‘जनमत संग्रह गरे वैज्ञानिक समाजवाद आउने निश्चित ‘

२०७८ आश्विन ७ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले  जनमत संग्रह गरे त्यसको परिणाम मान तयार भएको उद्घोष गर्दै  जनमत संग्रह गरे   शतप्रतिशत वैज्ञानिक समाजवादको पक्षमा जनमत आउने ठोकुवासमेत  गरेका छन ।  अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै  महासचिव विप्लवले  सो ठोकुवा गरेका  हुन् । महासचिव विप्लवले   अहिले नेता मात्र नभई ब्यबस्था नै असफल भइसकेकाले यसको विकल्प जनताले खोजिरहेको बताए  । उनले भने – ‘हामीसँग तागत छ, हामी जित्छौं । किनकी हामीसँग जनता छ, सत्यको बाटो छ, न्यायको बाटो छ ।’   महासचिव विप्लवले अहिलेको ब्यबस्थाले समाजवाद नआउने ठोकुवा गर्दै भने – ‘समाजवाद दलदलमा उभिएर आउने चिज होइन, बरु दलदलमा उभिनेहरु आफै भासिने हो । ‘

 यसैगरी   , महासचिव विप्लवले  सरकारले इमानदारीपूर्वक ३ बुँदे सहमति कार्यान्वयन नगरी नेकपामाथि कुनै सर्त थोपर्यो भने घेरा तोडेर जनतामा जाने उद्घोष गर्दै   भने –  ‘तपाईंहरूले सहमति लागू गर्नुभएन भने र अन्य कुनै सर्त थोपर्नतिर लाग्नुभयो भने जनतालाई साथमा लिएर यो घेरा तोड्नेछौँ ।’

यसैगरी , महासचिव विप्लवले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को ५६ अर्बमा ¥याल काढ्नु भन्दा एनसेलको ६५ अर्ब उठाउनतिर लाग्न नेताहरुलाई सुझाव दिएका छन् । उनले विदेशीको डलर ल्याएर देश साट्नुभन्दा बरु आफ्नै देशको फसेको एनसेलको कर उठाउनतिर लाग्न उनले सरकार र दलहरुलाई सुझाव दिएका हुन् । उनले  नेपालका राजनीतिक दलहरु कमिसनको लोभमा एमसिसी ल्याउन लागिपरेको ठोकुवा गर्दै भने –  ‘एमसिसी ल्याउनुको मकसद नेताहरुलाई ५६ अर्बको १० प्रतिशत कमिसन आउँछ । त्यो भनेको ६ अर्ब हुन्छ । त्यो खानलाई हो । ‘

 

 महासचिव विप्लवले एमसिसी जबरजस्ती ल्याइए एमसिसी जलाउनुका साथै त्यो ल्याउनेलाईपनि नछाड्ने चेतावनी दिदै भने, ‘एमसिसी जबरजस्ती लादियो भने त्यो एमसिसी रहनेवाला छैन । त्यो एमसिसी त जल्छ जल्छ, एमसिसी ल्याउनेलाईपनि छाड्दैनौं, त्यसले ठूलो प्रतिरोधको सामना गर्नुपर्छ ।’ उनले एमसिसी राष्ट्रघाती भएको बताए । ‘एमसिसी देश जनताको बिरुद्धमा छ, त्यो ल्याउनु हुँदैन, ल्याउन दिदैनौं’–उनले भने ।विप्लवले एमसिसी आए अमेरिकी सेना र साम्राज्वाद नेपाल आइपुग्ने दाबी गरे । त्यसैले यसकाबिरुद्ध आफू र आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी उभिएको उनले प्रष्ट पारे । एमसिसी बिरुद्ध आफूहरु मात्र नभई कर्मचारी र सेना, प्रहरीपनि रहेको उनले दाबी गर्दै भने  –  ‘सेनाले सधैँ गल्ती गर्दै र राष्ट्रघात गर्दै देश र जनतालाई कङ्गाल बनाउने शासकलाई साथ दिन्छ भन्ने छैन । त्यस्तै प्रहरीले पनि भ्रष्टाचारी र अपराधी शासकहरूलाई सुरक्षा दिइरहन्छ भन्ने छैन । देशका प्रशासकहरूलाई पनि यो सत्ताले देश र जनताको रक्षा र विकास गर्छ भन्ने विश्वास छैन । सेना र प्रहरी राखेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौता पारित नगर । देश नबेच ।’

महासचिव विप्लवले नेपालमा एक वर्षमै ११ अर्ब बेरुजु भएको भन्दै त्यो भ्रष्टाचार भएको बताउदै प्रश्न गरे –  ‘एघार अर्ब त नेपालमा बेरुजु मात्र रहेछ । भ्रष्टाचार गरेर मिलाउँदा- मिलाउँदापनि मिलाउन नसकेपछि निस्केको बेरुजु हो त्यो । कति मिलाएर खाए होलान् ?’

महासचिव विप्लवले दलाल पुँजीवादी संसदीय व्यवस्था चौतर्फी असफल भएको र देश चलाउन नसक्ने अवस्थामा पुगेका   उदाहरण प्रस्तुत  गर्दै भने – ‘आफू पनि सत्ता चलाउन नसक्ने, देशलाई असफल बनाउने, चलाउन सक्नेहरूलाई पनि नदिने ? अब जनताले कुनै व्यक्ति वा पार्टी होइन, व्यवस्था चुन्न पाउनुपर्छ । जनताले यो असफल, भ्रष्ट, तस्कर, दलाल संसदीय व्यवस्था फाल्नेछन् र समानतामूलक वैज्ञानिक समाजवादी व्यवस्था रोज्नेछन् । लडाइँको योद्धा र प्रतिस्पर्धामा उत्रिएको खेलाडीले हार हुन्छ भनेर डराउने होइन, जित हुन्छ भन्ने आत्मविश्वासले मैदानमा उत्रिनुपर्छ । नेपाली जनताले हामीलाई, वैज्ञानिक समाजवादलाई अर्थात् आफूलाई विजयी गराउनेछन् । जनमतसङ्ग्रहबाट दलाल पुँजीवादी व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नेछन् । यसमा हामीलाई विश्वास छ ।’

महासचिव विप्लवले आफ्नो पार्टीसँग बन्दुकभन्दा शक्तिशाली जनता, श्रमिक वर्ग, सहिद तथा बेपत्ता योद्धा परिवारहरू भएकाले कुनै पनि हालतमा बन्दुकदेखि नडराउने, नझुक्ने, बरु सहिद बन्न तयार हुने तर देश र जनतालाई यो बर्बर र आततायी व्यवस्थाको चङ्गुबाट मुक्त पारेरै छोड्ने उद्घोषसमेत   गरे । उनले भने –  ‘हामी बन्दुकमा विश्वास गर्ने शक्ति होइनौँ । कम्युनिस्टहरू नै सबैभन्दा बढी शान्तिप्रिय हुन्छन् । बन्दुक हातमा लिएका सत्ताधारीहरूले कहीँ पनि जितेका छैनन् । युद्ध हाम्रा लागि रहर होइन । हामीलाई थाहा छ, सहयोद्धाहरू सहिद हुँदा कति पीडा हुन्छ ! आफ्नो सहयोद्धालाई खाडलमा पुर्नुपर्दा कति पीडा हुन्छ ! सहयोद्धा घोइते हुँदा र छट्पटाउँदा कति असैह्य हुन्छ ! त्यसैले हामी युद्ध होइन, शान्ति चाहन्छौँ । हामी जनताको मत प्रयोग गरेर व्यवस्था रोज्ने जनमतसङ्ग्रह चाहन्छौँ । यो सत्ताले हामीलाई जनताको मत प्रयोग गरेर व्यवस्था रोज्न पनि दिएन भने, सहमति नै पालना गरेन भने, युद्ध नै लाद्यो भने अर्कै कुरा हो ।’

राज्यद्वारा बेपत्ता पारिएका अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल र हजारौँ सहिद–बेपत्ताका आमाहरूलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘आमा, हामी तपाईंले दिएको सन्देश शिरोपर गर्नेछौँ । खुट्टा कमाउनेछैनौँ । हामी पूर्ण पौडेलहरू हिँडेको बाटोमा हिँडिरहेका छौँ । हामी जित्छौँ आमा, विश्वस्त रहनुस्, हामी देश र जनतालाई धोका दिनेछैनौँ, बरु बलिदान हुनेछौँ ।’

राज्यको सम्पत्ति लुटेर खाने, दलाली गर्ने, युवा, मिहला, विद्यार्थीलाई बेचेर कमिसन तथा रेमिट्यान्समा बाँच्ने र देशमाथि घात गर्ने सत्ता जनताको हुन नसक्ने उद्घोष गर्दै महासचिव विप्लवले अब युवा, विद्यार्थी भ्रष्टाचारी, राष्ट्रघातीहरूको सूची बनाउँदै र किसान, मजदुर, महिला, सुकुमबासीको सुन्दर भविष्यको रेखा कोर्दै वैज्ञानिक समाजवादी शिक्षाका लागि आन्दोलित भइरहन विद्यार्थीलाई आह्वान गरे ।

सम्मेलन उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष तथा नेकपाकी केन्द्रीय सदस्य बन्धु चन्द, बेपत्ता विद्यार्थी नेता पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, अखिल पाँचौँका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल छैटेँका उपाध्यक्ष गणेश अधिकारी, अखिल क्रान्तिकारीका संयोजक सुन्दर रायमाझी, समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, अखिल नेपाल विद्यार्थी युनियनका मनीष भट्टराई, नेविसङ्घका महामन्त्री युवराज पाण्डे, बेपत्ता योद्धा विपीन भण्डारीका बुबा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनकी अध्यक्ष राजेश्वरी सुवेदीलगायतले सम्मेलन सफलताको शुभकामना दिँदै वैज्ञानिक समाजवादी शिक्षा स्थापनाको आन्दोलनमा एक साथ रहेको धारणा राखेका थिए ।

२२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकालको अध्यक्षता, उपाध्यक्ष रुद्र भट्टराईको स्वागत र महासचिव प्रकाश शाहीको सञ्चालनमा सम्पन्न सम्मेलन उद्घाटन समारोहमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय सांस्कृतिक परिवार सामना परिवारले जनवादी गीत र नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड, केन्द्रीय सचिवालयका सदस्यहरू कञ्चन, सुदर्शन, विषम, केन्द्रीय सदस्यहरू उमा भुजेल, ओमप्रकाश पुन, चिरन पुन, पूर्णबहादुर सिंह, देवनारायण शाह, प्रेम दर्नाल, अधिवक्ता कपिलचन्द्र पोखरेल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदी, जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, विभिन्न जवस, मोर्चाका अध्यक्ष, संयोजक र प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु