चीनद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अस्विकार

२०७८ कार्तिक २ गते, मंगलवार


काठमाडौँ । चीनले केही महिनाअगाडि ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गरेको छ। चीनले नियमित रूपमा अन्तरिक्ष यानको परीक्षण गरेको दाबी गरेको छ। फाइनान्सीयल टाइम्स पत्रिकामा चीनको क्षेप्यास्त्र परीक्षणका खबरहरूले छापिएका थिए। वाशिङ्गटनका स्रोतहरू उल्लेख गरेर छापिएको खबरमा परीक्षणले अमेरिकी अधिकारीहरूलाई चिन्ताग्रस्त्र बनाएको विवरण थियो।
के हो हाइपरसोनिक क्षेप्यास्त्र?
हाइपरसोनिक क्षेप्यास्त्र आवाजभन्दा पाँच गुणा बढी गतिका हुने र तिनलाई रोक्न अन्य क्षेप्यास्त्रलाई भन्दा कठिन हुने बताइन्छ। बलिस्टिक क्षेप्यास्त्रभन्दा कम गतिको भए पनि हाइपरसोनिक क्षेप्यास्त्रको मार्ग नियन्त्रण गर्न सकिने बताइन्छ।
चीनको बढ्दो परमाणु क्षमताबारे पश्चिमा देशहरूमा चिन्ता बढ्दै गर्दा पछिल्ला खबर आएका हुन्। तर सोमवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जुलाईमा परीक्षण गरिएको सो खबर असत्य भएको बताए।
“त्यो क्षेप्यास्त्र थिएन। त्यो अन्तरिक्ष यान थियो। अन्तरिक्ष यानको प्रयोगको खर्च घटाउन यो महत्त्वपूर्ण छ,” प्रवक्ता जाओ लिजियानले भने।
उनका अनुसार त्यस्तै परीक्षण विगतमा थुप्रै देशहरूले गरेका छन्।
फाइनान्सियल टाइम्स पत्रिकामा आएको रिपोर्ट गलत थियो त भनेर सोधिएको प्रश्नको जबाफमा उनले ‘हो’ भने। शनिवार उक्त पत्रिकाले पाँच नाम नखुलाइएका स्रोतहरूलाई उद्धृत गर्दै हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको दाबी गरेको थियो।
समाचारमा उक्त क्षेप्यास्त्र अन्तरिक्षको तल्लो कक्षमा उडेर तोकिएको निशानाभन्दा केही पर खसेको उल्लेख छ। समाचारमा “सो परीक्षणले चीनले हाइपरसोनिक अस्त्रको क्षेत्रमा गजबको प्रगति गरेको अनि अमेरिकी अधिकारीहरूको अनुमानभन्दा त्यो निकै धेरै प्रगति भएको देखाएको” उल्लेख गरिएको छ। चीन, अमेरिका, रुस तथा कम्तीमा पाँच अन्य देशहरूले हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिमा काम गरिरहेका छन्। त्यस्ता क्षेप्यास्त्रले परमाणु क्षमताका हतियार बोक्न सक्छन्।
गत महिना उत्तर कोरियाले पनि नयाँ हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको जनाएको थियो। जुलाईमा रुसले पनि त्यस्तै घोषणा गरेको थियो।
अमेरिकी चिन्ता
यसअघि उक्त पत्रिकामा सो खबर आएपछि अमेरिकी सांसद माइकल ग्यालाहरले चीनले यही गतिमा सैन्य शक्ति विस्तार गर्दै रहने र अमेरिकाले कदम नचाल्ने हो भने एक दशकभित्रै अमेरिकाले चीनसँगको नयाँ शीतयुद्धमा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन्।
अमेरिका र चीनबीच तनावपूर्ण सम्बन्ध रहेको छ। बेइजिङ्ले राष्ट्रपति जो बाइडनको प्रशासनले आफूप्रति दुस्मनीपूर्ण नीति लिएको आरोप लगाएको छ। – बीबीसी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु