भारतसहित २६ मुलुकमा ओमिक्रोन भेरियन्ट !

२०७८ मंसिर १७ गते, शुक्रबार


काठमाडौं । भारतसहित २६ मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । बिहीबार भारतको कर्नाटक राज्यका दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेला परेको जनाइएको छ । बिबिसीले भारतीय उच्च अधिकारीलाई उद्धृत गर्दै दुई जनामा नयाँ भेरियन्ट संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।
भारतमा पहिलो पटक ६६ र ६४ वर्षका दुई पुरुषमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई निगरानीमा राखिएको छ । भारतमा पहिलो पटक कोरोना भाइरसको यो भेरियन्ट फेला परेको हो । संक्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् । उनीहरुमा सामान्य लक्षण मात्र देखिएको छ । योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ । बुधवारदेखि लागु हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बाङ्ग्लादेश, हङ्कङ र इजरेलबाट आउने यात्रुलाई कडाइ गरेको छ।
भारत आइपुग्नासाथ ती यात्रुको परीक्षण गरिनेछ र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइनेछैन। सङ्क्रमण पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिनेछ र उनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइनेछ।

प्रतिक्रियाहरु