नव सामन्तहरुको नेतृत्वमा सर्वहारा वर्गको राजनीति

२०७८ भाद्र ३० गते, बुधबार

डा. केशव देवकोटा


नेपाल कम्युनिष्ट पार्टीको विधिवत स्थापना भएको सेप्टेम्बर १५ मा ७१ वर्ष पूरा भएर ७२ वर्षमा लागेको छ । यसबीचमा नेपालको राष्ट्रिय राजनीतिकासाथै कम्युनिष्ट राजनीतिलेसमेत बिभिन्न किसिमका आरोह अवरोह पारगरेको छ । नेपालमा ००७ साल यता जेजसरी राष्ट्रिय राजनीतिमा उतार चढावको अवस्था आयो कम्युनिष्ट राजनीतिमा पनि सोही किसिमले उतार चढावहरु देखिएका छन् । खासगरी ०४६ को राजनीतिक परिवर्तनपछि नेपालको कम्युनिष्ट आन्दोलनमा सुधारवादी र संसदवादी धार हावि हुदैगएको देखिएको छ । ०६३ को राजनीतिक परिवर्तनपछि कतिपय कम्युनिष्ट पार्टीहरुको नेतृत्व नवसामन्तहरुको हातमा पुगेकाले नेपालको कम्युनिष्ट आन्दोलन रक्षात्मकमात्र नभइ विघटनको अवस्थामा जान सक्ने संकेतहरु देखिएका छन् । पछिल्लो समयमा प्रायः सबै कम्युनिष्ट पार्टीमा आन्तरिक बिवाद बिभाजनको दिशामा अगाडि बढेको पाइन्छ । त्यसैले नेपालको कम्युनिष्ट पार्टीको हालसम्मको अवस्थालाइ मूल्यांकन गर्नुपर्दा बिभिन्न चरणमा बिभाजन गर्नुपर्ने हुन्छ । ००६ सालमा स्थापनाहँुदा नेपाल कम्युनिष्ट पार्टीको अवस्था प्रारम्भिक थियो । जसको स्थापना कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विधानको अनुवाद गरेर भएकाले उद्देश्यहरु राम्रा र समसामायिक रहेका थिए । नेपालमा राणाशासन कायमै रहेकाले नेकपाको स्थापना भारतमा हुनु अस्वाभाविक थिएन । त्यसपछि सानैरुपमा भएपनि नेपालभित्र कम्युनिष्ट पार्टीको संगठन थालिएको थियो । नेपाल कम्युनिष्ट पार्टीले शुरुदेखि नै तत्कालीन कांगे्रसलगायतका दक्षिणपन्थी पार्टीहरुको थिचोमिचो सहनु परेको थियो । ०१७ सालको घटनासम्म आइपुग्दा पनि नेकपाको संगठनात्मक विकास राम्रोसँग हुननसकेको कुरा ०१६ सालको आमनिर्वाचनको परिणामले देखाएको छ । नेपालमा दलीय व्यवस्थामाथि प्रतिवन्द लागेपछि भूमिगत अवस्थामा मात्र नेकपाको विकास तीब्ररुपमा भएको देखिन्छ । तेस्रो महाधिबेशनसम्म पुग्दा नेकपाको राजनीति देशव्यापी भैसकेको अवस्था थियो । नेपालमा कम्युनिष्ट राजनीतिको तीब्र्र विकास भएपछि यसका विरुद्ध दक्षिणपन्थी राजनीतिक पार्टी र शक्तिहरुले खेल्नथालेका थिए । तेस्रो महाधिवेशनमा देखिएको राजावादी रुझानले उपरोक्त कुराको पुष्टिगर्दछ ।

हुनत नेकपाको स्थापनालगतैबाट संस्थापक महासचिव पुष्पलालको बिरुद्धमा बिभिन्न षडयन्त्र भएबाट धेरै कुराहरु स्पष्ट हुन पुग्दछन् । कम्युनिष्ट पार्टीको स्थापनाहुँदा नै कतिपय नेताहरु कांगे्रस पार्टीको राजनीतिमा अभ्यस्त भैसकेका व्यक्तित्वहरुसमेत संलग्न रहेकाले धेरै कुराहरुमा भ्रम रहेको देखिन्थ्यो । तेस्रो महाधिवेशनमा नेताहरुकाबीचमा देखिएको बिवादले पनि धेरै कुराहरु स्पष्ट गरेको छ । तेस्रो महाधिवेशनमा आएको बिभाजनले केपालको कम्युनिष्ट आन्दोलनलाई छरप्रष्ट बनाएको थियो । जसलेगर्दा आआफ्नै ढंगले ०४६ मा पुग्दा नपुग्दै झण्डै दुईदर्जन कम्युनिष्ट पार्टी र समूहहरुको स्थापना भएको पाइन्छ । ०४६ को राजनीतिक परिवर्तनपछि र खासगरी मनमोहन अधिकारीको नेतृत्वमा कम्युनिष्ट पार्टीकोमात्र सरकार गठन भएपछि प्रायः सबैको ध्यान सत्ता र शक्तिमा केन्द्रित हुनथालेको थियो । ०४६ पछि नेपालको कम्युनिष्ट आन्दोलनमा तीब्र्ररुपमा धु्रबिकरणको अवस्था देखाप¥यो । कतिपय कम्युनिष्ट पार्टी र समूहहरु एमालेमा बिलय भएभने चौथो महाधिवेशन पक्षका पार्टी तथा समूहहरु संयुक्त जनमोर्चामार्फत संगठित भएर बहुदलिय संसदीय व्यवस्थाको निर्वाचनमा सहभागि भएका थिए । त्यतिबेला पनि कांगे्रसको तुलनामा कम्युनिष्ट पार्टीको शक्ति कमजोरनै देखिएको थियो । ०४६ पछि नेपालमा कम्युनिष्ट पार्टीहरुको संख्या घटेको थियोभने मतदाता र समर्थकहरुको संख्या बढेरगएको देखिएको थियो । यसैबीचबाट नेकपा माओवादीको गठनभै सशस्त्र जनयुद्धको अभ्यासहुँदा नेपालको समग्र कम्युनिष्ट आन्दोलननै प्रभावित हुनपुग्यो । ०५२ पछिका केही वर्षहरुमा नेपालका कम्युनिष्टहरु प्रत्यक्ष र प्ररोक्षरुपमा समेत माओवादीतर्फ आकर्षित भएका देखिन्थे । जब माओवादीको जनयुद्ध सत्ता राजनीतिमा रुपान्तर हुँदैगयो, त्यसपछि फेरी नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ गन्तब्यको खोजी शुरुगरेको थियो । ०६३ को राजनीतिका परिवर्तनमा कम्युनिष्ट पार्टीको उल्लेख्य सहभागिता रहेको भएपनि दिल्लीमा भएको माओवादी र तत्कालीन सातदल बीचको १२ बुँदेसहमति एवं त्यसपछि बनेको सरकारमा नेपाली कांगे्रसको नेतृत्वलेगर्दा बिभिन्न कम्युनिष्ट समूहहरुमा अन्योलको अवस्था देखाप¥यो । नेपालमा माओवादीको नेतृत्वमा सरकार गठन हुने अवस्था सिर्जनाहुँदा पनि शोषित पीडित नेपाली जनताको पक्षमा कुनै काम हुननसकेपछि फेरी निराशाको अवस्था सिर्जना भयो । माओवादीको मूल नेतृत्वले लिएको गलत नीतिका कारण सो खेमामासमेत एकपछि अर्कोगर्दै बिभाजनहरु भए । आजसम्मको अवस्थालाई हेर्दा पूर्व माओवादीकामात्र औपचारिक र अनौपचारिक गरेर दर्जनौ साना ठूला समूहहरु देशका बिभिन्न भागमा बिभिन्न किसिमले क्रियाशिल भएको देखिएको छ । माओवादीको मूल नेतृत्व निरन्तर नेपाली कांगे्रस र एमालेको वरिपरि घुम्नथालेको छ । तत्कालीन अवस्थामा सशस्त्र जनयुद्धको रचनागर्ने नेताहरुमध्ये कतिपय औपचारिकारुपमै कम्युनिष्ट पार्टी छाडेर गैरकम्युनिष्ट पार्टीमा पुगेका छन्भने कतिपय नेताहरु कम्युनिष्ट पार्टी विघटन हुने सपना देख्नथालेका छन् । आफ्नो सिद्धान्त र बिचारलाई परित्याग गरेर एमालेमा प्रवेशगरी बाहिर निस्केका र नेपाली कांगे्रससँग पटक,पटक कार्यगत एकता गरेर साँकृतिकरुपमा पतन भैसकेकाहरुले फेरी नेपालको कम्युनिष्ट आन्दोलनको पुनरगठनको कुरा उठाउन थालेको देखिएको छ । त्यसैगरी व्यवहारिकरुपमा आफ्नो पार्टीको संगठन नगर्ने तर अरुको पार्टी फुटाउन जोडबल लगाउनेहरुले समेत बृहत् वामएकताको कुरा उठाउन थालेको देखिएको छ । यथार्थमा यतिबेला फेरी बिभिन्न कम्युनिष्ट पार्टीहरु आन्तरिक बिवादले ग्रस्त भएर बिभाजनतर्फ अगाडि बढेको देखिएको छ । जसको संकेत भनेको देशको विद्यमान राजनीतिक व्यवस्थामा संकट आयो भन्नेनै हो । यस्तो अवस्थामा कम्युनिष्ट पार्टीहरुकाबीचमा पार्टी एकता हुनै सक्दैन, हालको अवस्थामा हुने भनेको मोर्चागत राजनीति नै हो । तर नेपालका कम्युनिष्ट पार्टीहरुकाबीचमा बिभिन्न धारा र उपधाराहरु देखिएकाले आमरुपमा तत्काल संयुक्त मोर्चासमेत बन्नसक्ने अवस्था देखिएको छैन । बितेको ७१ वर्षको नेपालको कम्युनिष्ट राजनीतिको लेखाजोखा गरेरहेर्दा कुनैपनि कालखण्डमा अशली सिद्धान्तको सही अभ्यास हुनसकेको देखिदैन । नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीले कम्युनिष्ट राजनीतिका विश्वव्यापी मूल्य, मान्यता र आदर्शहरुको पालनासमेत गर्ननसकेको देखिएको छ । जबसम्म नेपालका कम्युनिष्ट पार्टीहरुले आफूलाई सच्चा र सिद्धान्तनिष्ठ बनाउन सक्दैनन् तबसम्म उनीहरुबाट शोषित पीडित नेपाली जनताको पक्षमा सहीरुपले काम हुनसक्दैन । यो ७१ वर्षको अभ्यासले सिकाएको प्रमुख पाठ भनेको कमसेकम सबै कम्युनिष्ट पार्टी र समूहहरु एकठाँउमा बसेर नेपालको समग्र कम्युनिष्ट आन्दोलनको मूल्यांकनगर्ने र निश्चित कुराहरुमा लिखित सहमतिगर्ने प्रयास गर्नुपर्दछ । हालको अवस्थामा नेपालको प्रायः कम्युनिष्ट पार्टीको नेतृत्वमा नवसामन्तहरुको प्रवेश भएकाले कित उनीहरुले त्यो ठाउँ छाड्नु पर्दछ । होइनभने अन्य नेता तथा कार्यकर्ताहरुले उनीहरुलाई त्यो ठाउँबाट खसाल्ने आँट गर्नुपर्दछ । यस्तो तौरतरिकाले नेपालको कम्युनिष्ट आन्दोलन अझै बिकृत र विश्रृंखलित हुने अवस्था आउन सक्छ । यो सबैले समयमानै बुझ्नु पर्ने कुरा हो ।
लेखक ः नेकपा (एकता केन्द्र) का महासचिव हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु