पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर

२०७८ कार्तिक २८ गते, आईतवार

नेपाल आयल निगमले हालै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकोछ । आयल निगमको यस कार्यले अब सम्पूर्ण वस्तुको मूल्यवृद्धि हुने निश्चित छ । सरकारले महँगी, कालोबजारी, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न नसक्दा जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको थियो । यसमाथि झन् आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरी दिएपछि कालोबजारी र अनियमितता गर्नेलाई ऊर्जा थपिदिएको छ । जनताको दैनिकीसँग जोडिएको पेट्रोलियम पदार्थका मूल्यवृद्धि गर्नु आफैँमा आपराधिक कार्य हो । सरकार यस विषयमा सचेत हुनैपर्छ । र, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई अनुरोध गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएसम्म उसले आन्दोलन चर्काउने घोषणा गर्दै प्रत्येक दिन संघर्षका कार्यक्रम गर्दै आएको छ र यही कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ । सरकारको गैरजिम्मेवारीपन र आयल निगमको स्वेच्छाचारिताविरुद्ध नेकपाले थालेको यस संघर्षलाई सबैले साथ र सहयोग दिनु आमजनताको लागि बाध्यता बन्दै गएको छ । किनकि राज्यकै कारण दिनप्रतिदिन जनजीवन कष्टकर र अस्तव्यस्त बन्दै गएको छ तर सरकार मौन छ । यस्तो स्थितिमा जनता जाग्नुको विकल्प छैन । तसर्थ, सरकारले जनताको मर्म बुझी तत्काल पेट्रोलियम पदार्थमा गरिदिएको मूल्यवृद्धि खारेज गर्नुपर्छ । अन्यथा सरकारको जनताप्रतिको गैरजिम्मेवारीपनप्रति नेपाली जनता चुप लागेर बस्दैनन् र नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध गरेको संघर्षमा सहभागी हुने छन् । सडकबाटै जनविरोधी सरकारलाई सजाय दिनेछन्, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु