क्रान्तिकारी शक्ति र आन्दोलनको आवश्यकता र जटिलता

२०७८ कार्तिक १३ गते, शनिबार


नारायण शर्मा

आज नेपालमा राज्यका चारै अङ्गमा विभिन्न विकृती-विसङ्गतीहरु व्याप्त छन् । सरकारको स्वेच्छाचारीता, संसदको संवादहीनता, न्यायालयको निकम्मापन र मिडियाको मनिपरस्तताजस्ता थुप्रै विकारहरुले प्रमाणित गरेका छन् कि यो बहुदलीय संसदीय व्यवस्था नेपालमा फेरि अर्कोपटक पनि पूर्णत: असफल र अफाप सिद्ध भैसकेको छ । त्यसमाथि बहुदलीय व्यवस्थाका खम्बा मानिएका संसदवादी पार्टीहरु र तिनका नेता-कार्यकर्ताहरुका आफ्नै घोषणापत्र र संविधानले निर्दिष्ट गरेका लक्ष-उद्देश्यविपरीतका दलाली, दासता, दरिद्रता, दम्भ र दमनजस्ता राष्ट्रघाती, जनविरोधी र समाजवाद विपरीतका दुष्ट, भ्रष्ट र निकृष्ट चिन्तन-चरित्र र काम-कार्वाहीहरुले गर्दा जनतामा समग्र राज्य, राजनीति, राजनीतिक दल, तिनका नेता-कार्यकर्ता र देसका शासकहरुप्रति चरम अविश्वास, आक्रोश र वितृष्णा बढेको छ । यसले गर्दा सिङ्गो मुलुकमा यी सबका विरुद्धमा एउटा भयङ्कर विद्रोह र विष्फोटको वातावरण बनेको छ । यस्तो अवस्थामा वर्तमान व्यवस्थाका सच्चा विरोधी व्यक्ती, शक्ति र प्रवृत्तिहरुको एकीकरण, ध्रुवीकरण, शुद्धीकरण र क्रान्तिकारीकरण गरी राज्य र समाजलाई रुपान्तरण गर्ने महाभियानको टड्कारो आवश्यकता छ । यो आवश्यकता पूरा गर्न केही स्थापित र परिचित क्रान्तिकारी पार्टीका शीर्ष र स्वच्छ नेताहरु वा जिम्मेवार क्रान्तिकारी र देसभक्त नागरिक अगुवाहरुले प्रथमतः यो आवश्यकतालाई गम्भीरता र जिम्मेवारीका साथ आत्मसात् गर्नु अत्यन्त जरुरी छ भने द्वितीयत: उहाँहरुले आआफ्ना संकीर्ण सोंच, शैली र स्वार्थलाई तिलान्जली दिनु पनि त्यत्तिकै जरुरी छ । तत्पश्चात् मूलतः समान विचार-सिद्धान्त र लक्ष-उद्देश्य भएका सम्पूर्ण शक्तिहरुलाई सकेसम्म पार्टीगतरुपमा वा नभएपनी कम्तीमा मोर्चागत रुपमा एकताबद्ध गर्ने रणनीतिअनुसार पार्टी एकता गर्ने वा संयुक्तमोर्चा बनाई सशक्त संघर्ष गर्ने गर्नु आवश्यक भएको छ । यसरी नै संघर्षलाई निर्णायक रुपले सफल र विजयी बनाउन तत्कालका गम्भीर र महत्वपूर्ण इस्युहरुमा संघर्ष गरिरहेका वा गर्ने विभिन्न शक्तिहरुसँग इस्युवाइज कार्यगत एकता गरी वर्तमान विकृत व्यवस्था र यसका वाहक-चालकहरुका विरुद्धमा संघर्ष छेंड्नु अत्यन्त जरुरी छ ।
तर दुखद र विचित्र विडम्बना यो भएको छ कि उपरोक्त सम्पूर्ण कुराको ज्ञान भएका स्थापित राजनीतिक दल र तिनका वरिष्ठ र विशिष्ट नेतृत्वहरुले समेत यसदिशामा गम्भीरता र तदारुकतापूर्वक ध्यान र ज्यान दिइरहेका छैनन् । यसले गर्दा यी स्थापित र परिचित वरिष्ठ र विशिष्ट शक्ति र नेताहरुबाट अब कुनै विशेष र गुणात्मक प्रकारको भीषण र भयावह प्रकारको क्रान्तिकारी शक्ति र आन्दोलनको निर्माण, संचालन र नेतृत्व होला र सफलतापूर्वक सम्पन्न होला भन्ने आशा बिलाउँदै गैरहेको छ । तथापि अझै अन्तिम एकपटक यी स्थापित र परिचित विशिष्ट र वरिष्ठ नेतृत्वहरुलाई हामी स्वतन्त्र र स्वाभिमानी अनि स्वविवेकी र स्वनिर्णयी तर परिशिष्टमा रहेका विस्थापित र अपरिचित कनिष्ठ व्यक्ति र शक्तिहरुले झक्झकाउँदै उहाँहरुलाई संयुक्त क्रान्तिकारी जनआन्दोलनको दिशा र कर्ममा ल्याउन जोड गर्नु परेको छ । यदी यो प्रयत्नमा असफल भैयो भने अब परिशिष्टका कनिष्ठ शक्ति र व्यक्तिहरु स्वयंले नै नयाँ क्रान्तिकारी शक्तिको निर्माण गरी देसलाई सम्मति र सद्गतिमा संचालन गर्ने-गराउने निर्णायक क्रान्तिकारी जनआन्दोलनको बाटोमा सचेततापूर्वक अघि बढ्ने आँट गर्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।
अब प्रश्न उठ्छ कि यस्तो परिस्थिति हुँदा पनि किन त देसका जिम्मेवार दलहरु र तिनका पहरेदार नेताहरु वा सचेत र जिम्मेवार नागरिक अगुवाहरु यस दिशामा लागिपरेका छैनन् ? दु:खका साथ भन्नु परेको छ कि नेताहरुका दिलदिमागमा आफू र आफ्नो पार्टीले जे सोंचेको छ, जे निर्णय गरेको छ वा जे गर्ने गर्दै आएको छ, त्यो भन्दा थोरैपनि दायाँबायाँ, तलमाथी, यताउता गर्नै हुन्न भन्ने नितान्त यान्तृक, जड, रुढीबादी, संकीर्ण र कठमुल्लावादी चिन्तन र चरित्र जबर्जस्त रुपमा जरा गाडेर बसेको छ । उहाँहरु आफ्नो र आफ्नो पार्टी वा गुटको सिमित, संकुचित र संकीर्ण सोंच र स्वार्थका कारण देस र जनताको बृहत्तर हितको निम्ति उदार र उदात्त भएर केही नयाँ गर्न त के सोंच्नसम्म पनि सक्नुहुन्न ! उहाँहरुलाई आफूहरुले खाइपाई आएका पद, प्रतिष्ठा, पावर, पैसा र प्रचार अनि मानमर्यादा, सुखसयल र सानशौकत कम हुने वा सिनियर जुनियर हुने अथवा आफू र आफ्नो समूह-स्वार्थमा आँच आउने निकै ठूलो डर छ । तर उहाँहरु यो तीतो यथार्थ स्वीकार्न तयार हुनुहुन्न बरु यसको बचाउमा उत्रदै भिन्न, नयाँ, मौलिक र सिर्जनशील तरिकाले सोंच्नु र एकता, सहकार्य, संयुक्त मोर्चा वा कार्यगत एकता गरी संयुक्त र सशक्त आन्दोलन गर्नुलाई विगतका संयुक्त आन्दोलनहरु वैदेसिक प्रतिक्रियावादी शक्तिकेन्द्रको डिजाइनमा भएको उदाहरणको डर देखाउँदै क्रान्तिकारी र राष्ट्रवादी विचार र राजनीतिबाट भड्काव, विचलन र पतन हुनु र अन्ततः साम्राज्यवादी-विस्तारवादीहरुको गोटी बन्दै आत्मसमर्पण गर्नु हो भन्ने आरोप लगाइदिनुहुन्छ । यसरी उहाँहरुले आफूलाई खाँटी क्रान्तिकारी र राष्ट्रवादी त सोंच्नुहुन्छ तर वस्तुतः र परिणामत: उहाँहरु क्रान्ति गर्ने क्रान्तिकारी र राष्ट्रको दुख र दरिद्रता हटाउने सच्चा व्यावहारिक राष्ट्रवादी होइन कि क्रान्तिको राग अलाप्ने, गीत गाउने र क्रान्तिलाई प्रेम गर्ने क्रान्तिप्रेमी र सैद्धान्तिक र शाब्दिक राष्ट्रवादीसम्ममा मात्र सिमित बन्न पुगिरहनु भएको छ । तर, यस्तो दुखद अवस्थामा पुग्न गएको कुरा उहाँहरुले आफ्नो “क्रान्तिकारी” र “राष्ट्रवादी” अहंकार र आत्मरतिको कारणले गर्दा थाहासम्म पनि पाउनुहुन्न । कथंकदा केही थाहा पाइहाले पनि त्यसलाई स्वीकार्न र सच्चाउन पनि उहाँहरु पटक्कै चाहनु हुँदैन ।
यसप्रकार उहाँहरु एउटा साधु र पिंजडाको चराको कथाको अवस्थामा पुग्नुहुन्छ अर्थात् साधुको निरन्तरको अर्ती “बन्धन तोड र पिंजडा छोड” भन्नेलाई चराले कण्ठ त गर्ने तर पिंजडा खुलेर बाहिर निस्कँदा पनि अन्ततः त्यही पिजडामै गएर बस्ने गरेझैं क्रान्तिको रटान त लगाउने तर क्रान्तिकारी परिस्थिति तयार हुँदा पनि त्यसको भेउ नपाएर यथास्थितिमै रम्ने अवस्थामा पुग्नुहुन्छ र केही हदसम्म पुगेको पनि पाइन्छ ।
आफूलाई क्रान्तिकारी र बौद्धिक ठान्ने नागरिक अगुवाहरुको पनि यस्तै मनस्थिति देखिन्छ ! आज स्वतन्त्र, निस्पक्ष, आत्मनिर्भर र मौलिक सोंच, शैली, संस्कार र व्यवहारका नाममा उहाँहरुले खाइपाइआएको पैसा, पद, प्रसंशा र प्रचार तथा यिनै काम-व्यवहारको लागि NGO/INGO जस्ता देसी-विदेसी शक्ति र संस्थाहरुबाट प्राप्त सहयोग-सुझाव गुम्ने र त्यसमार्फत आफ्नो छवि, शक्ति र प्रभाव कमी हुने भयले अर्को कुनै नयाँ, सशक्त र क्रान्तिकारी शक्ति र आन्दोलन निर्माण गर्न चाहनुहुन्न ! यसरी उहाँहरु पनि देस र जनताको बृहत्तर हितका कुरासम्म गर्ने तर आफ्नो व्यक्तिगत, पारिवारिक र समुदायगत हितको हठलाई त्यसरी नै त्याग्न सक्नुहुन्न, जसरी एउटा तपस्वीले बाढीबाट भगवानले आफूलाई बचाउने हठ नत्याग्दा अन्ततः बाढीले बगाएर मरेको कथाकोजस्तो दुखद र दुर्दान्त स्थिति देस, जनता र क्रान्तिको बन्न पुग्छ ! त्यसैले समयमै सबैमा यसको हेक्का हुनु जरुरी छ र आवश्यकतानुसार साहस, त्याग-बलिदानका साथ गम्भीरता र दृढतापूर्वक अघि बढेर एउटा सशक्त क्रान्तिकारी शक्ति र संयुक्त क्रान्तिकारी जनआन्दोलन निर्माण गरि देस र जनतालाई आवश्यक मति र गतिका साथ उपयुक्त रीती र स्थिति कायम गरेर दीगो क्रान्तिकारी निकास र विकास दिनु अत्यावश्यक भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु