नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न : जनमतसङ्ग्रहको माहोल सिर्जना गर्ने निर्णय

२०७८ आश्विन ६ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । प्रतिबन्धपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक हो । उक्त बैठकले देशजनतालाई बर्तमान संकटवाट मुक्त पार्न जनमतसङ्ग्रहको माहोल सिर्जना गर्ने लगायत बिशेष निर्णय गरेको बताइएको छ। केन्द्रीय समितिको उक्त बैठकले आफ्नो कार्यनीतिक नारा ‘जनमतसङ्ग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध र एकताबद्ध गर्दै जनमतसङ्ग्रहका लागि अभियान सञ्चालन गर्ने’ राजनीतिक निर्णय गरेको छ । यस्तै सर्वाधिक चर्चा र विवादमा रहेको राष्ट्रघाती एमसीसीविरोधी सबै शक्तिहरूसँग सहकार्य गर्दै नेपालबाट एमसीसी खारेज नहुँदासम्म एमसीसीविरोधीसँगको सहकार्यलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । यस्तै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा आन्दोलन अघि बढाउनुका साथै भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध सङ्घर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै सरकारद्वारा पार्टीमाथि प्रतिबन्ध लगाइएपछि भत्किएका साङ्गठनिक संरचनाहरूलाई पुनर्संरचित गर्न देशव्यापी सङ्गठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी , उक्त बैठकले आगामी फागुनमा पार्टीको नवाैँ महाधिवेशन गर्ने निर्णय गर्नुका साथै आगामी फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा विशाल जनसभा तथा जनप्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै पार्टी निकट सबै जनवर्गीय सङ्गठन तथा मोर्चाहरूका राष्ट्रिय भेला/सम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशनको तयारीका लागि पार्टीका आधारभूत तहदेखि जिल्लासम्म सबै तहका सम्मेलनहरू गर्ने बैठकको निर्णय छ ।


यसैगरी , उक्त बैठकले भ्रष्ट , कालोबजारी र तस्करहरुलाई कारबाही गर्ने समेत निर्णय गरेको बुझिएको छ।
बैठकमा पार्टी कार्यदिशाको व्याख्या गर्दै पार्टी महासचिव विप्लवले तेस्रो अन्तर्राष्ट्रिय, नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनका सन्दर्भमा नयाँ संश्लेषण गर्नका लागि आफ्नो पार्टी लागिपरेको बताए । साथै उनले नेपाली जनताका सबैखाले समस्याहरूको समाधान गर्ने तरिका जनमतसङ्ग्रह भएको भन्दै उक्त विषयमा सबै शक्तिहरूसँग सहकार्य र एकाकार भएर अघि बढ्नुपर्ने पनि बताएका थिए । १० बर्से नेपाली जनयुद्धले बाँकी छोडेका अधुरा कार्यभार पूरा गर्ने जिम्मा आफ्नो पार्टीको काँधमा आएको भन्दै विप्लवले पार्टी नेताहरूलाई एकीकृत जनक्रान्तिको कार्यदिशा जनतामा लिएर जान विशेष निर्देशनसमेत दिएका छन् ।
बैठकले पार्टी महासचिव विप्लवले पेस गरेको राजनीतिक दस्ताबेज व्यापक छलफल र आवश्यक परिमार्जनसहित पारित गरेको छ । बैठकमा सबै केन्द्रीय सदस्यले आआफ्नो कार्यक्षेत्रको रिपोर्टिङ र धारणा राखेका थिए । केन्द्रीय समितिको बैठकअगाडि २ दिनसम्म चलेको सचिवालयको बैठकमा महासचिव विप्लवले बैठकका लागि प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनउपर व्यापक बहस भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु