युवा सङ्गठन नेपालद्वारा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

२०७८ आश्विन ५ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपालले देशका बिभिन्न स्थानमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ। यसैक्रममा सो सङ्गठनले रुपन्देहीमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार सङ्गठनको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको सैनामैनास्थित कलौनी चोकमा उक्त कार्यक्रम सम्पन्न गरेको बताइएको छ । कार्यक्रममा नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले वर्तमान दलाल संसदीय व्यवस्थाले युवाहरूलाई लागू औषधको भुमरीमा फसाएर आफूहरू सत्ता र कुर्चीको लडाइँमा लिप्त रहेको बताए । देशमा बेरोजगार, भ्रष्टाचार, महँगी, अशिक्षाका कारण युवाहरू लागू औषध दुर्व्यसनीमा फसेको भन्दै विश्वासले यसका विरुद्ध आफ्नो पार्टीले देशव्यापी रुपमा निर्मम सङ्घर्ष गरिरहेको बताए । विश्वासले देश अनिश्चयको खाडलतिर धकेलिरहेको बताए । उनले देशमा सामन्तवादको अन्त्य भए पनि सामन्तवादी चिन्तन भएका दलालहरूले देशलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको विचार व्यक्त गरेका थिए । उनले राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न नदिने र यसका विरुद्ध आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरू सङ्घर्षको क्रममा बलिदान गर्न पनि तयार रहेको उद्घोष गरे ।


युवा सङ्गठन नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष साइमनले वर्तमान राज्यसत्ताले कुलतमा फसिरहेका युवाहरूलाई सुधार्नका लागि कुनै पनि उत्तरदायी भूमिका नखेलेको बताए । उनले वर्तमान दलाल राज्यसत्ता र दलाल राज्यसत्ताका नाइकेहरू नै युवाहरूको वैचारिक तथा राजनीतिक चेतना स्तर बृद्धिको बाधक भएको बताए । साइमनले सम्पूर्ण देशभक्त, प्रगतिशील युवाहरूलाई एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित हुन अपिल गरेका थिए । यस्तै युवा सङ्गठन नेपाल रुपन्देही जिल्ला उपाध्यक्ष भक्त थापाले वर्तमान दलाल राज्यसत्ताबाट युवाहरूको निकास सम्भव नरहेको भन्दै वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा लागू औषधका व्यापारीहरूलाई कारवाही गर !, लागू औषध दुर्व्यसनीविरुद्ध सङ्घर्ष गरौँ !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद !, जनमतसङग्रह घोषणा गर ! लगायतका नाराहरू लगाइएको थियो ।
नेकपाका सैनामैना सेक्रेटरी वर्षा, पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता, युवा, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी लगायतको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रमको सहजीकरण सङ्गठनका जिल्ला उपाध्यक्ष भक्त थापाले गरेका थिए ।
यसैगरी , युवा संगठन नेपाल सर्लाहीले लागुऔषध, विकृति विसंगतिविरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ । विरोध कार्यक्रममा युवा संगठन नेपालका निर्वातमान केन्द्रिय उपाध्यक्ष दिनेश, जिल्ला सेक्रेटरी कमल सुस्लिङ, युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज विचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा जनकपुर ब्युरो संयोजक पदम मगर, तामाङ मुक्ति मोर्चा सिन्धुली जिल्ला संयोजक लवाङ सिंह, युवा संगठन नेपाल सर्लाही जिल्ला सदस्य तारा लामाको उपस्थिति रहेको थियो ।


विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै दिनेशले सम्पूर्ण युवाहरुको भविष्य बिगार्ने लागू औषध विरुद्ध सबै नागरिक लाग्नु पर्ने बताए । सुकुम्बासी नगरिक लगायत सम्पूर्ण नागरिक जनताको अवाज उठाउने पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र रहेको समेत बताए ।
नेता दिनेशले भ्रष्टाचारी, दलाली, देशद्रोहीहरुकै मिलीमतोमा कुमार पौडेलको हत्या भएको समेत बताए ।
विचारमानले अहिलेको युवाहरूलाई संसदिय व्यवस्थाको चुनावले लागुऔषध, मादक पदार्थ खुवाएर आफ्नो चुनावको प्रचारमा लगाएको आरोप लगाए । त्यसैले अबको युवा दलाली, भ्रष्टाचारी र युवाहरुको भविष्य बिगार्ने संसदीय चुनावमा नजान अपिल समेत गरे । जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवादी जनताको व्यवस्था ल्याउने अभियानमा साथ दिन पनि अपिल गरे ।
यसैगरी ,युवा सङ्गठन दोलखाले लागु औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन गरि कोणसभा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि दोलखा जिल्ला सेक्रेटरी आकाश शर्माले सम्बोधन गरेका थिए भने स्वागत मन्तव्य उजिरले गरेका थिए । कार्यक्रममा जिल्ला कमिटी सदस्य कर्ण थामी र भरत थामीकोसमेत उपस्थिति रहेको जनाइएको छ । उक्त कार्यक्रमको सञ्चालन सोमले गरेका थिए ।

प्रतिक्रियाहरु