पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीद्वारा बहुमत हासिल

२०७८ आश्विन ४ गते, सोमबार


काठमाडौँ । रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ। चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए।
५० प्रतिशत मतगणना हुँदा युनाईटेड रसियाले ४६ प्रतिशत र प्रमुख विपक्षी कम्युनिस्ट पार्टीले २१ प्रतिशत मत पाएको छ। तल्लो सदन डुमामा कूल चार सय ५० स्थानका लागि भएको निर्वाचनमा व्यापक धाँधली भएको विपक्षीले आरोप लगाएका छन्। तीन चरणमा गरिएको निर्वाचनमा १४ ओटा राजनीतिक दलहरुले प्रतिष्प्रर्धा गरेका थिए। पुटिनका आलोचकलाई भने प्रतिष्प्रर्धामा रोक लगाइएको थियो।
सरकारले केही महिनाअघि पुटिनका प्रमुख प्रतिद्वन्द्वी अलेक्सी नभाल्नीलाई कैद गरेको थियो। उनले नेतृत्व गरेको संगठनलाई ‘अतिवादी’ घोषित गर्दै प्रतिबन्ध लगाइएको थियो। निर्वाचनको पूर्वसन्ध्यामा नभाल्नीका मुख्य सहयोगीलाई पक्राउ गरिएको थियो। – एजेन्सी

प्रतिक्रियाहरु