‘ओमिक्रोन भेरियन्टलाई सामान्य नठानौ ‘

२०७८ माघ ५ गते, बुधबार


काठमाडौ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको दोहोर्‍याएका छन । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेहब्रेयससले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न चेतावनी दिए । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ ।
गेहब्रेयसले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र मत्यु पनि भएकाले स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड बढेको जानकारी दिए । उनले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनी विश्व नेताहरुलाई दिए । यसका लागि निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक रहेको महानिर्देशक गेहब्रेयसको भनाइ छ ।
ओमिक्रोनका कारण गत हप्ताभित्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको भन्दै उहाँले खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको बताए । ओमिक्रोन भेरियन्ट फैलिएयता युरोपमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार फ्रान्समा अहिलेसम्मकै धेरै चार लाख ६४ हजार ७ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् । इटलीमासमेत मंगलबार दुई लाख २८ हजार १ सय ७९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जबकि त्यहाँ अघिल्लो दिन ८३ हजार ४ सय ३ जना नयाँ संक्रमित थपिएका थिए । यता डेनमार्कमा पनि हालसम्मकै धेरै संक्रमित थपिएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु