आज इन्द्रजात्रा

२०७८ आश्विन २ गते, शनिबार


काठमाडौं । आज भाद्र शुक्ल द्वादशी अर्थात् इन्द्राजात्रा । अघिल्लो वर्ष कोरोना महामारीका कारण सुनसान बनेको बसन्तपुर-हनुमानढोका क्षेत्रमा आज भने उत्लास छ । काठमाडौं उपत्यकाका विभिन्‍न टोलटोलबाट नेवार समुदायका मानिसहरु आएका छन् । उनीहरूसँग रम्चाउन अन्य समुदायका मानिसहरूको उपस्थिति उस्तै छ । । हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुआत गर्ने गरिन्छ । आज बिहानै लिङ्गो ठड्याएर जात्राको औपचारिक सुरुआत गरिएको छ ।

इन्द्रजात्रासँग जोडिएका अनेक संस्कारहरू भेटिन्छन् । कुनै नाचसँग खोला तरेर जान नहुने संस्कार जोडिएको छ भने कुनैसँग खोला तरेर मात्रै आउनुपर्ने परम्परा । पुरातत्व विभाग अन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाले यस्ता नाचहरुको संरक्षणका लागि सघाउन खासगरी इन्द्रजात्रामा नाचिने १५ थरी नाचको सूची तयार पारेको छ ।
यीमध्ये धिमे बाजा, नगरा बाजा र ढाडी भजनलाई शुद्ध नाचको श्रेणीमा राख्न सकिँदैन । त्यसैले अहिले प्रचलनमा रहेका १२ थरी नाच इन्द्रजात्रामा नाच्ने गरिएको इन्द्रजात्रा व्यवस्थापन समितिका प्रमुख गौतम शाक्य बताउँछन् । यी नाचहरु प्रस्तुत गर्न काठमाडौंको हल्चोक, किलागल, भक्तपुर लगायत क्षेत्रबाट स्थानीय समुदायहरू आउने गर्छन् ।

समितिका अनुसार अहिले भक्तपुरबाट इन्द्रजात्राको लागि रामचन्द्र प्याखं, कवच प्याखं, वैकाल प्याखं, मार्चु प्याखं, घिन्टाकिसी प्याखं र अरु दुई किसिमका महाकाली प्याखंहरु गरी सातथरीको नाच आउँछ । रामचन्द्र प्याखंबाहेक भक्तपुरबाट आउने सबै नाचलाई काठमाडौंमा महाकाली नाचको नामले चिनिन्छ । तर भक्तपुरेहरुले भने यसलाई पनि दीप्याखं अर्थात् देवी नाच भन्छन् । काठमाडौंबाट आउने नाचमा भने हात्ती प्याखं अर्थात् पुलुकिसी र देवी नाच अर्थात् दीप्याखं किलागलबाट आउने गर्छ ।
लाखे नाच मजिपा भन्ने ठाउँबाट सुरुवात भएको हो भने दश अवतार नाच त्रिपुरेश्वरबाट आउने गर्छ । यी सबै नाचसँग जोडिएका आस्था र विश्वासले इन्द्रजात्राको महत्वलाई झनै बढाएका छन् ।

प्रतिक्रियाहरु