माक्र्सवादको विकास र वैज्ञानिक समाजवादको भविष्य

२०७८ आश्विन १७ गते, आईतवार
हस्तबहादुर केसी

१) माक्र्सवादको विकास

कार्ल माक्र्स (१८१८ – १८८३) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५) द्वारा माक्र्सवादको प्रतिपादन भएको आज १७३ वर्ष पूरा भइसकेको छ । यस ऐतिहासिक अबधिमा माक्र्सवाद विज्ञान भएका कारण धेरै विकसित भइसकेको छ । तसर्थ आज सर्वहारावर्गले आफ्नो वर्गीय मुक्तिको सिद्धान्तको प्रतिपादन र यसको विकासका कामलाई तीन ऐतिहासिक चरणमा सम्पन्न गरिसकेको छ, ती चरण हुन – माक्र्सवादी चरण, लेनिनवादी चरण र माओवादी चरण । अतः सर्वहारावर्गको मुक्तिको सिद्धान्तको जन्म र विकासका दृष्टिले यी तीनवटै चरणको विशेष ऐतिहासिक महत्व रहेको छ । सन् १८४८ मा माक्र्स र एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन भएको थियोे । अर्थात् माक्र्सवादको जन्म पुँजीवादको विकासको प्रारम्भिक अवस्थामा भएको हो । माक्र्सले जर्मन शास्त्रीय दर्शन, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादलाई संश्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो । माक्र्सवाद विश्व क्रान्तिको इतिहासमा एक युगान्तकारी तथा ऐतिहासिक परिघटना थियोे । यसका साथै लेनिनवादी तथा माओवादी चरणमा पनि यस प्रकारको सिद्धान्तका तीनवटै संघटक अंगको विकास गर्ने काम भएको छ ।

तत्कालीन विश्व परिस्थितिमा माक्र्स–एंगेल्सले सर्वहारावर्गको नेतृत्वमा समाजवादी क्रान्ति एउटा देशमा मात्रै नभएर इङ्गल्याण्ड, फ्रान्स, जर्मनी जस्ता औद्योगिक विकास भएका देशहरूमा एक साथ हुने कुरा बताउनुभएको थियो । तर, लेनिनले साम्राज्यवादको उदयकको स्थितिमा ध्यान दिँदै त्यसको अनिवार्य परिणाम युद्ध हुने र साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला बन्न सक्ने स्थितिको विश्लेषण गर्दै एउटा देशमा समाजवादको जीत हुन सक्तछ भन्ने मान्यता प्रस्तुत गर्नु भयो र आफ्नै नेतृत्वमा रुसमा सशस्त्र जनविद्रोहमार्फत् सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) मा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरिएको थियोे । र, लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद बन्न पुग्यो । यसै प्रक्रियामा समग्रमा भन्नुपर्दा लेनिनवाद माक्र्सवादको प्रयोग र विकास मात्र होइन सिद्धान्त र व्यवहारबीच द्वन्द्वात्मकता कायम गरी विश्व क्रान्तिको इतिहासमा नयाँ अध्याय थप्न पनि शानदार रुपमा सफल रहेको छ ।

त्यसैगरी, माओ त्सेतुङको नेतृत्वमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनमा सन् १९४९ अक्टोबर १ मा नयाँ जनवादी क्रान्ति सम्पन्न गरिएको थियोे र समाजवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाइएको थियो । अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देशहरूमा सर्वहारावर्गको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवादी क्रान्तिलाई सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तरता दिँदै महान् सर्वहारा साँस्कृतिक क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक प्रक्रियामा माओद्वारा प्रतिपादित माओवाद चीनमा मात्र होइन, विश्व क्रान्तिकै लागि समेत माओवादको विशिष्ट स्थान र योगदान रहेको छ ।

२) दर्शनको फा“टमा माक्र्स – एंगेल्स, लेनिन र माओको योगदान

दार्शनिक फाँटमा माक्र्स – एंगेल्स, लेनिन र माओको अतुलनीय योगदान रहेको छ । माक्र्स – एंगेल्सले आदर्शवाद र अधिभूतवादका विरुद्ध भीषण संघर्ष गर्दै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जुन विकास गर्नु भयो त्यसको विश्व कम्युनिस्ट आन्दोलनमा युगान्तकारी महत्व रहेको छ । माक्र्सवादले दर्शनलाई प्रकृति, समाज र चिन्तनका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञानका रुपमा गुणात्मक ढंगले विकसित तुल्याउने काम गरेको छ । यी कुराहरु लेखिरहँदा दर्शनको ऐतिहासिक कार्यभारको कुरा आउँछ, त्यो भनेको दर्शनको ऐतिहासिक कार्यभार दुनियाँ बुझ्नु मात्र नभई मुख्यतः बदल्नु हो बन्न गएको छ । क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवादी दर्शनको अध्ययन गर्दा माक्र्स – एंगेल्सद्वारा रचित पवित्र परिवार, दर्शनको निर्धनता, फायरवाखको निबन्ध, कम्युनिस्ट घोषणापत्र, राजनीतिक अर्थशास्त्रको समीक्षाको एक प्रयास सम्बन्धि भूमिका, पुँजी प्रथम खण्डको भूमिका, फ्रान्समा वर्गयुद्ध, लुई बोनापार्टको अठारौं ब्रुमेर, फ्रान्समा गृहयुद्ध, लुडविक फायरवाख, प्रकृतिको द्वन्द्ववाद, ड्युहरिङ्ग – मतखण्डन लगायतका पुस्तकहरुमाथि विशेष ध्यान दिएर पढ्न जरुरी छ । साथै माक्र्सवादी दर्शनलाई माक्र्सवादी राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समग्रतामा जोडेर अध्ययन गर्न र बुझ्न आवश्यक हुन्छ ।

त्यस्तै लेनिनद्वारा रचित – के गर्ने ?, ‘कार्ल माक्र्स, माक्र्सवाद र संशोधनवाद, जुझारु भौतिकवाद, भौतिकवाद र अनुभवसिद्ध आलोचना र दार्शनिक नोटबुक । त्यस्तै कमरेड माओद्वारा रचित – व्यवहारवारे, अन्तर्विरोधबारे, जनताको बीचका अन्तर्विरोधहरुको सही सञ्चालन, सही विचार कहाँबाट आउँछ ? आदि रहेका छन्् ।

३) माक्र्सवादमाथि लगाइएका विभिन्न आरोपहरु

सन १८४८ मा माक्र्सवादको जन्म भयो । माक्र्सवादको जन्मसँगै तमाम प्रतिक्रियावादी तथा अवसरवादीहरुद्वारा माक्र्सवादमाथि अनेकौं अनर्गल तथा झुटा आरोपहरु लगाउने काम हुँदै आएको छ । विशेषगरी ती आरोपहरु यी हुन्– जडसूत्रवादी माक्र्सवाद, अधिभूतवाद, आर्थिक निर्धारणवाद, एकदलीय अधिनायकवाद, सर्वसत्तावाद र रुढीवादी माक्र्सवाद आदि रहेका छन्् । यी आरोपहरुको माक्र्स – एंगेल्स, लेनिन, स्टालिन, माओ, हो ची मिन्ह लगायतका विश्व कम्युनिस्ट आन्दोलन महान् नेताहरु र विश्वभरका क्रान्तिकारीहरुले विरोध गर्दै माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्ने काम हुँदै आएको छ ।

४) आजको युग र वैज्ञानिक समाजवादको भविष्य

आजको युग भूमण्डलीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । सोभियत संघ, चीनलगायत विश्वका कतिपय देशहरूमा सञ्चालन आएका समाजवादी देशहरूमा क्रान्तिपश्चात् विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । त्यो अवस्था अहिलेसम्म पनि यथावत छ ।

आज वैज्ञानिक तथा प्राविधिक क्रान्ति उत्पादन शक्तिको विकासले क्रान्तिकारी शक्तिको विकास भएको छ । एक ध्रुवीय अमेरिकी साम्राज्यवाद बहुध्रुवीय हुन पुगेको छ । पुँजीवादी तथा साम्राज्यवादीहरुबीच वित्तीय संकट पैदा भएको अवस्था छ र यसले उनीहरूका बीचमा संरक्षणवादको संकट समेत पैदा भएको अवस्था छ । साथै आज विश्व मानव समुदायमा साम्राज्यवाद विरोधी भावनाको विकास भएको छ । एकातिर यस प्रकारको अवस्था छ भने अर्कोतिर क्रान्ति र मुक्तिका सचेतन प्रयासहरु पनि भइरहेका छन्् । आज उत्पीडित मुलुकहरुका जनताले दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवर्ग र साम्राज्यवाद तथा विस्तारवादका विरोधमा नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउँदै आएका छन्् । साथै उत्पीडित मुलुकहरुले साम्राज्यवादको विरोध र राष्ट्रिय मुक्तिको पक्षमा सशक्त रुपमा आवाज उठाउँदै आइरहेका छन्् । यसरी आज विश्वका जनताका लागि वैज्ञानिक समाजवाद नै मुक्त र सुन्दर भविष्यको एक मात्र आशाको केन्द्र बन्न गएको छ ।

नेपाल, टर्की, फिलिपिन्स, पेरु, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, भेनेजुयला, अफगानिस्तान आदि देशहरूका माओवादी क्रान्तिकारीहरुले नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेका छन्् भने भारतमा भाकपा (माओवादी) केही वर्ष पहिलेदेखि सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको छ ।

निचोड

यी माथिका उपर्युक्त तथ्यहरुबाट के निष्कर्षमा पुग्न सकिन्छ भने वैज्ञानिक समाजवादको भविष्य समुज्वल छ । आजको एकाइसौँ शताब्दीका विश्वका सचेत जनसमुदायको आशा तथा आदर्श र संकटग्रस्त साम्राज्यवादको विकल्प वैज्ञानिक समाजवाद बाहेक अरु केही हुन सक्तैन ।

(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु