वैज्ञानिक समाजवाद अपरिहार्य !

२०७८ कार्तिक ३ गते, बुधबार



काठमाडौं । विभिन्न राजनीतिक दल र सरोकारवालाहरूले संसदीय व्यवस्था असफल भएको बताउँदै अब वैज्ञानिक समाजवाद अपरिहार्य भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी सल्यानद्वारा मङ्गलबार थारमारेमा आयोजना गरेको ‘आजको राजनीतिक सङ्कटको निकास वैज्ञानिक समाजवादका लागि जनमतसङ्ग्रह’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने विभिन्न पार्टीका वक्ता तथा अन्य सरोकारवालाहरूले अब वैज्ञानिक समाजवाद अपरिहार्य भएको बताएका हुन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका नेकपाका केन्द्रीय सदस्य मोहलाल चन्द ‘आधार’ ले वैज्ञानिक समाजवादमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतलाई राज्यले ग्यारेन्टी गर्ने बताए । उनले यसमा क्षमता अनुसारको काम र काम अनुसारको दाम हुने बताए । नेता चन्दले भने, ‘राज्य भनेको आमाबाबु हो, नागरिक भनेका छोराछोरी हुन् । छोराछोरीलाई खान, बस्न र बाँच्नको लागि राज्यले जिम्मा लिनुपर्छ ।’ उनले अहिलेको संसदीय व्यवस्थामा दलाल पुँजीवाद हावी भएको बताउँदै यो लामो समयसम्म नटिक्ने बताए । वैज्ञानिक समाजवाद ल्याउनका लागि सबै कम्युनिस्ट एक हुनुपर्ने र कम्युनिस्ट तथा काँग्रेसले उठाएको दृष्टिकोणमा बहस गर्नुपर्ने उनको भनाइ थियो । प्रमुख अतिथि चन्दले अहिलेको संसदीय व्यवस्थामा सबै क्षेत्र अस्तव्यस्त भएको बताउँदै उनले वैज्ञानिक समाजवादमा अस्तव्यस्त भएको क्षेत्र सहि ट्रयाकमा आउने बताए । वैज्ञानिक समाजवादका लागि आफ्नो पार्टीले कार्यपत्रसमेत बनाइसकेकोले त्यसलाई जनतामा लैजाने उनले बताए ।
त्यसैगरी नेकपाका अर्का केन्द्रीय सदस्य बन्दु चन्दले संसदीय प्रणाली मुठ्ठीभरका व्यक्तिको लागि भएको तर आम नागरिकका लागि नभएको बताइन् । संसदीय व्यवस्थाका कारण नेपालमा राजनीतिक दलहरू बिहिन भएको समेत उनले बताइन् । उनले भनिन्, ‘नेपालमा पार्टी चलाउने काम न्यायलयले गरिरहेको छ । पार्टीहरू सिद्दिए जस्तै छ । यो संसदीय व्यवस्तामा देखिएको समस्याका कारण हो ।’ यस्तै नेकपा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविनले नेताहरू दलाल पुँजीवादको दलदलमा फसेका कारण नेपालमा समाजवादको अभ्यास नभएको बताए । उनले अब वैज्ञानिक समाजवाद कि दलाल संसदीय पुँजीवादमा जनमतसङ्ग्रह हुनुपर्ने बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका बागचौर नगर इन्चार्ज तथा प्रदेश कमिटी सदस्य टिकाराम वली ‘दर्शन’ ले नेपालका सबै मनोविज्ञानलाई समेटेर गएपछि मात्रै वैज्ञानिक समाजवाद आउने बताए । त्यसको लागि सबै पार्टीका शिर्ष तहका नेताहरू एकैठाउँमा बसेर छलफल गर्नुपर्ने उनको भनाई थियो । वैज्ञानिक समाजवादको कार्यदिशामा सबै गोलबन्द भएर अगाडि बढ्न सबैले आ–आफ्ना पार्टीलाई दबाब दिनसमेत उनले आग्रह गरे । उनले भने ‘अब संसदीय व्यवस्थामा अल्झिने कि नयाँ आधार तय गरेर वैज्ञानिक समाजवादमा जाने हाम्रो सामु चुनौती छ ।’ नेपालमा समाजवाद भजाएर धेरैले खाने भाँडो बनाएको बताउँदै उनले कुनैपनि राजनीतिक व्यवस्थामा प्रणाली पनि सहि ढङ्गको हुनुपर्ने बताए । यस्तै नेकपा एमालेका बागचौर नगर कमिटी अध्यक्ष घनश्याम शर्माले वैज्ञानिक समाजवाद लागू गर्नको लागि जनतामा गएर जनमतसङ्ग्रह गर्ने कुरा स्वागतयोग्य भएको बताए । उनले हिजोका दिनमा कम्युनिस्ट पार्टीहरू कुन ठाउँमा थिए अहिले पनि त्यो ठाउँमा हुनुपर्ने बताए । उनले भने, ‘वैज्ञानिक समाजवाद व्यानरमा लेखेर र भाषण गरेर मात्रै हुँदैन । वैज्ञानिक समाजवाद भनेको के हो ? समाजवाद शब्दले मात्रै हुँदैन व्याख्या गर्नुपर्छ । राम्रो लाग्यो भने हामी पनि मान्न तयार हुन्छौँ त्यसका लागि सबैभन्दा पहिला सिद्धान्तको पुष्टि हुनुपर्छ ।’
त्यसैगरी नेपाली काँग्रेस बागचौर नगर उप–सभापति भीमबहादुर केसीले काँग्रेसले पनि विगतदेखि नै समाजवादको कुरा उठाउँदै आएकोले समाजवादमा काँग्रेस दृढ रहेको बताए । उनले भने, ‘कुनैपनि व्यवस्था गलत होइनन्, हेर्ने दृष्टिकोण गलत हुन् । देशमा आज धेरै समस्या छ । यसलाई निराकरण गर्नुपर्छ । काँग्रेसले लोकतान्त्रिक पद्धति मान्ने भएकोले सबैको प्रतिनिधित्व गराउँछ ।’ त्यस्तै बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले यी एजेन्डामा सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने र अबको नयाँ ढङ्गले राजनीति अगाडि बढाउनुपर्ने बताए । अहिले सबै पार्टीले विषयवस्तु मात्रै फाल्ने र प्रक्रियामा नजाने देखिएको उनको भनाई थियो । उनले भने, ‘हामी १२ घण्टाको लागि कम्युनिस्ट हुने होइन, २४ घण्टाको लागि कम्युनिस्ट हुनुपर्छ ।’ समाजवादका कुरा गरेर ठुला नेताका छोराछोरीहरूले महँगा बोर्डिङ स्कुलमा पढ्ने तर कार्यकर्ता र जनताका छोराछोरीलाई सरकारी स्कुलमा पढाउने कार्य भइरहेको उनको भनाई थियो ।

यसैगरी जनकल्यान माविका प्राचार्य डा. पुर्ण भण्डारी पङ्कजले अहिले उपभोक्तावादी हावी भएको बताए । उनले वैज्ञानिक समाजवादको अत्यन्त आवश्यक रहेको बताउँदै यसको लागि स्कुलिङको आवश्यकता रहेको बताए । यस्तै हिस्टोङका अध्यक्ष शेरबहादुर डाँगीले राजनीति भनेको समाजको एउटा पाटो भएको बताए । राजनीति सहि बाटोमा गएन भने समाज सहि ढङ्गले नचल्ने बताए । उनले भने, ‘नेपालमा गरिब–गरिब नै भएको छ र धनि रातारात धनी नै भएको छ । देशमा शैक्षिक शक्ति र अर्थतन्त्र बलियो भयो भने मात्रै देशको उन्नती हुन्छ ।’ वैज्ञानिक समाजवादलाई राम्रोसँग बुझाउनुपर्ने बताउँदै उनले अब यो संसदीय व्यवस्थाले देशलाई निकास नदिने बताए । त्यसका लागि अब अगाडिको बाटो राम्रोसँग तय गर्नुपर्ने बताए ।

बागचौर नगरपालिकाका शिक्षा शाखा प्रमुख टेकबहादुर डाँगीले नेपाली समाज भ्रष्ट भइसकेको र थुप्रै प्रकारका विचलनहरू भएको बताए । पुँजीवाद समाजको एउटा कलङ्क भएको बताउँदै उनले अहिले राम्रो शिक्षा दिनलाई र स्वास्थ्य उपचार गराउनको लागि पैसा नै चाहिने अवस्था सृजना भएको बताए । उनले भने, ‘यहीँ अवस्थामा अघि बढ्ने हो भने अबको १० वर्षमा पुँजीवाद गल्यामगुल्याम ढल्छ । अब यो व्यवस्थालाई परिवर्तन गरेर नयाँ व्यवस्थामा जाउँ । वैज्ञानिक समाजवाद अबको लागि ठिक छ ।’

नेकपा बागचौर नगर इन्चार्ज सन्तोषको सभाअध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य टङ्क प्रकाश केसीले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु