युवा सङ्गठनद्वारा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

२०७८ आश्विन ६ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपालले देशका बिभिन्न स्थानमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ। यसैक्रममा , युवा सङ्गठन काठमाडौँले लागू औषध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ । काठमाडौँको शान्तिवाटिकाबाट सुरु भएको र्याली ठमेलमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा युवा सङ्गठन नेपाल उपत्यका व्युरो तथा ताम्सालिङ व्युरो इन्चार्ज सुमन क्षेत्रीले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा क्षेत्रीले हरेक युवाहरूको भविष्यलाई ध्वस्त पार्ने लागू औषधलाई निषेध गर्नुपर्ने बताए । उनले युवाहरूलाई दलाल संसदीय व्यवस्थाले नै कुलतमा लाग्न बाध्य पारेको बताए । साथै उनले जसले समाज र क्रान्तिबाट विमुख पार्न योजनाबद्घ साम्राज्यवादीहरूले नसालु पदार्थ अविकसित देशहरूलाई बजार बनाएको आरोप लगाए ।
कार्यक्रममा नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपाल, काठमाडौँ जिल्ला अध्यक्ष दिपक मानन्धरले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा महानगर इन्चार्ज अविरलको पनि सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन महेन्द्र सुनारले गरेका थिए ।
यसैगरी , युवा सङ्गठन सिन्धुपाल्चोकले मेलम्ची बजारमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ । युवाहरुले विभिन्न नारासहित मेलम्ची बजार परिक्रमा गरि सोही बजारमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई प्रमुख वक्ता तथा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका जिल्ला सचिव युगीनले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सम्पूर्ण नेपाली जनता एकजुट भई जनताबाटै नै बहिष्कार गरि जनसंघर्षमा सामेल हुन आम नेपाली जनतालाई अपिल गरे ।

राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वाभिमानमा आँच आउने सम्झौता भएकोले सबै सचेत नेपाली बुद्धिजीवी, राष्ट्रप्रेमि, देशभक्त, प्रगतिशील शक्तिहरुलाई एकजुट भएर जनसंघर्षमा सहभागी भई यसको विरुद्ध प्रतिरोध गर्न र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने स्पष्ट पारे । अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्थाको कारण युवाहरुको भविष्य चौपटट्ट पारेर लागु पदार्थ सेवनले युवा पंक्ति ध्वस्त पारेको भन्दै उनले अब सबै परिवर्तनकारी युवाहरु एकीकृत जनक्रान्तिको झन्डामूनि गोलबद भएर यो व्यवस्था खारेज गरि जनताको वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति संघर्ष गर्न अपिल गरे । कोणसभा कार्यक्रममा युवा संगठन नेपाल सिन्धुपाल्चोकका संयोजक सुमनले समसामयिक युवाहरुको विषय र लागु पदार्थबाट युवाहरु जोगिन अपिल गरेका थिए
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक जिल्लाका विशेष समितिका सदस्य किरण घिमिरेले पनि सम्बोधन गर्दै राष्ट्रघाती एमसीसी देशको हितमा नरहेकोले खारेज गर्नुपर्ने प्रष्ट पारे । एमसीसीको विरुद्ध सम्पूर्ण देशभक्त, सच्चा कम्युनिस्ट र राष्ट्रवादीहरु एक भएर लड्न अपिल गरे । प्लेकार्डसहित युवाहरुले नेपाल कम्युनिस्ट पार्टीको जिन्दावाद, युवा संगठन नेपाल जिन्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर, लागु औषध तस्करीलाई कारबाही गर, लागू पदार्थ सेवनबाट सम्पूर्ण युवाहरु सचेत हौँ जस्ता नारा लगाएर बजार परिक्रमा गरेका थिए ।
यसैगरी , युवा संगठन नेपाल रसुवाले लागू औसध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन कार्यक्रम रसुवाको बेत्रावतीमा सम्पन्न गरेको छ । नारा जूलूससहित रसुवाको बेत्रावती बजार परिक्रमा गरि धुन्चे मैलुङ दोबाटो चोकमा कोण सभाको आयोजना समेत गरेको थियो । नेकपा रसुवाका सेक्रेटरी बिराजले उक्त कोणसभालाई सम्बोधन गर्दै राज्यले युवा शक्तिलाई वेवास्ता गरेको र बेरोजगारीको तनावले गरिबी र पीडाका कारण युवाहरू बरालिन बाध्य भएको बताए । देशमा यो दलाल संसदिय व्यवस्था रहेसम्म युवाहरूको हालत झन खराब हुँदै जाने हुँदा आम युवाहरू क्रान्तिमा लामबद्द हुन र वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनलाई संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए । चीन युरोप र अमेरिकका युवाहरूले आज विज्ञान र प्राविधिमा गरेको अभुतपूर्व विकासले संसारलाई अगाडि बढाइरहेको तर हाम्रो देशको दलाल शासकहरुको कारण युवाहरू लागू औषधको कुलतमा फस्न थालेकाले सबै युवा अब सचेत हुनुपर्ने बताए ।

अहिले आधुनिक कुलतका रूपमा पपजी र फ्रीफायर लगायतका इन्टरनेट खेलले पनि युवाहरू कुलतमा फसेको बताए । कार्यक्रममा युवा संगठन नेपाल रसुवाका जिल्ला संयोजक जीवन तामाङले युवाहरूलाई लागू औषधका विरुद्ध एकजुट हुन आव्हान गरे । युवाहरू एकीकृत जनक्रान्तिमा लामबद्ध हुदै वैज्ञानिक समाजवादमार्फत देशको विकास, समृद्धि र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिनु पार्ने धारण राखे ।
यता , राष्ट्रघाती अमेरिकी परियोजना एमसिसि सम्झौताको खारेजी र लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न कैलाली कञ्चनपुरका युवा सडकमा उत्रिएका छन्। युवा संगठन नेपाल सेति-महाकाली व्युरोको आयोजनामा मोटरसाइकल र्‍याली सहित युवाहरू सडकमा प्रदर्शनमा उत्रिएका हुन्।एमसिसि मार्फत नेपालको सार्वभौमिकता माथि हस्तक्षेप गर्दै युद्धको दुस्चक्रमा फसाउने षडयन्त्र अमेरिकी साम्राज्यवादले गरिरहेको भन्दै उनिहरूले एमसिसि सम्झौता खारेजीको माग गरेका हुन्। समाजमा लागूऔषध दुर्व्यसन, डिप्रेशन, आत्महत्या, महिला हिंसा,बलात्कार जस्ता जघन्य अपराध बढिरहेको बताउँदै यसको नियन्त्रण गर्न जनचेतना फैलाउन मोटरसाइकल र्‍याली गरिएको युवा संगठन नेपालका केन्द्रीय सदस्य भुवन कुँवरले बताए। नेपाल कम्युनिष्ट पार्टीले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेर एमसिसिको विरोध गर्दै आएको छ ।

एमसिसि सम्झौता र परियोजना नेपालको राष्ट्रिय हित विरुद्ध रहेको बताउँदै सम्झौता खारेज हुनुपर्ने माग गर्दै आएको नेकपा र भातृसंगठन युवा संगठन नेपाल ले लागूऔषध दुर्व्यसन र एमसिसि विरुद्ध मंगलबार मोटरसाइकल र्‍याली गरेका हुन्। सयौँको सङ्ख्यामा मोटरसाइकलमा रहेका नेकपा र युवा संगठनका कार्यकर्ताहरूले एमसिसि खारेज गर,लागूऔषध दुर्व्यसन नियन्त्रण गर, युवाहरूलाई रोजगारीको व्यवस्था गर,राष्ट्रघाती दलाल होसियार जस्ता चर्का नाराबाजी गरेका थिए। कञ्चनपुर र कैलालीको लम्कीबाट आएको र्‍याली कैलालीको अत्तरियामा भेट भई धनगढी पुगेर कोणसभामा परिणत भएको थियो।
यसैगरी , युवा संगठन नेपाल दाङको आयोजनामा घोराहीमा सचेतना कार्यक्रमसहित कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै प्रमुख वक्ता तथा नेपाल कम्युनिष्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य विकासले लागुऔषध सेवनले युवाहरुलाई तहसनहस बनाउदै लगेको बताए । उनले सचेत युवाहरुलाई चरम नशामा डुबाएर दलाल पुजीपतीहरुले युवाहरुको सचेत क्रान्तिकारी पहलकदमीलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको उद्घोष गरे । नेता विकासले आफ्नो पार्टीले लागुऔषध कारोबार गर्ने जो कोहीलाई प्रमाणसहित कार्वाही गर्ने चेतावनी समेत दिए ।

कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोजले युवाहरुलाई लागुऔषधबाट मुक्त गर्ने अभियान संगठनले चलाउने उद्घोष गरे । नेता मनोजले युवाहरु चरम लागुऔषध सेवनबाट मुक्त नभएसम्म देश र दुनिया बुझ्ने र बदल्ने सपना साकार नहुने बताए ।उनले भने, देश विकासको मेरुदण्ड सचेत युवापंक्ती चुर्लुम्म नशामा डुबेको देख्दा पनि राज्य जिम्मेवार बन्न सकिरहेको छैन । कोणसभा कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङका सचिव सुदर्शनले गरेका थिए ।

यसैगरी , युवा सङ्गठन नेपाल नुवाकोटले लागू औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन गरेको छ । युवा सङ्गठन नेपाल नुवाकोट जिल्ला संयोजक कृष्ण श्रेष्ठको नेतृत्वमा सदरमुकाममा युवाहरूको उपस्थितिमा चर्का नारासहित प्रदर्शन गरि बजार परिक्रमा गरिएको प्राप्त समाचारमा जनाइएको छ । युवा सङ्गठन नेपाल जिन्दावाद, लागू औषध निषेध गरौँ, बिकृति बिसङ्गतिविरुद्ध सङ्घर्ष गरौँ, एकीकृत जनक्रान्ति जिन्दावाद, जनमतसङ्ग्रह घोषण गर भन्ने नाराका साथ प्रदर्शन सम्पन्न गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार