‘राज्यले बन्दुकको बलमा दमन गर्न खोजे त्यसको सशक्त प्रतिरोध गर्न तयार’

२०७८ मंसिर १९ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राज्यले बन्दुकको बलमा दमन गर्न खोजे त्यसको सशक्त प्रतिरोध गर्न तयार रहेको बताएका छन । सो पार्टीद्वारा प्रदेश –१ को राजधानी बिराटनगरमा शनिबार आयोजना गरिएको वृहत् जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै सहमति अनुसार जेलमा रहेका आफ्ना नेता कार्यकर्ता तत्काल रिहा गर्न माग समेत गरेका छन् । महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा पुर्वको ठूलो योगदान रहेको उल्लेख गर्दै पुर्वमा क्रान्तिको ज्वाला निस्किने उद्घोष गरे । उनले बिराटनगरबाट भएको मजदुर आन्दोलन र झापाबाट शुरू भएको सामन्तका टाउको काट्ने अभियान स्मरण गर्दै आज तिनै व्यक्ति र तिनका पार्टी सामन्ती बन्न पुगेकाले देश र जनताले दुःख पाएको बताए ।

एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद असम्भव भन्दै हिँड्ने केपी, प्रचण्ड, बाबुराम, शेरबहादुरहरू नै अहिले यो व्यवस्थाबाट आजित भइसकेको बताउँदै महासचिव विप्लवले राणासाशणको अन्त्य, झापा आन्दोलन, पञ्चायती व्यवस्था बिरूद्वको आन्दोलन, सामन्तवाद विरूद्वको दशबर्से जनयुद्ध परिवर्तन चाहने जनताबाट भएकोले जनताले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याएरै छाड्ने र अहिलेको परिस्थितिमा यो मात्रै विकल्प रहेको बताए । उनले अहिलेको राज्यसत्ता चरम रूपमा भ्रष्टाचारमा लिप्त रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले कुनैपनि भ्रष्टाचार, बेथिति, विसङ्गति, अत्याचार अन्याय नसहने उद्घोष गरे । उनले राज्यलाई अरबौँ राजस्व नबुझाउने एनसेल कम्पनीलाई राज्य आफैँले कारवाही गर्नुपर्ने ठाउँमा नेकपाको नेतृत्वमा जनताले एनसेललाई कारवाही गर्दा नेकपामाथि प्रतिबन्ध लगाएको उल्लेख गर्दै पुर्वमा मुठभेडका नाममा राज्यले पार्टीका कार्यकर्ता हत्या गरेको बताए । राज्यले प्रतिबन्ध लगाउँदै नेकपालाई सिध्याउने अभिव्यक्ति दिने केपी प्रचण्डहरू नै पतनको बाटोमा पुगेको उल्लेख गर्दै क्रान्ति आगोका झिल्को रहेको र परिवर्तन चाहने जनताले त्यसलाई ज्वालामा परिणत गरेको बताए ।
महासचिव विप्लवले अहिले पनि देशका विभिन्न कारागारमा नेताकार्यकर्ता बन्दी बनाएको भन्दै राज्यले नेपाल प्रहरी र सेनालाई दुरुपयोग गरेको य्जोकुवा गरे । नेपालमा अबको एकमात्र विकल्प वैज्ञानिक समाजवाद रहेको भन्दै उनले यो लडाइँ कसैको स्वार्थका लागि नभएको र देश र जनताको लागि सबै जातजाति, भाषाभाषीका आम जनसमुदाय एक भएर सङ्घर्ष गर्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीले कुनै पनि स्वार्थमा जनताको एजेन्डामाथि घात गरेर सम्झौता नगर्ने बरू बलिदान गर्न तयार रहेको उल्लेख गर्दै दलाल संसदीय व्यवस्थाका विरूद्व अन्तिमसम्म सङ्घर्ष गर्ने विप्लवले उद्घोष गरे । यस्तै कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली, पार्टी केन्द्रीय सदस्य एवम् भूमिहीन सुकुम्बासी सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुन लगायतले मन्तव्य राखेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यता रहेको उक्त सभामा पार्टीका केन्द्रीय सदस्य एवम् सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’, पार्टीका केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन, दिपेश राई, असल, निर्मल राई, देव नारायण शाह, जोखिम, शैलेश, विवेक, समर, बलवान, आजाद सेन, तिर्थ राई, त्यसैगरी केन्द्रीय सल्लाहकार समिति सदस्य होम विद्रोही, सहिद तिर्थ घिमिरेका पिता निमनाथ घिमिरे, अखिल (क्रान्तिकारी) का महासचिव मिलन राई, श्रमिक समुदाय मोर्चाका महासचिव त्रिलोचन लगायतको आतिथ्यता रहेको थियो ।


बिराटनगरस्थित महेन्द्रचोक पुर्व हिमालय रोडमा सम्पन्न सभाको सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंहले गरेका थिए भने उक्त सभाका सभापति पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बु रहेका थिए ।
उक्त सभामा सामना सांस्कृतिक परिवारका कलाकारहरूले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर लगायतका जिल्लाबाट हजारौँ नेताकार्यकर्ता तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु