व्यक्तिपूजा ः व्यक्तिवादको चरम रुप

२०७८ आश्विन २४ गते, आईतवार

हस्तबहादुर केसी

व्यक्तिपूजा व्यक्तिको संस्कारगत प्रवृत्ति हो, उसको विश्वदृष्टिकोणसम्बन्धी विषय हो । कुनै वरिष्ठ नेता वा व्यक्तिको अन्धभक्ति, उसका गुगहरुको अतिशयोक्तिपूर्ण मूल्यांकन, ऐतिहासिक व्यक्तित्वको आवश्यकताभन्दा बढी सम्मान र प्रशंसा गर्ने कुरामा जोड दिने प्रवृत्ति नै व्यक्ति पूजावादी प्रवृत्ति हो । यो व्यक्तिवादको चरम रुप हो । व्यक्ति पूजावादी प्रवृत्तिको दार्शनिक, सैद्धान्तिक आधार आदर्शवादी (आध्यात्मवादी) र संकल्पवादी विश्वदृष्टिकोण हो । यसले व्यक्तिका नकारात्मक पक्षहरू लुकाउने, सकारात्मक पक्षहरुलाई मात्रै देखाउन जोड दिने काम गर्दछ । इतिहासका निर्माता जनता हुन्, सर्वसाधारण जनता हुन् भन्ने कुरा भुलेर, इतिहासका वस्तुगत नियमहरुमाथि पर्दा हालेर महापुरुषहरुले इतिहासको निर्माण गर्छ भन्ने धारणा फैलाउछ ।

यस प्रवृत्तिले कम्युनिस्ट पार्टीलाई, समाजको आमूल परिवर्तन गर्ने तथा क्रान्तिको नेतृत्व गर्ने र क्रान्तिपश्चात् नयाँ जनवादी तथा वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक साम्यवादी आदर्श समाजको निर्माण गर्ने सवालमा गम्भीर क्षति पु¥याउँछ । व्यक्तिपूजा प्रवृत्ति अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा र नेपाली कम्युनिस्ट आन्दोलनमा चर्काे रुपले अभिव्यक्त भएको पाइन्छ । यो प्रवृत्ति क्रान्तिकारी कम्युनिस्ट पार्टी (माओवादी) पार्टीहरुमा र गैरकम्युनिस्ट पार्टीहरु, नामधारी कम्युनिस्ट पार्टीहरु तथा कम्युनिस्ट आवरण भित्रका कम्युनिस्ट नेताहरुमा समेत जनवादी तथा समाजवादी संस्कृति र संस्कारविनाका व्यक्ति र कार्यकर्ताहरुले बढी उछाल्ने गरेको पाइन्छ ।

 नेपाली कम्युनिस्ट आन्दोलनमा मूलतः नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा सञ्चालन गरिएको महान् दस वर्षे जनयुद्धको समयमा नेतृत्व केन्द्रीकरणका नाममा श्रद्धावाद र व्यक्तिपूजालाई बढी प्रयोग गरिएको थियोे । यतिसम्म कि मालेमावादको विकासको नाममा ‘प्रचण्डपथ’ को माओवादी अध्यक्ष प्रचण्डलाई ‘प्रचण्डपथ’ को पगरी गुथाइएको थियो । पछि प्रचण्डले कथित प्रचण्डपथको पगरी बागमती नदीमा फ्याँकेर पहिले आफैँले प्रतिक्रियावादी घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र पसेर नेपाली माओवादी आन्दोलनबाट विलिन भएका थिए ।

नेपालको सन्दर्भमा सबैभन्दा बढी व्यक्तिपूजाको प्रयोग तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डमाथि गरिएको थियो भने अहिले प्रतिक्रियावादमा पतन भइसकेको नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि चरम व्यक्तिपूजा प्रयोग गरिएको छ । यस अतिरिक्त अहिले अन्य कम्युनिस्ट पार्टीका नेताहरुमा पनि व्यक्तिपूजा गर्ने प्रवृत्ति उत्कर्समै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु