विद्युत प्राधिकरणद्वारा इन्टरनेट र केवल टीभीको तार काट्ने चेतावनी

२०७८ आश्विन ७ गते, बिहीबार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट/केवल टीभी सेवाप्रदायकलाई असोज १५ गतेभित्र नयाँ व्यवस्थाअनुसारको शुल्क तिर्न तथा सम्झौता नवीकरण नगरे तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले बिहिबार एक सूचना जारी गर्दै असोज १५ गतेभित्र परिमार्जित भाडा तिर्न तथा सम्झौता नवीकरण गर्न ताकेता गरेको हो । यसअघि प्राधिकरणले २ पटक सूचना जारी गर्दै सम्झौता नवीकरण गर्दै बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । पुन बिहीबार सूचना जारी गर्दै प्राधिकरणले १५ गतेभित्र सम्झौता नवीकरण नभएमा कुनै पनि समय त्यस्ता सेवाप्रदायकको तार हटाउन सकिने प्राधिकरणले चेतावनी दिएको छ । ‘तोकिएको समयमा नवीकरण नगर्ने तथा भाडा नतिर्ने सेवाप्रदायकको तार कुनै पनि बेला हटाउन सकिने छ। यसको जिम्मेवार सम्बन्धित संस्था हुनुपर्ने छ’ प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ । प्राधिकरणको तथ्यांक अनुसार विभिन्न १२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले ७ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गरेका छैनन । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुहरुले प्राधिकरणले आफूखुशी फाइबरको भाडा बढाएको भन्दै बढेको रकम भुक्तानी नगर्ने जनाउँदै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु