झौताको प्राबधान लागू हुने, अमेरिकाको विद्यमान र पछि बन्ने कानुनहरू एमसीसी परियोजनामा लागू हुने, एमसीसीसँग सम्बन्धित अधिकारीहरूका गतिविधिहरू र त्यसबाट उत्पन्न हुने विवादहरू अमेरिकामा मात्र कानुनी पुर्पक्षमा जाने, नेपाल सरकारले एमसीसी परियोजना सञ्चालन गर्न एमसीए – नेपाल गठन गर्ने जुन आफैँ निर्णय गर्न स्वतन्त्र हुने, एमसीसीमा हुने रोजगारहरूबारे नेपालको कानुन नलाग्ने, एमसीसी परियोजनाको लेखापरीक्षण नेपालले गर्न नपाउने र एमसीसी परियोजनाअन्तर्गत निर्माण र प्राप्त हुने बौद्धिक सम्पत्तिमा सम्पूर्ण रुपमा अमेरिकाको हक कायम हुने’ जस्ता प्रावधानले पुष्टि गर्दछ ।

एमसीसी सम्झौतामा यही राष्ट्रघाती प्राबधान भएकोले नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेजीको माग गर्दै बिगतदेखि नै आन्दोलन गर्दै आएको छ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीमार्फत् नेपालमा अमेरिकाको सैन्य गतिविधि सञ्चालन गर्ने कर्तुत आमजनता सामु छर्लङ्ग पारिदिएपछि अहिले आम क्रान्तिकारी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी र राष्ट्रवादी राजनीतिक दल, नेतालगायत आमस्वाभिमानी जनता सडक संघर्षमा उत्रिएका छन् । तर, पनि सत्तासीन र संसद्वादी दल र नेताहरु एमसीसी संसद्बाट पास गर्न अनेक प्रपन्च गर्दैछन । खबरदार, राष्ट्र, राष्ट्रियता र नेपाली जनताको भावनामाथि खेलबाड गर्दै एमसीसी संसदबाट पास नगरियोस् । राष्ट्र, राष्ट्रियता र नेपाली जनताको भावनाको कदर गर्दै एमसीसी सम्झौता खारेज गरियोस् । अन्यथा, यही एमसीसीका कारण देश पुनः द्वन्द्वमा फस्ने निश्चित छ । राष्ट्र, राष्ट्रियता र नेपाली जनताको भावनामाथि कुठाराघात गर्दै एमसीसी संसदबाट पास गरेर देश र जनतालाई पुनः द्वन्द्वमा फसाउने कार्य गरे आम स्वाभिमानी जनतालाई त्यो मान्य हुने छैन । त्यस्तो राष्ट्रघाती र जनघाती कार्यको नेपाले जनताले सडकवाट प्रतिवाद गर्ने छन् । जनता प्रतिवादमा उत्रे के हुन्छ आपूmलाई लोकतन्त्रको ठेकेदार ठान्ने र मान्ने राजनीतिक दल र नेताहरुलाई सम्झाई रहनु नपर्ला, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु