कमरेड दस्ताबेज लेख्न बस्नु भएको छ

बलराम तिमल्सिना २०७८ मंसिर २१ गते, मंगलवार

कैले सूर्योदयको घामतिर पिठ्युँ फर्काएर
कैले सूर्योदयको घामलाई देब्रे पारेर
कहिले अतितमा पुग्दै
कहिले वर्तमानमा डुब्दै
कहिले आफूलाई संझदै
कहिले आफैलाई बिर्सदै
‘भोलि उठी कहाँ जाने केही थाहा छैन…..’
गीतको मनोदशामा
कमरेड दस्तावेज लेख्न बस्नु भएको छ !
‘अन्तराष्ट्रिय परिस्थिति’
दस्तावेजको थालनी यसरी गर्थे कमरेड
र लगत्तै आउँथ्यो अमेरिकी साम्राज्यवाद
त्यसपछि भारतीय विस्तारवाद
त्यसपछि चीनीया संसोधनवाद
राष्ट्रिय प्रतिरोध युध्द
सुरुङ्ग युध्द
संसोधनवादको भण्डाफोर
क्रमश: आउथे दस्ताबेजमा !
त्यपछि आउथ्यो राष्ट्रिय परिस्थिति
निरङ्कुश राजतन्त्र
साम्राज्यवादको दलाल नेपाली काङ्ग्रेस
प्रतिकृयावादमा पतन भएको
संसोधनवादी गद्दार एमाले
आधार इलाका
मोर्चावध्द युध्द
केन्द्रीय सत्तामाथि हमलाको योजना
यसरी सकिन्थ्यो राष्ट्रिय पाटो ।
यस पटक कमरेड अलमलमा हुनुहुन्छ
अमेरिकालाई के भन्ने
मित्र शक्ति भनेर लेखौं सिध्दान्त चिप्लन्छ
साम्राज्यवाद भनेर लेखौं ज्यान चिप्लन्छ
अर्कोतिर
छिमेकी मित्र राष्ट्र लेखौं
थुक्क यस्तो लेखेछ भन्छन्
विस्तारवाद भनेर लेखौं
सरकारमा जाने बाटोमा पैह्रो खस्छ
उत्तरतिर छ अर्को छिमेकी
महान समाजवादी राष्ट्र लेखौं
संसोधनवादको पुच्छर बनेछ भन्छन्
गद्दार संसोधनवादी लेखौं
टेक्ने समाउने सबै खुस्किन्छ
कमरेड तनावै तनावमा छन्
घण्टौ भयो लेख्न बसेको
कमरेडको पटक्कै मेलो सरेको छैन !
आ…पैले राष्ट्रिय परिस्थिति लेख्छु
यस्तो सोचेर कमरेड पाना पल्टाउँछन्
फेरि पुरानै समस्याले कलम कब्जा गर्न थाल्छ
राजतन्त्रलाई गाली गरौं
उहिलै हो ढलेको
फेरि सोच्छन्-
भुत बनेर राजतन्त्र
आफैंमा सल्केको छ
के भनेर गाली गर्ने ?
के लेखेर पाना भर्ने ?
पिरै पिर छ कमरेडलाई ।
काङ्ग्रेसको अगाडि
के विशेषण जोड्ने
सहयात्री ?
गठबन्धनको नायक शक्ति ?
महान लोकतन्त्रवादी ?
यस्तो लेखौं गाली कसलाई गर्ने ?
प्रतिकृयावादी लेखौं सरकार के गर्ने ?
अर्को दु:ख वाँकि नै छ ।
के भनेर पुकार्ने एमालेलाई ?
गाली गरौं आफ्नै अनुहारको देखिन्छ
तारिफ गरौं राजनीति बिग्रन्छ
दु:खै दु:ख
तनावै तनाव
पिरै पिर
कमरेड एक अक्षर पनि नलेखी बसेका छन्।
एता बाहिर
केटाकेटीहरू हल्ला गर्दै छन्-
‘कमरेड दस्तावेज लेख्न बस्नु भएको छ
कमरेड यस पटक
अप्रिल थेसिस बोकेर फर्कनु हुन्छ ।’
यो हल्लै हल्लाको देश हो
हल्ला चलिरहेकै छ
थाहा छैन
कमरेड के लेखेर फर्कने हुन् ?
एउटा भूतपूर्व विद्रोहीको सुसाइड नोट ?
या गद्दारीको साविती बयान ?
चाहे जे लेखुन
या केही नलेखी फर्कियुन
केटाकेटीहरूको जिद्दी छ-
कमरेड दस्तावेज लेख्न बस्नु भएको छ !
२०७८ मंसिर २० माइतीघर

प्रतिक्रियाहरु