क्रान्तिकारी नेता–कार्यकर्ता निर्माणमा पार्टी स्कुलिङको महत्व

२०७८ माघ ५ गते, बुधबार


“एक चोटि राजनीतिक दिशा निश्चित भएपछि कार्कर्ताहरु निर्णयात्मक तत्व हुन्छन् । अतः योजनाबध्द तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमय कार्य हो ।”
– माओ त्सेतुङ,राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका (अक्टोबर २९३८)

     यही २०७८ पुस २० गतेदेखि २२ गतेसम्म हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी  माओवादी ) १ नम्बर प्रदेश स्तरीय कार्यकर्ता स्कुलिङ कार्यक्रम उदयपुर जिल्लाको लालपत्तामा  एक अनुकरणीय स्कुलिङका रुपमा सम्पन्न भयो । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) १ नम्बर प्रदेश समितिले सञ्चालन गरेको त्यस ऐतिहासिक स्कुलिङ कार्यक्रममा पार्टीको हेडक्वाटर र केन्द्रीय स्कुल विभागबाट खटाइएका केन्द्रीय स्कुल विभागका प्रमुख कमरेड परि थापा , पिविएम तथा केन्द्रीय पार्टी स्कुल विभागका सदस्य कमरेड सिताराम तामाङ , पार्टी पिविएम कमरेड कमल चौधरी र केन्द्रीय पार्टी स्कुल विभागका सचिव म हस्तबहादुर केसी केन्द्रीय प्रशिक्षका रुपमा उपस्थित भएका थियौं भने १ नम्बर प्रदेशभरका ७० जना प्रशिक्षार्थी कमरेडहरु सहभागी हुनुभएको थियो । हाम्रो केन्द्रीय पार्टी स्कुल विभागले  एउटा कक्षामा अधिक्तम ५० जना र न्युनतम ३० जना प्रशिक्षार्थी सहभागी बनाउने व्यवस्था गरेको छ । तर पार्टी स्कुलिङ भएकोले ७० जना प्रशिक्षार्थी कमरेडहरुको सहभागीता धेरै उपयुुक्त भएको अनुभूति भयो ।
       हामी प्रशिक्षक कमरेडहरुले त्यस स्कुलिङ कार्यक्रममा अत्यन्तै मिहिनेत र व्यवस्थित रुपले सहभागी कमरेडहरुलाई पार्टीले ठोस गरेको निश्चित कोर्ष ( पाठ्यक्रम ) का आधारमा अर्थात् दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयहरुमा व्यवस्थित रुपले र योजनाबध्द ढंगले स्कुलिङ गरेका थियौं । दर्शनको विषय अन्तर्गत दर्शनको विकासको इतिहास , दर्शनको मौलिक प्रश्न , माक्र्सवादी दर्शन अन्तर्गत माक्र्सवादी – लेनिनवाद –  माओवाद भनेकाबारेमा  ,  माक्र्सवादी द्वन्द्ववाद , द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , द्वन्द्ववादका नियमहरु , अन्तर्विरोधका विषयमा र ऐतिहासिक भौतिकवाद , साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शन , उत्तर आधुनिकवाद , उत्तर माक्र्सवाद , नव माक्र्सवाद तथा माक्र्सवादको रक्षा , प्रयोग र विकास एवम् माक्र्सवादको ऐतिहासिक कार्यभारका विषयमा मैले स्कुलिङ गरेको थिएं ।

  त्यस्तै कमरेड परि थापाले माक्र्सवादी दर्शन अन्तर्गत माक्र्सवादी द्वन्द्ववादका प्रवर्गहरु र ऐतिहासिक भौतिकवाद अन्तर्गत सामाजिक चेतनाका रुपहरु , वैज्ञानिक समाजवाद र पार्टी ÷ संगठन ÷ अनुशासन र पध्दतिका विषयमा स्कुलिङ गर्नुभएको थियो ।
  साथै कमरेड सिताराम तामाङले राजनीतिक अर्थशास्त्र ( माक्र्सवादीय अर्थशास्त्र ) का समग्र विषयहरुमा स्कुलिङ गर्नुभएको थियो भने कमरेड कमल चौधरीले ऐतिहासिक भौतिकवादी दर्शन अन्तर्तग मानव समुदायको विकासको प्रक्रिया र जात विकासको ऐतिहासिक प्रक्रिया र जातीय मुक्ति आन्दोलन र क्रान्तिका विषयमा स्कुलिङ गर्नुभएको थियो ।

त्यस स्कुलिङको समाप्ति पछि मलाई विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङले माथि भन्नुभएको “ एक चोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णयात्मक तत्त्व हुन्छन् । अतः योजनाबध्द तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमय कार्य हो ।” भन्ने कोटेशनको महत्वको बारेमा अति ठूलो अनुभूति भयो । किनभने हाम्रो पार्टीले नेपाली क्रान्तिको वर्तमान कार्यनीति “ सशस्त्र जनविद्रोह ” निश्चित गरिसकेकोले पार्टीको राजनीतिक दिशा निश्चित भइसकेको हुनाले हाम्रो पार्टीको काँधमा आइपरेको महान् नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार जुन आएको छ , त्यसलाई पुरा गर्ने साधनका रुपमा असल , इमानदार र क्रान्तिकारी कार्यकर्ताहरुको ठूलो संख्यामा आवश्यकता पर्दछ ।
आज हामीसित ठूलो संख्यामा कार्यकर्ताहरु क्रियाशील छन् । नयाँ नयाँ कार्यकर्ताहरु पार्टी भित्र सामेल हुने क्रम निरन्तर जारी छ । अन्य कम्युनिस्ट पार्टीहरुबाट नयाँ नयाँ कार्यकर्ताहरु ध्रुवीकरण हुने कुरा पनि निरन्तर रहने कुरा पनि स्वाभाविक हो र केही संख्यामा राजनीतिक – वैचारिक रुपमा विचलित भएर पार्टीबाट बाहिरिने प्रक्रिया पनि निरन्तर रुपमा चल्ने गर्दछ भने बाहिरिने भन्दा पनि भित्रीने संख्या नै बढी रहने कुरा पनि निश्चित हुन्छ । अहिले हाम्रो पार्टी भित्र यो प्रक्रिया जारी छ । हामी महान् नेपाली नयाँ जनवादी क्रान्ति पुरा गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने एक ऐतिहासिक मोडमा पुगेका छौ । यस प्रकारको वर्तमान परिस्थितिमा हाम्रो पार्टीका देशभरका हजारौं हजार नयाँ कार्यकर्ताहरुलाई माक्र्सवादका तीन संघटक अंग दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयहरुका बारेमा स्कुलिङ गर्नु र दर्शन , सिध्दान्त , विचार आदि विषयहरुमा अर्थात् मालेमावादका आधारभूत विषयहरुमा योजनाबध्द र वैज्ञानिक ढंगले दक्ष तुलाउनु हाम्रो पार्टीको ज्यादै संघर्षमय कार्य हो । वर्तमान अवस्थामा यो कार्यको थालनी हाम्रो पार्टीको १ नम्बर प्रदेशले गरेको मलाई अनुभूति भइरहेको छ ।
किनभने दुई वर्ष पहिलेदेखि विश्वव्यापी महामारीका रुपमा फैलिएका कारण नेपाली समाज लगायत राजनीतिक क्षेत्रमा पनि ठूलो असर पर्यो । कोभिड १९ द्वारा परेको जोखिमले गर्दा हाम्रो पार्टीले नियमित कार्यक्रमहरु सञ्चालन गर्न ठूलो कठिनाई उत्पन्न भयो , जसका हामीले अन्य गतिविधिका साथै पार्टी स्कुलिङ समेत सञ्चालन गर्न सकिरहेका थिएनौं ।
अहिले फेरि कोरोना भाइरसको तेस्रो लहर अन्तर्गतको “ ओमिक्रोन ” नाम दिइएको खतर्नाक सरुवा भाइरस देशव्यापी फैलिन लागिरहेकै जटिल अवस्थामा हाम्रो पार्टीको १ नम्बर प्रदेशले प्रदेश स्तरीय कार्यकर्ता स्कुलिङ कार्यक्रम अत्यन्तै व्यवस्थित रुपले सञ्चालन गर्नु कष्टसाध्य कार्य थियो । त्यो कार्य अत्यन्तै कुशलतापूर्ण रुपमा सम्पन्न गरेको विषय हाम्रो पार्टी पंक्ति भित्र अत्यन्तै शिक्षाप्रद र प्रेरणादयक बन्न पुगेको भन्ने कुराको ठूलो अनुभूति मलाई भइरहेको छ ।
कोभिड १९ ले उत्पन्न गरेको जटिल परिस्थितिका कारण यस २ वर्षको बीचमा हामीले एउटा पनि स्कुलिङको कार्यक्रम सञ्चालन गर्न सकिरहेका थिएनौं । स्थानको छनौट , कार्यक्रम स्थल र स्कुलिङ हलको समुचित व्यवस्थापन , आवास र खानपानको समुचित व्यवस्थापन , ठूलो संख्यामा सहभागी कमरेडहरुको उपस्थिति र व्यवस्थापन , प्रशिक्षकहरुको व्यवस्थापन ,स्कुलिङको समयको उचित व्यवस्थापन , सहभागी कमरेडहरुले पालना गर्नुभएको अनुशासन र पार्टी पध्दतिको पालना आदि पार्टी स्कुलिङका विषय अप्नाउनु पर्ने पार्टी पध्दति र विधिहरु हाम्रो पार्टी र हामीले पार्टी सकुलिङ विभागको तर्फबाट र पार्टी हेडक्वाटरबाट पुरा गरिएको दायित्वबोध विगत हाम्रो पार्टीले सञ्चालन गर्दै आएका पार्टी स्कुलिङका कार्यक्रमहरु भन्दा भिन्न र सुव्यवस्थित र वैज्ञानिक भएकोले यो १ प्रदेश समितिले सञ्चालन गरेको स्कुलिङ हाम्रो पार्टी जीवनमा सबैका लागि शिक्षाप्रद प्रेरणादायी बन्न पुगेको छ र यस स्कुलिङबाट हाम्रो पार्टी पंक्तिले शिक्षाको रुपमा लिन जरुरी हुनेछ भन्ने मैले विश्वास लिएको छु ।


आजको जटिल परिस्थितिमा हाम्रो पार्टी भित्र पार्टी संगठन ÷ मोर्चा संगठनहरु र अन्य साँगठनिक कामलाई कुशलतापूर्वक अगाडि बढाउन , संघर्षका कार्यक्रमहरुलाई अगाडि बढाउन , आर्थिक स्कटहरुको सामना गरिरनु परेको अवस्थामा र वैचारिक – राजनीतिक कामहरुलाई व्यवस्थित रुपले सञ्चालन गर्न गंभीर प्रकारका कठिनाईहरुको सामना गररिहेको अवस्थामा पनि हाम्रो पार्टीको १ नम्बर प्रदेश समितिले ३ दिने पार्टी स्कुलिङ एउटा आौपचारपकता निर्वाह गर्ने खालको मात्र नभएर साँच्चिकै रुपमा आफ्नो पार्टीका प्रदेश स्तरका खाँटी तथा क्रान्तिकारी कार्यकर्ताहरुमा स्वाभाविक रुपले भुत्ते बन्दै गएको मालेमावादका आधारभूत सिध्दान्त र विचारको धारमा उद्याउने र उनीहरूको माक्र्सवादी ज्ञानको भण्डारलाई समृद्ध तसलाउने उद्श्येले सञ्चालन गरेको उक्त स्कुलिङ सबैको प्रेरणाको श्रोत बन्न सक्ने गरि सफल हुनुमा हाम्रो पार्टीको १ नम्बर प्रदेश समिति , मातहतका समितिहरु , मोर्चा संगठनहरु र सम्पूर्ण पार्टी पंक्ति अनुशासनबध्द छ , हाम्रो पार्टीको रुपमा नेपाली समाजमा स्थापित क्रान्तिकारी तथा लडाकु पार्टी पंक्ति र हाम्रो पार्टीको आम लक्ष्यको रुपमा रहेको महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने वैज्ञानिक योजना र ठोस कार्यदिशालाई सफलतापूर्वक सफल पार्न कठिबध्द छ भन्ने यो एउटा प्रमाण हो भन्ने कुराको राम्रो अनुभूति मलाई भइरहेको छ ।
यस हाम्रो पार्टीको आम पंक्ति र अन्य प्रदेशहरु , जिल्लाहरु , मातहतका समितिहरु , मोर्चा संगठनहरु र आम नेता तथा कार्यकर्ताहरुले अनुशरण गर्न र लागू गर्न लायक छ भन्ने अनुभूति हुनुका साथै विश्वस्त पनि छु।
हाम्रो प्रदेश स्तरीय पार्टी स्कुलिङ कार्यक्रम ५ दिनदेखि ७ दिनसम्म सञ्चालन गर्नुपर्ने कोर्ष ( पाठ्यक्रम बनेकोले यो ३ दिने भएकोले मालेमावादका महत्वपूर्ण शास्त्रीय रचनाको बारेमा र अन्य महत्वपूर्ण विषयहरुलाई स्कुलिङ गर्न सम्भव भएन , समयको ज्यादै महत्वपूर्ण विषयहरुमा हामीले अत्यन्तै मिहिनेतका साथ स्कुलिङ गरिएको थियो भन्ने हामीलाई लागिरहेको थियो । समापन समारोह कार्यक्रममा सहभागी कमरेडहरुबाट पनि अनुभूति दिने व्यवस्था मिलाइएको थियो , अनुभूति दिनुहुने कमरेडहरुले धेरै सकारात्मक अनुभूतिहरु प्रस्तुत गर्नु भएबाट पनि उक्त स्कुलिङ अत्यन्तै लाभदायक भएको पुष्टि भएको छ ।
लालपत्तामा सहभागी कमरेडहरुलाई स्कुलिङ गरिरहेको समयमा र त्यसपछि अहिले काठमाडौंमा फर्कि सकेपछि मलाई पार्टी स्कुलिङका विषयमा कमरेड माओले दिनुभएको अनुभूतिजन्य र शिक्षाप्रदका रुपमा दिनु भएको निर्देशनहरु सम्झना भइरहेको छ । कमरेड माओले अगाडि भन्नु हुन्छ ,
“हाम्रा पार्टी संगठनहरु अवश्य पनि देशभरी फिँजाउनु पर्दछ र हामीले निश्चित उद्श्येका साथ दसौं हजार कार्यकर्ताहरुलाई र पहिलो दर्जाका सबै नेताहरूलाई तालिम दिनु पर्छ । उनीहरूले माक्र्सवाद – लेनिनवादमा निपुण भएका , राजनीतिक रुपले दुर्दशी , काममा खुप सिपालु , त्यागको गहिरो भावनाले भरिएका , आफै अघि सरेर समस्याहरुसंग जुझ्न कुशलता भएका , अति अप्ठ्यारा अवस्थाहरुमा समेत विचलित नहुने , राष्ट्र , सर्वहारावर्ग र पार्टीको सेवा गर्ने बफादार र भक्त कार्यकर्ता र नेता हुनैपर्छ । यस्ता कार्यकर्ता र नेताहरुमा नै पार्टीले आफ्ना सदस्यहरु तथा जनतासितको सम्बन्धका निम्ति भर गर्छ र जनताको दृढ नेतृत्वको लागि उनीहरूमा भर परेर नै पार्टी शत्रुलाई पराजित गर्न सफल हुन्छ । असल कार्यकर्ता बन्ने र बनाउने भनेको असल विचार अर्थात् क्रान्तिकारी विचार हो , मालेमावादी विचार हो । यस्ता कार्यकर्ता , नेताहरु स्वार्थीपनाबाट व्यक्तिवादी शुर्याई र आडम्बरबाट , आलश्य र उदासिनताबाट र आफ्नै कुरा माथि पार्ने गुटवादबाट मुक्त हुनुपर्छ र उनीहरूले अवश्य पनि निस्वार्थ भएर राष्ट्रिय तथा वर्गीय वीर योध्दा हुनुपर्छ , हाम्रो पार्टीका सदस्य , कार्यकर्ता , नेताहरुमा हुनुपर्ने गुणहरु र कार्यशैली यस्तै हुन् ।”
– माओ त्सेतुङ, जापानी आक्रमण विरोधी राष्ट्रिय संयुक्त मोर्चाको निम्ति लाखौं जनसमुदायलाई आफूपट्टि तान ( मे ७, १९३७ ) ।
विश्वदृष्टिकोणविनाका, स्कुलिङ नगारइएको–नगरेका र मालेमावादका आधारभूत सिध्दान्तले लैस नभएका कार्यकर्ताको जतिसुकै ठूलो संख्या भए पनि क्रान्तिका निम्ति केही काम छैन । त्यसैले कमरेड माओले भन्नुभएको जस्ता नेता–कार्यकर्ता थोरै भएर क्रान्तिका लागि उनीहरू नै कामयावी हुन्छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमा धेरै र थोरै कार्यकर्ताहरु हुनुले खासै फरक पर्दै तर क्रान्तिकारी छन् कि छैनन् भन्ने कुरा मुख्य हो ।
विश्वदृष्टिकोणमा रुपान्तरण विनाका र स्कुलिङ विनाका ठुलो संख्याका कार्यकर्ताको संख्याले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमा र क्रान्तिमा खासै अर्थ छैन । त्यसमा क्रान्तिकारी गुण भएका नेता कार्यकर्तालाई पार्टी र क्रान्तिका अब्बल दर्जाका नेता कार्यकर्ता मानिन्छन् । त्यसैमा क्रान्तिकारी नेता–कार्यकर्ता निर्माणमा पार्टी स्कुलिङको महत्व हुन्छ ।

(केसी नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय पार्टी स्कुलका सचिव एवं केन्द्रीय प्रशिक्षक हुन्)

प्रतिक्रियाहरु