देशैभर वर्षाको सम्भावना !

२०७८ पुष १२ गते, सोमबार

काठमाडौं । मौसम पूर्वानुमान विभागले केहि दिन यता नेपालमा पश्चिमी वायुको न्यून चापीय प्रणाली सक्रिय रहेको भन्दै अबका केही दिन देशैभर मौसम बदली भई वर्षाको सम्भावना रहेको जनाएको छ । गएराती हिउँद यामको विशेष बुलेटिन जारी गर्दै जल तथा मौसम विज्ञान विभागले देशको पश्चिमी क्षेत्रबाट मौसम बदली बनाउने वायु प्रवेश गरेर विस्तारै पूवर्तफर्त अघि बढेको जनाएको हो । न्यून चापीय प्रणालीको प्रभाव सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशसम्म पुगिसकेको र त्यसले सामान्यदेखि पूर्ण बदली गराई यी प्रदेशका पहाडी भू–भागमा वर्षा गराउने बुलेटिनमा उल्लेख छ ।
यस्तै, उच्च पहाडी र हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेको छ । त्यसैगरी तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनसक्ने पनि विभागले जनाएको छ । मंगलबार र बुधबार भने वायुको न्यून चापीय प्रणाली देशैभर फैलिने र देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने जनाइएको छ । आगामी बिहिबारपछि मात्रै मौसममा सुधान आउने पनि विभागले जनाएको छ ।

प्रतिक्रियाहरु