‘जवाद’ सामुन्द्रिक आँधी : नेपालमा खासै प्रभाव नपर्ने

२०७८ मंसिर १८ गते, शनिबार

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको र उक्त चक्रवात शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको जानेको छ । महाशाखाले उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेको बताएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै चक्रवातको अप्रत्यक्ष प्रभावले शनिबार रातिबाट प्रदेश १, २ र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको र एक/दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ । ‘आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ,’ महाशाखाले भनेको छ, ‘सो पश्चिमी न्यून चापीय प्रणालिको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।’

सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु