कथित संविधान …

रमेश रावत 'विक्रान्त' २०७८ आश्विन ३ गते, आईतवार


म जन्मने बेला
आमालाई बस्ने,छाना थिएन
मीठो खाना थिएन ।
मलाई सफा नाना थिएन
छानाभित्र दाना थिएन
म जन्मेकै कारण
वडा कार्यलयमा
सय रुपैया कर तिरेर जन्मेको हु ।।
खोक्रो दलाल संविधानमा
गाँस,बास,गपासको ग्यारेन्टी गरिने छ
कदापि लेखेको छैन ।।।

जब म स्कुल जाने उमेरको भए
साहुका घरको धने
शहर पढ्न गयो
धन नभएकै कारण म
धनेका घरका गोरु चराउन गए
यो दलालको संविधानमा
निशुल्क शिक्षाको व्यवस्था गरिनेछ ।
बिल्कुल लेखेको छैन ।।

मेरा बा को दत्तामा एक किर्ता जग्गा छ ।
धनेका बा को दत्तामा बिगौ बिगा जग्गा छ ।।
मेरा बा ले बर्षेणी इन्डिया गएर तिरो तिर्नु हुन्छ
धनेका बा ले कहिल्यैपनि तिरो तिर्नु हुन्न
यो दलालको संविधानमा
धनेका बा लाई तिरो छुट किन? भयो।।।
मेरा बा को एक किर्ता
धनेका बा को बिगौ बिगा जग्गा किन ? भयो

म दश बर्षको हुदा
मेरी प्यारी आमाको
बोक्सीको आरोपमा
कुटी कुटी हत्या गरे
ती पापी वडा अध्यक्षका सन्तानले
दलित भनी धारा छोएकै आधारमा
माथिल्लो गाउँकि सेतु कामि
कुटपिट भएरै मरिन मोखियाकि महिलाबाट
दस लाख तिरेर तिरेर
हत्याराहरु जेल मुक्त हुन्छन् भने

मेरी प्यारी दिदिलाई चौध बर्षको उमेरमा
बलात्कार पछी तड्पाई तड्पाई मारे
ति रक्तपिपासु रामेका छोराहरुले
ल अब भन्नुहोस् यो दलालको संविधानमा
दलितको लागि मुक्ति कहाँ छ ?
महिलाको लागि मुक्ति कहाँ छ ?
गरिबको लागि न्याय कहाँ छ ?
जनताको सुरक्षा कहाँ छ ?

मेरा ठुलो दाजुले
होटलमा भाँडा माझी माझी
भारी बोकी बोकी
घर छोडेर सहरमा
मास्टरसम्म पढ्नु भयो
जागिरैका लागि
दुनियाँको पाउमा ढोग्नु भयो
साहुको चर्को ब्याँजमा ऋण निकाली
पैसा कमाउन खाडीमा जानुभयो
६ महिनामै बाकसमा सुतेर
छानो अगाडि गाडीमा आउनु भयो
यो दलालको संविधानमा
हरेक नेपाली नागरिकलाई
रोजगारीको व्यवस्था गरिने छ ।
लेख्दै लेखिएको छैन ?

सबै परिवार गुमाउदा गुमाउदा
म संग आफ्नै भन्ने एउटा बा छन ।
बा पनि आधा उमेरमै
बिरामीले थला थला पर्नु भएको छ ।।
म संग सिटामोल किन्ने पैसा छैन ।।।
बा को जीवन पनि आज छ कि भोलि छ।।।।
यो दलालको संविधानमा
स्वास्थ्य उपचार निशुल्क लेखिएको छैन ।।।।

अब त अति भयो
अति गर्नेको खति गर्नुपर्छ ।
दुनियाँको दास हुनुभन्दा
अन्याय र अत्याचार सहनु भन्दा
बलिदान गर्छु भनेर
निधारमा कपन बाँधी
यो दलालको व्यवस्थालाई फेर्न
यो दलाल संविधानलाई फेर्न
वर्ग संघर्षको मैदानमा
क्रान्ति,क्रान्ति भन्दै बिगुल फुक्दा
झुटा मुद्दा चलाएर
हातमा हत्कडी लगाएर
बन्दुक र जेलको धम्की दिइन्छ भने
यो देशका शासकहरुको
यो देशका दलालहरुको
यो देशका भ्रष्टहरुको
राज्य व्यवस्था खारेज गर्न
कथित संविधान जलाउन
हातमा खुकुरी समाउन
दलालका किल्ला भत्काउन
साम्राज्यवादलाई भगाउन
एकीकृत जनक्रान्तिको बाटोमा
बैज्ञानिक समाजवादको झण्डा बोकी
बर्गिय मुक्ति मोर्चामा
न्याय ,समानताको गित गाउन
राष्ट्रिय स्वाधीनताको गित गाउन
देशभक्त ,क्रान्तिकारी नेपाली
हाम्रो पुस्ताका नौ जवान युवाहरू
एक पटक फेरि तयार हुनुपर्छ ।

प्रतिक्रियाहरु