‘फाइजर’ बालबालिकामा प्रभावकारी !

२०७८ आश्विन ५ गते, मंगलवार

काठमाडौं । कोभिड–१९ विरुद्धको अमेरिकी खोप फाइजर बालबालिकामा पनि प्रभावकारी देखिएको छ । फाइजरले उत्पादन गरेको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा पनि खोप प्रभावकारी देखिएको हो । सो समूहमा गरिएको परिक्षणमा खोपवाट बालबालिकामा एन्टीबडी राम्रो बन्ने र कुनै खराब प्रतिक्रिया नरहेको पाइएको हो । फाइजरले यो परीक्षण ५ देखि ११ वर्ष उमेरका २ हजार २ सय ६८ जना बालबालिकामा गरेको थियो । नेपालले समेत १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरेको छ । नेपालमा विश्व स्वास्थ्य संगठन डब्लूएचओ को कोभाक्स सुविधाअन्तर्गत प्राप्त हुने १ लाख ६ सय २० डोज फाइजर खोप भित्रिदैछ । सो खोप १२ देखि १७ वर्षसम्मका दीर्घरोगी बालबालिकालाई दिन विज्ञहरूले सुझाव दिएका छन् । नेपालमा हालसम्म अस्ट्राजेनेका, भेरोसेल र जोन्सन गरी हालसम्म १ करोड ७७ लाख ५५ हजार ५ सय ९० डोज खोप प्राप्त भएको छ । सरकारले बालबालिकाका लागि मोडर्ना र फाइजर गरी एक करोड डोज खोप ल्याउने प्रक्रिया थालिसकेको छ । मन्त्रालय स्रोतका अनुसार ती दुवै खोप सन् २०२२ को मार्चसम्ममा नेपाल आइसक्नेछ । खरिद गर्न लागिएको फाइजरको ६० लाख डोजभन्दा पहिले नै कोभाक्स सुविधाअन्तर्गत एक लाख ६ सय २० डोज आउने निश्चित भइसकेको छ |

प्रतिक्रियाहरु