नेकपाको आठौँ पार्टी पुनर्गठन दिवस र जनअपेक्षा

२०७८ मंसिर ८ गते, बुधबार


नेपाल कम्युनिस्ट पार्टीले यसै हप्ता अर्थात मंगसिर ८ गते ‘आठौँ पार्टी पुनर्गठन दिवस’ मनाउँदैछ । १० वर्षे जनयुद्ध गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) वैचारिक, राजनीतिक र सांगठानिकरुपले बिसर्जन भएपछि २०६९ सालमा मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो । मोहन वैद्य ‘किरण’को नेतृत्वमा पुनर्गठन भएको उक्त पार्टी पनि वैचारिक, राजनीतिक र सांगठानिकरुपमा अलमलमा परी क्रान्तिको लागि बाधक बनेपछि २०७१ मंसिर ८ गते विप्लव र प्रकाण्डसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो । पार्टी पुनर्गठन भएपछि सो पार्टीले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयलाई केन्द्रमा राख्दै संघर्षलाई अगाडि बढाउँदै आएको छ । सो पार्टीले ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा पारित गर्दै हाल सोही कार्यदिशाबमोजिम क्रान्ति सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । यतिबेला १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु नामेट भएका छन् । देश पुनः संसद्वादी भासमा डुबेको छ । सरकारका तीनवटा अंग अस्तव्यस्त र निकम्मा हँुदै गएका छन् । झन्डै दुई तिहाईको सरकारलाई निकम्मा सावित गर्दै सर्बोच्च अदालतको परमादेशको बलमा सरकार गठन भएको छ । राष्ट्रियता संकटमा परेको छ, बैदेशिक हस्तक्षेपले सीमा नाघेको छ, जनजीविकाका दिनप्रतिदिन चौपट हुँदै गएको छ । भ्रष्टाचार, कालोबजारीले सीमा नाघेको छ । तर, सरकार कानमा तेल हालेर बसेको छ । यो सबै हुनुमा कुनै व्यक्ति विशेषको दोष नभएर समग्र व्यवस्थाकै दोष भएको तथ्य जगजाहेर छ ।
तसर्थ, देशलाई यस विकराल राजनीतिक संकटबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले भनेजस्तो जनताको व्यवस्था र शासन प्रणाली लागू गर्न जनमत संग्रह गर्नुको विकल्प छैन । देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट मुक्त पार्न अब संसदीय निर्वाचन होइन, जनमत संग्रह गर्नुपर्छ । त्यसका लागि तत्काल जनमत संग्रह घोषणा गरी त्यसलाई कार्यान्वयन गर्न प्रगतिशील संयुक्त सरकार गठन गर्नुपर्छ । अन्यथा स्थिति झन् विकराल बन्ने निश्चित छ । यसकारण देशका संसद्वादी भ्रष्ट राजनीतिबाट वाक्कदिक्क भएका नेपाली जनता राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा नेकपाको काँधमा काँध मिलाउन तयार भएका छन् । यस्तो अवस्थामा पार्टी पुनर्गठन दिवस मनाउँदै गरेको नेकपालाई साथ, सहयोग र शुभकामना दिनु हरेक सचेत नागरिकको दायित्व छ । हाम्रो तर्फबाट पनि नेपाल कम्युनिस्ट पार्टीको ‘आठौ पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ सफल होस् र क्रान्तिकारी कार्यभार पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी सफल होस्, आम नेपाली जनताको यही अपेक्षा छ , शुभकामना ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

समाजवादका लागि जुटौं

२०८० फाल्गुन २० गते, आईतवार