भीमदत्त राजमार्ग अवरुद्ध

२०७८ कार्तिक १ गते, सोमबार


काठमाडौं । गएराति देखिको लगातारको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको डोजरले बिहानैदेखि काम गरिरहे पनि वर्षा नरोकिएका कारण पहिरो पन्छ्याउन सकिएको छैन् । राजमार्ग अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा सवारीसाधन र यात्रु अल्पत्रमा परेका प्रहरीले जनाएको छ ।
दुई दिनदेखि लगातार भारी वर्षा भइरहेकाले यहाँको सेती नदी आसपासका नागरिकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएकाले विपद् आउन सक्ने भन्दै नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।
भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमीवायु प्रणालीको संयुक्त प्रभावले सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उक्त शाखाले जनाएको छ । केही स्थानमा मेघगर्जन, चट््याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना भएको हुँदा सम्पूर्ण नागरिक तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रशासनले सूचनासमेत जारी गरेको प्रजिअ विष्टले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार