‘एमसीसी कुनै हालतमा मान्य हुदैन ‘

२०७८ भाद्र २८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसी कुनै पनि हालतमा मान्य नहुने बताएका छन्। नेपाल कम्युनस्टि पार्टीले एमसीसीविरुद्ध काठमाडौँको खुलामञ्चमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले एमसीसी सम्झौता जबर्जस्ती लादिए डटेर सामना गर्ने बताउदै भने -‘एमसीसी सम्झौता जबर्जस्त लादिँदेछ । एमसीसी नेपालको स्वतन्त्रताका विरुद्ध छ । सार्वभौमिकताका विरुद्ध छ । जनताका अधिकारका विरुद्ध छ। ’

महासचिव विप्लवले ‘देश रोज्नु हुन्छ कि एमसीसी रोज्नुहुन्छ । डलर रोज्नुहुन्छ कि स्वाधिनता रोज्नुहुन्छ ?’ भन्ने प्रश्न गर्दै भने – ‘तपाइँले जनताको अधिकार रोज्नुहुन्छ कि अमेरीकाको गुलामी रोज्नुहुन्छ ?’ महासचिव विप्लवले आफ्नो देश बचाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउदै भने – ‘एमसीसी आएपछि धेरै पैसा आउँछ भनिएको छ । के पैसाले समृद्धि हुन्छ ? अमेरिकाले दिएको डलरले के नेपाल कायापलट हुन्छ ? यसैलाई दलाल भनिन्छ ।’ पैसाबाट समृद्धि हुन नसक्ने भन्दै महासचिव विप्लवले एमसीसी जनताको हितमा नभएको थोलुवा गरे । विकास र समृद्धिको बाधक वर्तमान राज्यसत्ता भएको भन्दै श्रमजीवी जनता सत्ताको मालिक भए मात्रै समृद्धि हुने उनको भनाइ थियो । ‘हामीले बुझेका छौँ । जनताले बुझेका छन् । एमसीसीबारे नेपालका दलालहरुले कुरा बुझेका छैनन् । डलरले उनीहरुको आँखा बन्द भएको छ।’


यसैगरी , महासचिव विप्लवले जनताको व्यवस्था स्थापना गर्न र दलाल सत्ताका विरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन । महासचिव विप्लवले नेपाली जनताको अधिकार हनन गर्न खोज्ने हो भने यहाँका मुठीभर दलालहरूविरुद्ध ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए ।नेपाली दलालहरूले आफ्नो निहित स्वार्थका लागि जनताको रगत–पसिना र राज्यको सम्पत्ति लुटेको महासचिव विप्लवले बताए । देशको सत्ता दोहन गर्नेहरूले क्रान्तिकारी आन्दोलन अगाडि बढाइरहेको आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर जनताको आन्दोलनमा अङ्कुश लगाएको विप्लवले बताए । राष्ट्रिय स्वाधीनताको आन्दोलन अगाडि बढाउँदा आफ्नो पार्टीले चरम दमन, झूट्टा मुद्दा र यातनाको सामना गरेको पनि उनले बताए । जनतामा विश्वास गर्ने र जनतामा टेकेर अगाडि बढेको आफ्नो पार्टी राष्ट्रिय स्वाधीनताका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्न उनले बताए । जनताको तागत र क्रान्तिकारी आन्दोलनले यहाँका दलालहरूलाई परास्त पार्ने उद्घोष गर्दै महासचिव विप्लवले आफ्नो पार्टी जनताको शक्तिमा विश्वास गर्ने प्रस्ट पारे । उनले बन्दुकभन्दा जनता र पत्रकारको क्यामेरा बलियो हुने धारणा पनिराखे । नेपालमा एमसीसी सम्झौता जबर्जस्ती लादिएको भन्दै विप्लवले यो देश र जनताको हितविरुद्ध रहेकाले तत्काल खारेज गर्नुपर्ने बताए । उनले जुनसुकै मूल्य चुकाएर पनि एमसीसी खारेज नभएसम्म यसका विरुद्ध आन्दोलन अघि बढाउने बताए । उनले भने, ‘एमसीसी नेपालको सार्वभौमिकता र हितका विरुद्ध छ । एमसीसी जनताका विरुद्ध छ । नेपालको कानुनभन्दा माथि रहने सम्झौताले देशलाई अफगानिस्तान र सिरिया बनाउनेछ । जनता सार्वभौम हुने व्यवस्था स्थापना गर्नका लागि जनतालाई व्यवस्थाको फैसला गर्न दिनुपर्छ ।’


महासचिव विप्लवले देशको माया हुने हरेक नागरिकले एमसीसीका विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै पनि मूल्यमा नेपाली जनतामाथि एमसीसी थोपर्न दिनेछैनौँ ।’ महासचिव विप्लवले भने – ‘सरकारसँग ३ बुँदे सहमति गरेर हामीले उक्त सहमति इमानदारीपूर्व पालना गर्याेँ तर राज्यले उक्त सहमति इमानदारीपूर्वक पालना गरेको छैन । अहिलेसम्म हाम्रा साथीहरूका मुद्दाहरू खारेज गरिएको छैन । देशको भविष्य आँखामा सजाएर हिँडेका नेता–कार्यकर्ता र युवाहरूलाई सरकारले दमन गरेको छ । हाम्रो देशका नागरिकलाई जिउँदै महाकाली नदीमा बगाउने शासकहरूका विरुद्ध आन्दोलन गर्दा सरकारले हामीलाई जेलमा लगेर सडाउँछ भने हामी एउटा ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौँ ।’


सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी राष्ट्र र जनताको हितमा नभएकाले यसलाई नेपाली जनताको बलले परास्त गर्नुपर्ने बताए । प्रवक्ता प्रकाण्डले अमेरिकी साम्राज्यवादले २१ औँ शताब्दीका नेपाली जनतालाई झुक्याउने कोसिस गर्ने दुस्साहस नगरे हुन्छ भन्दै विदेशीहरूको पाउमा परेर आफ्नो सत्ता र कुर्सीस्वार्थका लागि नेपाली दलाल शासकहरूले देशको स्वाधीनताविरोधी काम गरे उनीहरुलाई नेपाली जनताको आन्दोलनको आँधीबेहरीले खरानी बनाउने बताए । साथै प्रवक्ता प्रकाण्डले राष्टघाती दलालहरूलाई एकीकृत जनक्रान्तिको आँधीबेहरीले उडाइदिने पनि बताए ।


प्रवक्ता प्रकाण्डले नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिलाउने व्यवस्था जनमतसङ्ग्रहको चुनावमा आउन सबैलाई आग्रह गरे । उनले राष्ट्रभक्त र देशलाई माया गर्ने सबै शक्तिलाई राष्ट्रियता रक्षाको आन्दोलनमा सहभागी हुन आग्रह पनि गरे । संसदीय चुनाव भए देश झन् बर्बाद हुने भन्दै उनले यो चुनावको औचित्य नभएको बताए । साथै प्रकाण्डले एमसीसी परियोजना खारेज गरेर देशको रक्षामा लाग्न समेत सबैलाई आग्रह गरेक थिए ।यसैगरी , उक्त बिरोधसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले यो देशको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनका लागि सम्पूर्ण क्रान्तिकारी वामपन्थी पार्टीहरूबीच एकता हुनुपर्ने बताएका छन् । नेता गजुरेलले अमेरिकी सहयोग एमसीसीबाटै ल्याउनुपर्ने कारण के हो भनी प्रश्न गरेका छन् । उनले अमेरिकाले नेपालको विकास, उन्नति र प्रगतिका लागि नभएर देशको प्राकृतिक स्रोतसाधन लुट्ने उद्देश्यले एमसीसीमार्फत नेपालमा ब्रह्मलुट मच्चाउन आएको बताए ।

उनले नेपालको हित चाहने हो भने सीधै सहयोग नगरेर किन एमसीसीमार्फत गरेको भनी अमेरिकालाई प्रश्न गरे । नेपाललाई अफगानिस्तान बनाउने र नेपालमा टेकेर चीनलाई घेर्ने उद्देश्यले अमेरिकामा नेपालमा आएको भन्दै उनले एमसीसी पारित भएको खण्डमा नेपाल युद्धभूमिमा परिणत हुने बताए ।
नेपाली जनताले नेपाललाई सिरिया बनाउन नचाहेको, बरु स्वाधीन बनाउन चाहेको भन्दै नेता गजुरेलले एमसीसी सम्झौता कुनै पनि हालतमा नचाहिएको प्रस्ट पारे । उनले हरेक नेपाली जनतालाई एमसीसी मुर्दावाद भन्न पनिआग्रहसमेत गरेका थिए ।
सोही बिरोधसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसीको प्रश्न नेपाल र नेपाली जनताको रक्षाको प्रश्नसँग जोडिएको बताएका छन् ।

उनले नेपालको राजनीतिलाई नयाँ दिशा दिनका लागि सबै क्रान्तिकारी र देशभक्त शक्तिहरू एकजुट भएर दलीय राजनीतिभन्दा माथि उठेर देश बचाउन अघि बढ्नुपर्ने बताए । दलाल पुँजीपतिहरूले देशलाई पराधीन बनाउन लागेको भन्दै उनले राष्ट्रियताको रक्षाका लागि एकपटक जनविद्रोहको आवश्यकता भएको बताए । यस्तै उनले सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको ३ बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने पनि बताए ।
यसैगरी , उक्त बिरोधसभालाई सम्बोधन गर्दै नेकपा (माले ) का महासचिब सिपि मैनालीले एमसीसी राष्ट्रघाती भएकोले कुनै हालतमा लागु हुन् दिन नहुने बताए । उनले एमसीसी खारेकिका लागि सबै एकजुट भएर संघर्षको आधिवेहरी सिर्जना गर्नुपर्ने बताए ।
यसैगरी , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुति) ले जबसम्म दलाल पुँजीवादी व्यवस्थाको अन्त्य हुँदैन र जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना हुँदैन, त्यो दिनसम्म नेपालको दलाल पुँजीवादका विरुद्धको आन्दोलन अघि बढिरहने बताएका छन् । नेकपाले एमसीसीविरुद्ध आज काठमाडौँमा आयोजना गरेको जनसभामा उनले आमजनतालाई अमेरिकी साम्राज्यवाद भनेको के हो भन्ने कुरा बुझाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘यो देशलाई विदेशीहरूको खेल मैदान बनाउन नदिन देशभक्त क्रान्तिकारी शक्तिहरूले बुझ्नु जरुरी छ । सचेत र व्यवस्थित रूपमा हामीले देशभक्तहरूको मोर्चा निर्माण गर्न आवश्यक छ । देशमाथि लाद्न खोजिएको एमसीसीका विरुद्ध देशभक्तिपूर्ण आन्दोलन अघि बढाउन आवश्यक छ ।’
यसैगरी , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी परियोजना विकासको देश र जनताको हितमा नभएको बताए ।
अमेरिकी र नेपाली शासकहरूले यसलाई विशुद्ध विकासको नारा दिए पनि यो आइपिएस परियोजना अन्तर्गतको सैन्य रणनीति भएको बताएका छन् । विश्व बजारमा आफ्नो प्रभुत्व जमाउँने उद्देश्य अनुसार अमेरिकाले ल्याएको उक्त परियोजना लागू भए देश पराधिन हुने बताएका छन् । संसदवादका दलालहरू हारिसकेका छन् । त्यसैकारण उनीहरू एमसीसीमार्फत साम्राज्यवादको सत्ता टिकाई राख्नका लागि यो परियोजना लागू गर्न खोजेका छन् । सामाज्यवादका विरुद्ध लड्न र देशलाई बचाउनको लागि एमसीसी खारेज गर्नको लागि एउटा क्रान्तिको आधिवेहरी सिर्जना गर्नुपर्ने हुन्छ ।
यसैगरी , उक्त बिरोधसभालाई सम्बोधन गर्दै हाम्रो नेपाल हामी नेपाली पार्टीका अध्यक्ष सुरेन्द्र भण्डारीले एमसीसीवादीहरू देशद्रोही भएको बताए। उनले जनताको रगत पसीना चुसेर सत्तामा बसेकाहरूलाई तह लगाउने नेपाल कम्युनिस्ट पार्टी र त्यसका विप्लवको दायित्व हो । यो देशका शासकहरूलाई जनताको बलले घुडा टेक्न बाध्य बनाउनु पर्दछ । एमसीसीलाई देशबाट लखेट्नको लागि संयुक्त आन्दोलन अघि बढाउनु पर्दछ । सबैजनता एकजुट भएर आन्दोलित भएको खण्डमा यो पराजीत हुनेछ । उनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई देश एकीकृत गर्ने जिम्मेवारी पूरा गर्ने कार्यमा सफलता मिलोस् भन्दै पृथ्वीनारायण शाहको तस्वीर उपहार प्रदान गरेका थिए ।


यसैगरी , आइटी आर्मी पार्टीका अध्यक्ष अमर शाहले नेपालका युवाहरूले नै जनताको आफ्नो व्यवस्था स्थापना गर्नको लागि समाजवादी क्रान्ति गर्नुपर्ने बताए । उनले देशलाई राष्ट्रघाती सम्झौताबाट बचाउनका लागि सबै सचेत नागरिकहरू एक हुनुपर्ने बताए । यदि एमसीसी पारित भएको खण्डमा देशमा आगो बल्ने र सबै सचेत युवाहरू एकजुट भएर आन्दोलनको आधिबेहरी सिर्जना हुने बताएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु