अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको तयारी पुरा : नेकपाका महासचिव विप्लवले उद्घाटन गर्ने

२०७८ आश्विन ५ गते, मंगलवार


काठमाडौँ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन भोलि असोज ६ गते बुधबारदेखि सुरु हुने भएको छ । आज पोखरास्थित नेपाल पत्रकार महासङ्घ कास्कीको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी अखिल क्रान्तिकारीले भोलि ६ गते बुधबारदेखि सुरु हुने सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको छ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकालले बुधबार ११ बजे पृथ्वीचोकबाट सुरु हुने र्यालीको नेतृत्व पार्टी महासचिव विप्लवले गर्ने जानकारी दिए । उक्त र्याली चिप्लेढुङ्गास्थित मानवअधिकार चोक पुगेर सम्मेलन उद्घाटन समारोहमा परिणत हुने र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गर्ने जानकारी पनि उनले दिए ।
तीन दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा असोज ७ र ८ गते बन्दसत्र हुने र वैज्ञानिक समाजवादी शिक्षा नीति तय गर्दै नयाँ नेतृत्व चयन गर्ने जानकारी पनि ढकालले दिए ।
नेकपाका नेताहरू, विभिन्न राजनीतिक पार्टीका नेताहरू, विभिन्न राजनीतिक पार्टी सम्बन्धित विद्यार्थी सङ्गठनका नेताहरू, शिक्षाविद्हरू, पूर्वगभर्नरहरू, समाजवादी शिक्षाका अध्येताहरूले सम्मेलन सफलताको शुभकामना दिनेछन् ।
विद्यार्थी सङ्गठनका विभिन्न ९० भन्दा बढी जिल्लाबाट एक हजार एक सयभन्दा बढी प्रतिनिधि चयन भए पनि कोरोना भाइरस सङ्क्रमण निर्मूल नभइसकेकाले त्यसबाट पनि छानेर प्रतिनिधिमूलक रूपमा जम्मा पाँच सय ५५ जना प्रतिनिधि र पर्यवेक्षकलाई मात्र सम्मेलनमा उपस्थित गराउने तयारी रहेको जानकारी पनि आयोजक सङ्गठनले दिएको छ । अखिल क्रान्तिकारी सम्मेलन आयोजक समितिले दिएको जानकारीअनुसार आज मङ्गलबार बेलुका समाज रूपान्तरणका क्रममा बलिदान भएका, कोरोनाले निधन भएका र प्राकृतिक प्रकोपहरूमा परी मृत्यु भएकाहरूको स्मृतिमा मङ्गलबार साँझ स्थानीय हलन्चोकमा हजारौँ मैनबत्ती प्रज्वलन गरिनेछ ।
सङ्गठनले सम्मेलनअघि बुधबार बिहान रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी देशभरबाट सहभागी प्रतिनिधि पर्यवेक्षक र पार्टी नेताहरूको उपस्थितिमा प्लेकार्डसहित भूमाफियाले कब्जा गरेको फेवाताल क्षेत्र बचाउका पक्षमा प्रदर्शन गरिनेछ ।
पत्रकार सम्मेलन सञ्चालन गर्दै सम्मेलन आयोजक समितिका महासचिव प्रकाश शाहीले सङ्गठनले पोखराबाट शैक्षिक आन्दोलनको एउटा नयाँ सन्देश प्रवाह गर्ने उद्देश्य लिएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु