नेपालको प्रधान अन्तर्विरोध र नेपाली क्रान्तिको दिशा

२०७८ मंसिर १९ गते, आईतवार

नारायण शर्मा

अहिलेको विश्वमा प्रधान अन्तर्राष्ट्रिय अन्तर्विरोध वैदेशिक प्रतिक्रियावाद अर्थात् साम्राज्यवाद र उत्पीडित राष्ट्र अर्थात् गरीब तथा पिछडिएका राष्ट्रहरुबीचको अन्तर्विरोध हो भन्ने मान्ने नेपाली कम्युनिस्ट क्रान्तिकारीहरुले राष्ट्रिय अन्तरविरोध कुन–कुन शक्तिका बीच छ भन्नु ठिक होला ? अथवा यसो भनौं ः अहिलेको नेपाली क्रान्तिको कार्यदिशा के होला ? आज साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादको एकछत्र जस्तै हुकुम–हैकम र हस्तक्षेप सामान्यतया नेपालजस्ता तेस्रो विश्वका सबैजसो मुलुकहरुमा भैरहेकोले स्वतः स्वाभाविक र अनिवार्य रुपले प्रधान राष्ट्रिय अन्तर्विरोध पनि साम्राज्यवादसँग नै छ वा हुनुपर्छ भन्ने देखिन्छ । विश्वमा साम्राज्यवादका विविध स्वरुपहरु छन्् । तीमध्य विस्तारवाद पनि एक हो । दक्षिण एसियामा त्यसमध्ये पनि हाम्रो देश नेपालमा भारतीय विस्तारवादको शोषण–दमन र हस्तक्षेप विगत लामो समयदेखि रहँदै आएको छ । अझ यो परम्परागत हस्तक्षेप दिनप्रतिदिन बढ्दै पछिल्लो चरणमा बहुआयामिक रुपमा पेचिलो र कसिलो पनि हुँदै आएको छ । सन् १८१६ को सुगौली सन्धिपछि सुरु भएको बृटिश–भारतीय अतिक्रमण र औपनिवेशिकरणको यो प्रकृया आजको मुक्ति, स्वाधीनता र स्वतन्त्रताको आधुनिक युगसम्म आइपुग्दा त झन् भौगोलिक, राजनीतिक, आर्थिक, भाषिक, धार्मिक, सांस्कृतिक, जनसांख्यिक र सामरिक रुपका विविधहस्तक्षेपका आयामहरुमार्फत् बरकरार रहेको मात्र होइन, झन्–झन् हाकाहाकी, तीव्र, पेचिलो, कसिलो, जटिल र गम्भीर रुपमा बढिरहेको छ । फलस्वरुप राणाकालमा सुरु भएको बृटिश साम्राज्यवादप्रतिको नेपाली शासकवर्गले गर्दै आएको भक्ति, दलाली, चाकरी र बफादारीको प्रकृया पनि आजसम्म आउँदा त प्रभुकरण र आत्मसमर्पणको स्वरुपमा विकसित भएको छ । आज देशमा २००७, २०२८, २०३६, २०४६, २०५२ र २०६२–६३ का भीषण र भयावह आन्दोलनहरु हुँदा र देशभक्त क्रान्तिकारीहरुका त्याग, तपस्या र बलिदानका उच्चतम कीर्तिमान कायम हुँदासम्म समेत देशको अस्मिता, अस्तित्व, स्वत्व, स्वाधीनता र स्वाभिमान सुरक्षित हुन सकेको छैन । र, नेपाललार्ई प्राथमिकता क्रमअनुसार क्रमशः सिक्किमीकरण, भुटानीकरण, फिजीकरण वा कम्तीमा खण्डीकरण गरेर यसको नामोनिसान मेटाउने जालझेल र चलखेलहरु भैरहेका छन्् । विचित्रको विडम्बना त यो भएको छ कि यस प्रकृयामा नेपाली नेता–शासकहरु नै वैदेसिक शक्तिकेन्द्रहरुको दलाली र दासता निर्बाध र निर्भीकतापूर्वक नाङ्गै, खुल्लै र सीधै गरिरहेका छन्् । यसले गर्दा देशको अस्तित्व झन् पछि झन् गम्भीर संकटमा परेको छ । आजसम्म स्वतन्त्रता र समानताको लागि नेपालमा भएका उपरोक्त आन्दोलनहरुबाट यस दिशामा राज्यव्यवस्थामा भए–गरेका परिवर्तन र परिमार्जनपछाडि पनि विभिन्न व्यवस्थाअन्तर्गत देशका विभिन्न शक्तिहरुले शासन गरिरहेका छन्् । जहानियाँ हुकुमी राणाशासन र यसअन्तर्गत राणाहरुले, निर्दलीय निरंकुश पंचायत शासन र यसअन्तर्गत राजा र पंचहरुले, पुँजीवादी संसदीय शासन र यसअन्तर्गतका काँग्रेस, कम्युनिस्ट, राप्रपा, मधेसवादी आदि शक्तिहरुले लामो समयसम्म पनि एकल वा संयुक्त रुपमा पटक–पटक सरकार संचालन गरेका छन्् । यस क्रममा राज्यको लोकतान्त्रीकरण गर्ने र आधुनिक राज्यका विशेषताहरु अवलम्बन गर्ने अर्थात् गणतन्त्र, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, कानुनी राज, आवधिक निर्वाचन, मौलिक हक, अनि उपेक्षित र बहिष्कृतहरुको समेत राज्यसत्तामा सहभागिता आदि जस्ता कुराहरुको थोरबहुत प्राप्ति त भएको छ तर यो उपलब्धि सँगसँगै नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र अखण्डता भने दिनानुदिन चरम खतरामा परिरहेको छ । आज कालापानी, सुस्ता लगायतका छ दर्जन जति स्थानहरुमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमिमा भारतीय विस्तारवादीहरुबाट भैरहेको सीमाक्षेत्रमा अतिक्रमणलगायतका माइक्रो म्यानेजमेन्टसम्मका कामकुराहरुमा हुँदै आइरहेका राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र सामरिकसम्मका हस्तक्षेपले के कुराको पुष्टि गर्छन् ? स्पष्ट छ कि हाम्रो देश आजको युगमा पनि समयानुकुल स्वतन्त्र र सार्वभौम छैन । यो अद्यापि अर्ध वा नवउपनिवेशको अवस्थामा छ । तसर्थ देशलार्ई पूर्ण र सच्चा स्वाधीन राष्ट्र बनाउनु हामी नेपालीहरुको यतिबेलाको पहिलो र प्रमुख जिम्मेवारी हो । यस निम्ति हामीले राष्ट्रिय स्वाधीनताको लडाइँ लड्नुपर्ने हुन्छ । त्यो भनेको हाम्रो प्रधान अन्तर्विरोध वैदेशिक प्रतिकृयावादसँग अर्थात् इन्डो–पश्चिमा साम्राज्यवादसँग रहेको छ भनेको हो । यो भनेको यो वैदेशिक शक्ति अर्थात् इण्डो–पश्चिमा साम्राज्यवादी शक्तिहरु नै नेपाल, नेपाली र नेपाली क्रान्ति, मुक्ति र प्रगतिका मुख्य दुश्मन शक्ति हुन् भनेको हो । यो अवस्थामा प्रथमतः देशको स्वत्व र अस्तित्व रक्षाको लडाइँलार्ई सबल र सफल पार्न र द्वितीयत जनवादी र समाजवादी क्रान्तिमा अघि बढ्न आज सम्पूर्ण देशभक्त शक्तिहरु गोलबद्ध गर्नु–हुनुपर्दछ र हाम्रो मोर्चाको निसाना वैदेशिक प्रतिक्रियावादी विशेषतः भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादलगायतका नेपालमाथि विविध प्रकारले हस्तक्षेप गरिरहेका साम्राज्यवादी शक्तिहरु र तिनका नेपाली अनुहारका दलाल र दासहरुलार्ई बनाउनुपर्छ । यसरी मात्र राष्ट्रिय मुक्ति आन्दोलनलार्ई विजयसम्म पुराउन सकिन्छ र सक्नु नै पर्दछ । राष्ट्रिय मुक्ति पूर्ण रुपले प्राप्त भैसकेपछि मात्र जनतन्त्र र जनजीविकाका अपूरा मुद्दाहरुलार्ई पूरा गर्न संघर्ष गरेर नयाँ जनवादी क्रान्तिका दुई मुख्य कार्यभार वर्गीय मुक्ति र राष्ट्रिय मुक्तिलार्ई पूर्णता दिई समाजवादको दिशामा अघि बढ्नु पर्दछ ।

साँच्चै भन्ने हो भने आज नेपालमा वर्गीय मुक्तिको दिशामा केही प्रगति र उपलब्धिहरु भए पनि राष्ट्रिय स्वाधीनता र मुक्तिको दिशामा केही प्रगति र उपलब्धि भएको छैन, बरु उल्टै राष्ट्र नै कोल्याप्स हुने गम्भीर खतरा छ । पछिल्लो चरणमा एमसीसीमार्फत् भारत र अमेरिकाको संयुक्त पहलमा पश्चिमा साम्राज्यवादीलगायतका साम्राज्यवादी शक्तिराष्ट्रहरुले नेपालमा गर्न थालेको सुनियोजित हस्तक्षेप, हैकम र हालिमुहालीले नेपालको अस्तित्व पूर्ण र सर्वाधिक रुपले खतरामा परेको छ । साथै चीन, उत्तर कोरिया लगायतका साम्राज्यवादविरोधी देशहरुको समेत हैसियत र अस्तित्व खतरामा परेको छ । यति मात्र होइन यसले गर्दा क्षेत्रीय शान्ति र अन्ततः विश्वशान्तिलार्ई समेत खतरामा परेको छ । त्यसैले नेपालभित्रका सच्चा देशभक्त र क्रान्ति–शान्तिका पक्षपातीहरुको मात्र होइन, देश बाहिरका साम्राज्यवाद र त्यसको युद्धका विरोधी सम्पूर्ण शक्ति, राष्ट्र र जनसमुदायहरुको समेत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत बृहत् संयुक्त मोर्चा निर्माण गरी राष्ट्रिय स्वाधीनताको लडाइँ लडेर राष्ट्रिय मुक्ति आन्दोलनलार्ई विजयी बनाई स्वाधीनता, शान्ति, समृद्धि र समानताको दिशामा अघि बढ्नु पर्दछ । वास्तवमा नयाँ जनवादी क्रान्तिका दुई कार्यभारहरुमध्ये अहिले नेपालमा राष्ट्रिय स्वाधीनताको प्राप्तिको लडाइँलार्ई सबल र सफल पार्न हामीले प्राथमिकता र प्रधानता दिनु जरुरी छ भने तत्पश्चात वर्गीय मुक्ति प्राप्तिको लडाइँलार्ई सबल र सफल पार्नु पर्दछ । यो नै अत्यावश्यक र सम्भव अनि नेपाली वस्तुगत आधार र मौलिकतामा आधारित सही, वैज्ञानिक, सिर्जनशील र क्रान्तिकारी तरिका हो । यसो नगरेर एकै पटक नयाँ जनवादी क्रान्तिका दुवै कार्यभार पूरा गर्ने भन्ने सोच र तरिका यान्त्रिक, अवस्तुवादी र असम्भव सोच र तरिका हो । यसैगरी नयाँजनवादी क्रान्तिका बाँकी २० प्रतिशत कार्यभार पूरा गर्दै समाजवादमा जाने वा अहिले नै समाजवादी क्रान्ति गर्ने कुरा पनि त्यत्तिकै अवस्तुवादी, अवैज्ञानिक, असम्भव र मनोगत आत्मरतिभन्दा अरु बढी केही हुने देखिन्न । तसर्थ, राष्ट्रिय मुक्ति आन्दोलनको यो कार्यदिशाले मात्र अहिलेको विश्वको प्रधान अन्तर्विरोधसँग पूर्ण संगति राख्दछ । यसरी मात्रै राष्ट्रिय क्रान्ति हुँदै अन्तर्राष्ट्रिय क्रान्तितर्फ अघि बढ्न अर्थात् विश्वभरका उत्पीडित राष्ट्रहरु मिलेर विश्वसाम्राज्यवादका विरुद्ध लडेर विजय र मुक्ति पाउन सकिन्छ भन्ने लाग्दछ । यस दिशातिर स्वतन्त्र, गम्भीर र जिम्मेवार भएर सोच्न, विचार्न अनि आ–आफ्ना पार्टी र समूहभित्र आवश्यक छलफल चलाउन र यस प्रकारको सही नीति, निर्णय र कार्यदिशामा अघि बढ्न सम्पूर्ण अग्रज–दिग्गज, ठूला–बडा र सच्चा–पक्का देशभक्त–क्रान्तिकारी शक्ति–व्यक्ति र नेतृत्व–व्यक्तित्वहरुलगायत सबै बुद्धिजीवी–विश्लेषक र क्रान्तिका किल्ला र इतिहासका निर्माता सचेत जनसमुदायहरुलार्ई समेत विनम्र अनुरोध गर्नु वान्छनीय भएको छ ।

प्रतिक्रियाहरु