कोरोना महामारी अझै १ वर्ष लम्बिने डब्ल्युएचओको दावी

२०७८ कार्तिक ४ गते, बिहीबार

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना महामारी अझै एक वर्ष लम्बिने चेतावनी दिएको छ । उसले महामारी नियन्त्रणमा विश्व समुदाय गम्भीर नभएको र गरिब देशहरूमा कोरोनाविरुद्धको खोपको असमान वितरणका कारण महामारी लम्बिने बताएको हो ।
डब्ल्युएचओका एक वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी सन् २०२२ सम्म लम्बिने बताएका हुन् । उनले धनी देशहरूले गरिब देशहरुका लागि पनि उत्तिकै प्राथमिकतामा राखेर कोरोना खोपमा सहयोगका लागि तत्परता देखाउनुपर्ने बताए । हाल अफ्रिकी देशहरुमा कुल जनसंख्याको ५ प्रतिशतभन्दा कम मानिसले मात्रै कोरोनाविरुद्धको खोप प्राप्त गरेको र अन्य गरिब देशमा पनि यो संख्या न्युन रहेको डब्ल्युएचओले जनाएको छ । तर विकसित मुलुकमा भने कम्तीमा ४० प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप पाएको उसको भनाइ छ ।
विश्वभरका सबै मानिसले कोरोनाको खोप प्राप्त नगरेसम्म यो महामारी अन्त्य नहुने डब्ल्युएचओको दाबी छ ।

प्रतिक्रियाहरु