महासचिव विप्लवद्वारा विद्यार्थीलाई विजयको भाव बोकेर जनताको घरदैलोमा जान निर्देशन

२०७८ आश्विन ८ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले युवा विद्यार्थीलाई पोखराबाट विजयको भाव बोकेर जनताको घरदैलोमा जान निर्देशंदिदै जनतालाई श्रमिक वर्गको विजय निश्चित रहेको सन्देश दिन आह्वानसमेत गरेका छन् । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा विद्यार्थीलाई प्रशिक्षण दिँदै महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी हारेर नभई जितेर वार्ता र सहमतिमा आएको पनि प्रस्ट पारे । क्रान्तिकारीहरूलई दुई महिनामै सिध्याइदिन्छौँ भन्ने दलाल पुँजीवादी शासकहरू क्रान्तिको चाप र जनताको तिरस्कारका कारण आफूआफूमै लडेर सकिन थालेपछि र चरम सङ्कटको भूमरीमा परेपछि नेकपासँग वार्ता गर्न बाध्य भएको सन्दर्भ राख्दै महासचिव विप्लवले केही महिनाअघिसम्म आकाशका ताराहरू हेरेर रात कटाइरहेका कमरेडहरू आज जनतामा सन्देश लग्न यसरी भेला हुने अवस्था बन्नु क्रान्तिकारीको विजयको सङ्केत रहेको धारणा पनि राखे । सत्ता पक्ष वार्ता र सहमतिप्रति इमानदार नभए के गर्ने भन्ने विषय जनतामा प्रस्ट रहेको पनि विप्लवले बताए । अब किसान, मजदुर, बुद्धिजीवी, महिला, उपेक्षित, उत्पीडित सबै जनसमुदाय यो दलाल पुँजीवादी राज्यसत्ता र त्यसका संरक्षक संसद्वादीहरूबाट वाक्कदिक्क भइसकेकाले जीवनभर श्रमिकहरूलाई दास बनाउने र आफूहरू मस्ती गरिरहने जाल, झेल र शोषणमा टिकेको दलाल पुँजीवादी सत्तालाई जनमतबाटै मिल्काइदिन सकिने महासचिव विप्लवको संश्लेषण थियो ।
जनतामा क्रान्तिको लहर निर्माण गर्न, विजयप्रति विश्वस्त बनाउन सडकसडकमा जनसभाहरू, सांस्कृतिक कार्यक्रमहरू गर्नुपर्ने, त्यसका लागि गाउँदेखि टोलसम्म र सहरबजारदेखि दूरदराजसम्म हजारौँ कलाकार, गायक र स्रष्टाहरू निर्माण गरेर सहर र गाउँको दूरी अन्त्य गरिदिनुपर्ने पनि विप्लवले बताए । उनले भने, ‘साम्राज्यवादका पृष्ठपोषकहरू, पुँजीवादी/दलाल पुँजीवादीहरू, यथास्थितिवादीहरूले गायन र नृत्यका विभिन्न प्रतियोगिता आयोजना गरेर समाजलाई दिग्भ्रमित पारिरहेका छन् । अब क्रान्तिकारी संस्कृतिकर्मी, युवा र विद्यार्थीले पनि विभिन्न किसिमका स्कुल, कलेज, विश्वविद्यालय सबैतिर जनपक्षीय, देशभक्तिपूर्ण गीत–नृत्य प्रतियोगिताहरू गर्नुपर्छ । जनताको दुःखसुखका गीत गाउने, स्वस्थ र स्वच्छ मायाप्रीतिका भावनासमेत व्यक्त गर्ने, सुस्केराहरु सुसेल्ने लहर सिर्जना गर्नुपर्छ । अग्रज, स्थापित तर शिथिल बन्दै गउका जनकलाकारहरूलाई पनि सहभागी गराएर ती सांस्कृतिक कार्यक्रमहरू देखाउनुपर्छ । जनताबीच शक्तिशाली सांस्कृतिक मोर्चा र आन्दोलनहरू निर्माण गर्नुपर्छ ।’
एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनताको घरघर, हृदयसम्म पुर्याएर जीवनव्यवहारमा रूपान्तरण गराउन युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको पनि महासचिव विप्लवले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु