नेकपाको ‘आठौँ पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ मनाईदै

२०७८ मंसिर ८ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ‘आठौ पार्टी पुनर्गठन दिवस’ आज भव्यतापूर्वक मनाईदै छ । ‘वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्ष गरौँ’ मूल नाराका साथ मङ्सिर ६, ७ र ८ गते देशभरि विभिन्न रचनात्मक काम गरी नेकपाले आठौँ पार्टी पुनर्गठन दिवस मनाइरहेको छ । पार्टी केन्द्रीय समिति, देशभित्रका ७७ वटै जिल्ला समिति, विभिन्न जवस, मोर्चाहरू, विभागहरू र विदेशमा रहेका पार्टी समितिहरूले पनि तीनै दिन उल्लासमय ढङ्गले पार्टी पुनर्गठन दिवस मनाइरहेका छन् । पार्टीले ६ गते मोटरसाइकल र्याली आयोजना गरी पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार गर्ने, पोस्टरिङ गर्ने, मङ्सिर ७ गते अतिरिक्त क्रियाकलाप, कविता, लोकगीत, वक्तृत्वकला प्रतियोगिता, ७ गते बिहान झन्डा, ब्यानर टाँग्ने, अबिरजात्रा गर्ने, चियापान, युवा मार्च र बेलुका बजार, चोक र घरघरमा दीप प्रज्वलनका साथै उपहार आदानप्रदान गर्ने कार्यक्रम तय गरेको थियो । पूर्वघोषित कार्यक्रमअनुसार देशभर दुई दिनका कार्यक्रम सम्पन्न भइसकेका छन् भने सिङ्गो पार्टी र जवस/मोर्चाहरूले आज बिभिन्न कार्यक्रम गरी रहेका छन् । ६ देखि ८ गतेसम्म पार्टी पुनर्गठन दिवसका अवसरमा तय गरिएका कार्यक्रमहरूमा नेकपाका नेता–कार्यकर्ताहरूले सरकारसँग भएको तीनबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारलाई दबाब दिइरहेका छन् भने प्रगतिशील संयुक्त सरकार, जमतसङ्ग्रह र वैज्ञानिक समाजवाद स्थापनाका पक्षमा बहस, अन्तरक्रिया, गोष्ठी र शुभकामना आदानप्र्रदान गरिहरहेका छन् ।
२०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ । केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछिका दुई वर्ष नेकपाले प्रतिबन्धित अवस्थामै पार्टी पुनर्गठन दिवस मनाएको थियो । प्रतिबन्ध फुकुवा भएपछि यो वर्ष नेकपाले विशेष तयारीका साथ आठौँ तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाएको हो ।
जनयुद्ध सञ्चालन भइरहेको समयमा २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेना घोषणा गरी तत्कालीन शाहीसेनाका कयौँ क्याम्पहरूमा हमला गरेर विजय प्राप्त गरेको दिन पनि भएकाले यो दिन नेपालको राजनीतिक आन्दोलनको इतिहासमा स्मरणीय र ऊर्जाशील छ । अझै नेपालका क्रान्तिकारी र मालेमावादी राजनीतिक पार्टीहरूका लागि त यो दिन विशेष पर्वको दिन बनेको छ ।

प्रतिक्रियाहरु