टोंगामा ज्वालामुखी बिष्फोट : अमेरिका, जापान, न्यूजील्याण्डसम्म असर

२०७८ माघ ४ गते, मंगलवार

काठमाडौं । टोंगाको राजधानी नजिक भएको शक्तिशाली ज्वालामुखी बिष्फोटपछि त्यस क्षेत्रमा अझैसम्म सञ्चार विच्छेद भएको छ।ज्वालामुखी बिष्फोट भएको ६५ किलोमिटर नजिक रहेको राजधानी क्षेत्रमा सञ्चार सम्बन्ध नजोडिँदा क्षतिबारे जानकारी प्राप्त हुन नसकेको बीबीसीले जनाएको छ। प्रशान्त क्षेत्रका टापुहरुलाई बाँकी विश्वसँग जोड्ने पानीमुनिका महत्वपूर्ण तारहरुमा क्षतिपुगेपछि टोंगा सम्पर्कविहीन भएको हो। त्यहाँ फोन र इन्टरनेट लाइन स्थापित गर्न दुई सातासम्म लाग्न सक्ने अनुमान गरिएको छ।
शक्तिशाली ज्वालामुखीको असर २३ सय किलोमिटर टाढाको न्यूजील्याण्ड तथा हजारौँ किलोमिटर टाढाका जापान र अमेरिकामा समेत परेको थियो। टोंगाको ज्वालामुखी ब्लाष्टपछि यी देशहरुमा समेत सुनामीको लहर पुगेको थियो। आठ मिनेटसम्म भयानक आवाजसहित ज्वालामुखी ब्लाष्ट भएपछि टोंगाको आकाश धुवाँ र लाभाहरुले ढाकिएको अधिकारीहरुले जनाएका छन्। अस्ट्रेलिया र न्युजिल्याण्डले गरेको हवाई अनुगमनमा त्यस क्षेत्रमा ठूलो क्षति भएको देखिए पनि मानवीय क्षतिको यकिन हुन सकेको छैन्। सम्पर्कमा आएका टोंगाका अधिकारीहरुले मानवीय क्षति पुष्टि नगरे पनि त्यहाँ स्वच्छ पानी र अन्य अत्यावश्यकीय सामग्री अभाव रहेको बताएको जनाइएको छ।
अन्तर्राष्ट्रिय रेडक्रसले टोंगामा ८० हजार मानिस प्रभावित भएको हुन सक्ने आशंका गरेको छ।

प्रतिक्रियाहरु