सिक्ने–सिकाउने विधि बदलौं

डा. शिवराज पण्डित २०७८ आश्विन १० गते, आईतवार

कोभिड महामारीका कारण बन्द भएका विद्यालयहरु झण्डै डेढ वर्षपछि खुल्दैछन् । यद्यपि सरकारले महामारीका कारण बन्द भएका पर्यटन उद्योगहरु, सिनेमा घरलगायत अन्य व्यवसायिक क्षेत्रहरु खोल्न दिने निर्णय गरे पनि विद्यालयका हकमा भने औपचारिक निर्णय गरेको छैन । महामारीका बीचमा संचालनमा ल्याइएको वैकल्पिक सिकाई विधि प्रभावकारी हुन सकेन । झण्डै ८० प्रतिशत बालबालिकाका सिकाई पहुँचबाट बाहिर रहे । यो परिवेशका बीच केन्द्रीय कोभिड संकट व्यवस्थापन समितिले कोरानाको अवस्था हेरी स्थानीय तहको समन्वयमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सकिने वताएको छ । शिक्षा मन्त्रालयले विद्यालय संचालन कार्य ढाँचा निर्माण गर्ने बताए पनि अझै निर्माण गरेकोे छैन । केन्द्रको निर्देशनअनुसार जिल्ला कोभिड संकट व्यवस्थापन समितिहरुले कतिपय स्थानीय तहहरुलाई विद्यालय संचालन गर्न अनुमति दिएका छन् भने कतिपय स्थानीय तहहरु पर्ख र हेरको अवस्थामा देखिन्छन् । तर पनि भाद्र २० गते देखि देशका अधिकांश सामुदायिक र संस्थागत विद्यालयहरु संचालन हुने देखिन्छ ।

डेढ वर्ष विद्यालयहरु विद्यालय संचालनमा आउन नसक्दा बालबालिकाको सिकाइ उपलब्धिमा अपुरणीय क्षति भयो । त्योसँगै लामो बन्दाबन्दीले बालबालिकाकोे शारीरिक, मानसिक र मनोवैज्ञानिक क्षमतासमेत प्रभावित भयोे । सिकाइ उपलब्धि मापन गर्ने संयन्त्रहरु निष्कृय बनाइए । विद्यालयहरु संचालनमा आएपछि अभिभावक र विद्यार्थीहरुमा खुसी छाएको छ । विद्यालयका सामु थुप्रै चुनौति र प्रश्नहरु सोझिएका छन् । सिकाई कसरी प्रभावकारी बनाउने ? बन्दाबन्दीले पु¥याएको क्षतिको परिपुरण कसरी गर्नेे ? सरोकारवालाहरुलाई कसरी जिम्मेवार बनाउने ? महामारीको अवधिमा अभ्यासमा ल्याइएका वैकल्पिक सिकाई सहजीकरणका माध्यम (भर्चुयल तथा अनलाइन) बाट प्राप्त अनुभवहरुलाई पुँजीकृत गरी भौतिक उपस्थितिमा हुने पठन–पाठनमा कसरी निरन्तरता दिने र एकीकृत गर्ने ? सिक्ने र सिकाउने तरिकामा आएको परिवर्तनलाई शिक्षण सिकाईमा कसरी लागू गर्ने ? आदि ।

नेपालमा शिक्षण सिकाई सहजीकरणका सन्दर्भमा प्रयोगमा ल्याएका सिकाइ प्रविधिहरु अनुपयोगी र असान्दर्भिक बन्दै गएका थिए । शिक्षण सिकाईलाई प्रभावकारी बनाउने वैकल्पिक विधि र प्रविधिहरुको विषयमा लामो समयदेखि बहसहरु चल्दै आएका थिए । कोभिडका कारण विद्यालयहरु बन्द भएपछि स्वभाविक रुपले ती बहसले सार्थकता पाउन सक्ने अवस्था रहेन । बन्दाबन्दीको असहजताका बीचमा सिकाइ सहजीकरण गर्ने अभिप्रायले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी ग¥यो । यसले सिकाई सहजीकरणमा प्रयोगमा ल्याइएका वैकल्पिक विधिलाई कानुनी मान्यता दियो । तर, पनि वैकल्पिक विधिका आधारमा संचालन भएको शिक्षण सिकाइ प्रभावकारी हुन सकेन । झण्डै ८० प्रतिशतभन्दा बढी बालबालिकामा वैकल्पिक शिक्षाको पहुँच पुग्न सकेन । तर, पनि नेपालको सन्दर्भमा प्रयोगमा ल्याइएको वैकल्पिक विधि र प्रविधि सिकाइका लागि उपयोगी नै सावित भयो । यसले केही नवीतम् अनुभव र अभ्यासहरु छाडेका छ ।

पश्चिमा देशहरुमा विद्यालय सिकाइका सन्दर्भमा पहिलेदेखि नै केही नवीतम् मान्यता र धारणाहरु विकसित हुँदै आएका थिए, छन् । पश्चिमा शिक्षा दार्शनिकहरुले के मान्यता राख्दै आएका छन् भने, स्कुल सिक्नका लागि हो, बाँकी दुनियाँ जिउनका लागि हो । सिक्नु र जिन्दगी जिउनु अलग र बेग्लाबेग्लै कुरा हुन । सिकाइका सन्दर्भमा पनि हाम्रा गलत मान्यताहरु छन् । हामी बालबालिकालाई स्वयम् सिक्ने कुरामा विश्वास गर्दैनौं, उ स्वयम् सिक्नका लागि लायक छैन भन्दछौं । यो धारणा गलत हो ।

हामी बालबालिका भीरु, आज्ञाकारी, डरछेरुवा, कायर भेडा जस्ता बनाउन चाहन्छौँ कि मुक्त स्वतन्त्र, आत्मविश्वासयुक्त मानिस ? हामीलाई भेडा चाहिएको हो भने हाम्रा स्कुलहरुको वर्तमान अवस्था त्यसका लागि एकदमै उपयुक्त छ । होइन हामीलाई मुक्त स्वतन्त्र आत्मविश्वासयुक्त र सृजनशील मानिस चाहिएको हो भने हामीले केही ठूला परिवर्तन गर्नु पर्दछ भन्ने मान्यता पश्चिमा देशका शिक्षाविद्हरुले धेरै पहिलेदेखि राख्दै आएकोे देखिन्छ ।

पुस्तकीय ज्ञान र सिकाइका सन्दर्भमा पनि पश्चिमा देशका मान्यताहरु हाम्राभन्दा फरक छन् । शिक्षाविद् मार्क टेवनको विचारमा, विरालोलाई एकपल्ट तातो तावामा बसाई दिने हो भने त्यसपछि उ तावादेखि भाग्दछ । यो विरालोको सन्दर्भ पनि सही हो विद्यार्थीको हकमा पनि । बालबालिकालाई ताता पुस्तकमा बसाइयो भने पुस्तकका कारण तिनले अपमान र दुःख झल्नु प¥यो भने उनीहरुले पुस्तकलाई टाढैबाट नमस्कार गर्ने निर्णय गर्दछन् । स्कुल र कक्षाहरुमा वास्तवमा नचाहिने कुरा मै बढी ध्यान दिइन्छ, बच्चाको रुची, क्षमता र श्रृजनात्मकताले त्यहाँ पटकै महत्व पाउँदैनन् । विद्यालयहरुले शिक्षालयको काम गरेका छैनन् जेलको काम गरिरहेका छन् । यत्रतत्र स्कुल कलेजको बिगबिगी छ, जसलाई पढाईको कारखानामा परिणत गरिएको छ । तिनले केटाकेटीलाई बारम्बार दवावमा राख्दछन् । विद्यार्थीहरुको वृद्धि, चरित्र र क्षमताको समग्र विकास गर्नेतिर लाग्नुको सट्टा यी महानुभाव आफ्नो हितका निम्ति उनीहरुलाई अहंकारप्रेरित प्रतिस्पर्धामा होमिरहेका छन् जसको उद्देश्य स्वयम् धन र प्रतिष्ठा आर्जन गर्नु हो । शिक्षण संस्थाले विद्यार्थीहरmको हितमा काम गर्दछन् भन्ने कुरा आज सैद्धान्तिक गफमा सीमित भएको छ । विद्यार्थीको एउटा काम हुनेछ बढीभन्दा बढी अंक ल्याएर यी शिक्षण संस्थाहरुलाई गौरवान्वित गरिदिनु । सार्वजनिक र निजी शिक्षालयको सन्दर्भमा व्यक्त पश्चिमा शिक्षाविद्हरुको उपरोक्त धारणा नेपालको सन्दर्भमा हुबहु मेल खान्छ ।

गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय सिकाई पहिलो शर्त हो । गुणस्तरीय सिकाइका लागि सिकाइमा सहभागिता, अन्तरक्रिया र सिकाईमा लगानी र सोच्ने समय र अभ्यास आवश्यक शर्तहरु हुन । शान्त रुपमा हात बाँधेर बस्ने विद्यार्थी होइन, प्रश्न गर्ने र छलफलमा सहभागी हुने विद्यार्थीले नै राम्ररी सिक्न सक्दछन् । यसका लागि विद्यार्थीले आफ्ना साथी र शिक्षकहरुसँग राम्रोसँग अन्तरक्रिया गर्ने वातावरण निर्माण गर्ने काम विद्यालयको हो । विद्यार्थीको सिर्जनशीलता, संज्ञान, प्राज्ञिक सीप, सोच्ने क्षमता, लेखाई पढाई तथा सामाजिक सीपहरुको विकास नगरेको शिक्षाले सुगा विद्यार्थी मात्र उत्पादन गर्दछ ।

कोभिड महामारीले चौतर्फी क्षति पुरायो । अन्य क्षेत्रको तुलनामा शिक्षामा अझ बढी क्षति पुग्यो । विद्यालय शिक्षा १० औं वर्षपछि परेको शिक्षा सरोकारवालाहरुको अनुमान छ । विद्यालय शिक्षामा परेको यो तहको क्षतिको परिपुरण एउटा व्यक्ति वा निकायबाट मात्र संभव देखिँदैन । सम्वद्ध सबै पक्षको ध्यान जान जरुरी छ । त्यसमा पनि स्थानीय तह अझ बढी जिम्मेवार र जवाफदेही हुन जरुरी छ । किनकि संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको छ ।

बालबालिकालाई स्वयम् सिक्ने वातावरण निर्माण गरौं । सिक्नका लागि उ स्वयम् लायक छ भन्ने मान्यता राखौं । बालबालिकालाई ताता पुस्तकमा बसाईदै आएको छ, पुस्तकका कारण अपमान र दुःख झल्नु पर्ने परिस्थिति बन्द गरौं । अमेरिकन शिक्षाविद् मार्क टेवनले भने जस्तो बालबालिकाको दिमागमा पुस्तकलाई टाढैबाट नमस्कार गर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरौं । पुस्तकीय ज्ञानको अलवा दुनियाँमा जिउने मार्गमा आइपर्ने प्रतिकुलतासँग जुध्ने कला सिकाउँ । विद्यालय र कक्षाहरुमा चाहिने कुरामा मात्र बालबालिकालाई आकर्षित गरौं । बालबालिकाको रुची, क्षमता र श्रृजनात्मक क्षमता वृद्धि गर्ने विधि अवलम्वन गरौं । शिक्षण सिकाइमा वालमनोविज्ञानलाई उच्च प्राथमिकता दिउँ । बालबालिका भीरु, आज्ञाकारी, डरछेरुवा, कायर भेडा जस्ता हुने भन्ने परम्परागत शैक्षणिक मान्यता अन्त्य गरौं । मुक्त स्वतन्त्र, आत्मविश्वासयुक्त स्वभाभिमानी, आत्मनिर्भर र सभ्य नागरिक निर्माणका लागि सिक्ने, सिकाउने विधि बदलौ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु