बहसको निष्कर्ष : जनमतसंग्रह र वैज्ञानिक समाजवाद

२०७८ आश्विन १८ गते, सोमबार

विष्णु पन्त

१. एकीकृत जनक्रान्ति ः कार्यदिशा पनि र सिद्धान्त पनि

नेपाल कम्युनिष्ट पार्टीले खैरहनी–८, पर्सा, चितवनमा देशैभरीका अगुवा नेता तथा कार्यकर्ताहरुको एउटा ऐतिहासिक केन्द्रिकरण सम्पन्न गरेको छ । धेरैको विचारमा यो महाधिवेशन पछिकै ठूलो र महत्वपूर्ण केन्द्रिकरण हो । प्रतिबन्धको पेचिलो कालरात्री पार गर्दै तीन बुँदे सहमति पछि आयोजित उक्त कार्यक्रम ज्यादै महत्वपूर्ण र महत्वाकांक्षी चरित्रको थियो नै । उक्त कार्यक्रमको नाम ‘केन्द्रिय वैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रम’ भन्ने रहेको थियो र आयोजकका रुपमा पार्टीको केन्द्रीय समिति रहेको थियो । शुरुमा तीन दिनका लागि आयोजना गरिएको भए पनि छलफल र बहसको गाम्भीर्यताले गर्दा चार दिनमा मात्र कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको अध्यक्षता महासचिव विप्लवद्वारा गरिएको थियो भने सञ्चालन पार्टी प्रवक्ता प्रकाण्डद्वारा गरिएको थियो । स्वागत मन्तव्य कञ्चनद्वारा राखिएको थियो भने कार्यक्रमको अनुगमन तथा व्यवस्थापन सचिवालयसहित महासचिवद्वारा गरिएको थियो । २०७८ असोज ११ गते देशैभरिबाट उपस्थित नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै विप्लवले भन्नुभएको थियो, ‘हामी १२ जना कमरेडहरुको रगत अनि २५ सयजनाको जेलनेल संघर्षको मूल्य चुकाएर आज यो ठाउँमा आएका छौं ।’ कार्यक्रमको अध्यक्षता गर्दै राखिएको विप्लवको मन्तव्य निकै भावुक र विजयीभावको देखिन्थ्यो । महासचिव विप्लवको मन्तव्यको जोड क्रान्तिका ४ आधारमा थियो । विप्लवको संश्लेषण थियो, ‘हामी वा क्रान्ति विजय हुने चार आधार हुन्– १. सही विचार, २. क्रान्तिकारी पार्टी, ३. सही कार्यदिशा र ४. प्रयोग गर्ने पार्टी पंक्ति ।’ कार्यक्रमको प्रारम्भ गर्दै प्रवक्ता प्रकाण्डले भन्नुभएको थियो, ‘क्रान्तिको मूल्य रगत हुन्छ तर कमभन्दा कम रगत चुक्ता गरेर विजयी बन्नेतर्फ हामीले सोच्नुपर्छ ।’ कार्यक्रममा आफ्नो संक्षिप्त स्वागत मन्तव्य राख्दै कञ्चनले भन्नुभएको थियो, ‘प्रगतिशील संयुक्त सरकार र जनमत संग्रह वैज्ञानिक समाजवाद स्थापना गर्ने हतियार हो र यसलाई धारिलो पार्दै जानुपर्छ ।’ त्यसपछि कार्यक्रमलाई रिपोर्टिङ्गतर्फ लगिएको थियो र तीन दिनसम्म एक सय १५ जना प्रतिनिधिहरुले आ–आफ्ना धारणा, तर्क र दृष्टिकोणहरु राखेका थिए । तीन दिनसम्म चलेको रिपोर्टिङ्ग र बहसले पार्टीले प्रयोग गरेको उच्च जनवादलाई प्रतिबिम्बित गर्दथ्यो । जहाँ सबैले खुलस्त रुपमा आफ्ना धारणा, विचार, आलोचना र सुझाबहरु राखेका थिए । कार्यक्रमको सुन्दर पक्ष भनेकै विचार, तर्क, दृष्टिकोण र आलोचनाहरुको केन्द्रिकरण थियो । बहसको केन्द्रमा क्रान्ति थियो भने बहसमा सजातीय वा मित्रतापूर्ण प्रतिस्पर्धाको एउटा अनुपम स्वाद भेटिन्थ्यो । अन्तिम दिन अर्थात् असोज १४ गते महासचिव विप्लवद्वारा केन्द्रीय समितिमा प्रस्तुत गरिएको राजनीतिक प्रस्तावको वाचन गर्ने काम प्रकाण्डद्वारा भएको थियो । तीन बुँदे सहमति एकीकृत जनक्रान्तिको निरन्तरता हो भन्दै प्रकाण्डको तर्क थियो– कार्यनीतिक गतिशीलता आजको आवश्यकता हो र नयाँ निर्णय तथा नवीन कार्यनीतिहरुको विकास गरेर मात्र क्रान्ति सफल हुनसक्छ, समाजको गतिअनुसार नयाँ कार्यनीतिहरुको विकास हुनुपर्छ ।

कार्यक्रममा आफ्नो प्रशिक्षण मन्तव्यको शुरुवात गर्दै विप्लवले रिपोर्टिङ्गलाई ज्ञानको केन्द्रिकरण ज्ञानको अनुसन्धान वा विचारको अनुसन्धानको विधिका रुपमा व्याख्या गर्नुभएको थियो । लामो व्याख्या गर्दै पार्टीभित्र सजातीय संघर्ष वा प्रतिस्पर्धाको विकास हुन्छ अर्थात् त्यो मित्रतापूर्ण अन्तरविरोध हुन्छ । पार्टीभित्रै वर्ग संघर्षलाई स्थापित गर्न सकिँदैन किनकि पार्टी भनेको सजातीहरुबीचको एकता हो । पार्टीको उपलब्धिमाथि जोड दिँदै विप्लवद्वारा अगाडि भनिएको थियो, ‘पार्टी क्रान्तिकारी शक्तिका रुपमा स्थापित भएको छ ।’ पार्टीको कार्यदिशा स्थापित भएको छ । वास्तवमा एकीकृत जनक्रान्ति एकातिर कार्यदिशा हो भने अर्कोतिर ज्ञानको संश्लेषण गर्ने सिद्धान्त वा विचार पनि हो । विप्लवको तर्क थियो, ‘वस्तु जति गतिशील हुन्छ, ज्ञान पनि त्यत्तिकै गतिशील हुन्छ ।’ विप्लवको एउटा महत्वपूर्ण संश्लेषण थियो, ‘बुर्जुवा संस्कार हुन्छ आफ्नैलाई गाली गरेर सिध्याउने ।’ हामीले आफ्नैलाई सिध्याउने संस्कृति वा प्रवृत्तिलाई बोकेर हिँड्नु हुँदैन । आफ्नाप्रति सहयोगात्मक र रचनात्मक सहयोग गर्ने संस्कृतिको विकास गर्नुपर्छ । विप्लवको अर्को महत्वपूर्ण संश्लेषण थियो, ‘एकीकृत जनक्रान्तिको सार हो ः जनताको तागत र पार्टीको तागतलाई एकठाउँमा मिलाउन सकेमा नेपालमा क्रान्ति हुन्छ ।’ जनता र पार्टीलाई एक ठाउँमा ल्याउने नीतिहरुलाई हामीले विकास गर्नुपर्छ । जनतालाई केन्द्रमा राख्न सकेमा मात्र पार्टी जीवित बन्न सक्छ । तीन बुँदे सहमति जित हो या हार भन्ने प्रसङ्ग कोट्याउँदै विप्लवको तर्क थियो, ‘तीन बुँदेमा कुनै शब्द पनि क्रान्तिको विपरित छैन र आजको दिनमा हतियारको विषय मुख्य होइन । राजनीतिको विषय मुख्य हो ।’ विप्लवको स्पष्ट संश्लेषण छ कि कार्यनीतिलाई यान्त्रिकतामा बुझेर क्रान्ति हुँदैन । विप्लवको तर्क थियो, ‘अनुशरणबाट क्रान्ति हुँदैन ।’ वास्तवमा आजसम्म भएका कुनै पनि क्रान्ति अर्काको जस्ताको त्यस्तै अनुशरणबाट भएका छैनन् । समाजवाद असफल हुनुको मुख्य कारणका बारेमा चर्चा गर्दै विप्लवको निष्कर्ष थियो, ‘समाजवादले शासक जन्मायो तर श्रमिक जन्माएन ।’ पार्टीलाई आत्मनिर्भर अर्थतन्त्रमा ढाल्न नसके हामीभित्रै पनि दलालीकरणको प्रभाव बढ्न सक्ने भन्दै त्यसैकारण पार्टी उत्पादनमा होमिने बताउनु भएको थियो । विप्लवको तर्क छ, ‘माक्र्सवादलाई जीवन्त बनाउन सकेमात्र त्यसको प्रयोग सही हुन्छ ।’

२. क्रान्ति भनेको हस्तान्तरण पनि हो

कार्यक्रममा आफ्नो क्षेत्रको रिपोर्टिङ्गसहित मन्तव्य राख्ने एक सय १५ जनामध्ये अधिकांश नौजवान युवा पंक्तिका नेताहरु थिए । युवाहरुको नेतृत्व वा केन्द्रीकरणलाई संश्लेषण गर्दै विप्लवले भन्नुभएको थियो, ‘क्रान्ति भनेको हस्तान्तरणको प्रक्रिया पनि हो ।’ हामीले सकेनौं भने पनि क्रान्ति हुन्छ र त्यो दायित्व युवाहरुको हुन्छ । त्यसकारण युवाहरुलाई पार्टीमा बढीभन्दा बढी गोलबद्ध गर्नुपर्छ । क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार नेतृत्व हस्तान्तरणको प्रक्रिया पनि अगाडि बढ्छ ।

३. सत्यलाई हेप्नु हुदैन

माओले दिएको एउटा प्रशिक्षणको प्रसङ्ग कोट्याउँदै महासचिव विप्लवले भन्नुभएको थियो, ‘सत्यलाई हेप्नु हुँदैन ।’ हाम्रो विश्वास हो कि सत्यको जीत हुन्छ हुन्छ । सत्यलाई ढाकछोप गरेर शासन सत्ता हातमा लिन सकिन्छ भन्ने भ्रममा बस्नु हुँदैन । उहाँले भन्नु भएको थियो, ‘हामीले प्रचण्ड बाबुरामलाई पनि धेरै पटक भनेका थियौं, ‘सत्यलाई हेप्ने काम नगर्नुस् ।’’

४. वैज्ञानिक समाजवादको नया विकास

प्रशिक्षणको क्रममा विप्लवको जोड थियो – चीन वा उसको वा परम्परागत मात्र होइन नयाँ विशेषतासहितको समाजवाद हामीले परिकल्पना गरेका छौं । समाजवादको उद्देश्य बढीभन्दा बढी जनतालाई अधिकार दिनु हुनुपर्दछ ।

५. एकीकृत जनक्रान्ति विश्वक्रान्तिको पनि दृष्टिकोण हो

प्रशिक्षणका क्रममा महासचिव विप्लवको भनाई थियो – हामीले नेपालमा मात्र होइन आजको विश्वमा कसरी क्रान्ति सम्पन्न गर्न सकिन्छ भनेर सोच्नुपर्दछ ।

६. कार्यक्रमको उत्साहपूर्ण समापन

वास्तवमा हलभित्र प्रवेश गर्दा सर्वत्र प्रश्नै प्रश्न, निराशा, आशंका र अविश्वासहरुको वर्षा नै भएजस्तो भान हुन्थ्यो । रिपोर्टिङ्गका क्रममा पनि थुप्रै प्रश्नहरु अविश्वासहरु र जिज्ञासाहरुको प्रक्षेपण भएजस्तो भान हुन्थ्यो । विप्लवको प्रशिक्षण पछि सबै प्रश्नहरुको हल भएको देख्न सकिन्थ्यो । पार्टीले विकास गरेको नयाँ कार्यनीतिको बारेमा सबैलाई विश्वास भएको देख्न सकिन्थ्यो । खासगरी तीन बुँदे सहमति अनि पार्टीले अगाडि सारेको प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको बारेमा उत्पन्न भएका अस्पष्टताहरुको निराकरण भएजस्तो भान हुन्थ्यो । अब पार्टी एकढिक्का भएर एकरुपताका साथ नयाँ कार्यक्रममा होमिने प्रष्टै भएको छ । धेरैको टिप्पणी थियो, ‘पार्टी त अब बन्यो बन्यो ।’ नेतृत्वमा देखिएको आत्मविश्वास र निष्ठाले उपस्थिति सबैलाई विश्वस्त बनाएको थियो ।

प्रतिक्रियाहरु