साइनिङपाथको संस्थापक तथा दर्शनशास्त्रका प्राध्यापक गोञ्जालोको निधन

२०७८ भाद्र २७ गते, आईतवार


काठमाडौं । कम्युनिष्ट दर्शन र ब्यबहारका लागि २९ बर्ष लामो समयदेखि जेलमा रहेका डा. अबिमेयल गुजमान (गोञ्जालोे) को सेप्टम्बर ११ (शनिवार) साँझ ८६ बर्षको उमेरमा निधन भएको हो । पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) को संस्थापक नेता तथा दर्शनशास्त्रका प्राध्यापक डा. अबिमेयल गुजमान गोञ्जालोलाई पार्टी कामको सिलसिलाका क्रममा राजधानी लिमाको एक नृत्यशालाबाट सन् १९९२ मा पक्राउ गरिएको थियो । बौद्धिक नेता गोञ्जालोे तत्कालिन शासक फुजिमोरोका लागि मात्र नभएर अमेरीकी शासकका लागि पनि टाउको दुखाइ बनेका थिए । पेरुमा उनले अघि बढाएको जनयुद्ध कथित एक धु्रविय साम्राज्यवादका लागि निकै चिन्ताको बिषय बनेको थियो । साठीको दशकमा फिलीपीन्स, सत्तरीको दशकमा टर्की र असिको दशकमा पेरुमा फैलिएको जनयुद्ध संसारभरी सम्प्रेषित हुने देखि अमेरीकाले उनको पक्राउका लागि ठूलो धनराशि खर्च गरेको थियो ।
विश्विद्यालयबाटै पनि साम्राजबाद विरोधि हुँकार फैलाउने गोञ्जालोे अमेरीकी आँखाको तारो बनेका थिए । अमेरीकी सहयोगका बिशेष सुरक्षा टोलीले उनलाई १९९२ को सेप्टेम्बर १२ मा पक्राउ गरेको थियो । उनको रिहाइका लागि संसारैभर आवाज उठेको थियो । नेपालमा पनि पदमरत्न तुलाधरको नेतृत्वमा गोञ्जालोे बचाउ अभियान चलेको थियो भने श्याम श्रेष्ठ र शुरेस आले नेतृत्वका साम्राज्यवाद बिरोधि संंस्थाहरुले बिरोध र प्रर्दशनहरु गर्दै आएका थिए । यसबाहेक तत्कालीन नेकपा एकता केन्द्र, नेकपा मसाल र पछिल्लो चरणमा नेकपा माओवादीले जनयुद्धको मैदानबाटै पनि उनलाई सलामीको सम्मान दिंदै आएको थियो । छालाको क्यान्सरबाट पीडित उनी बरु जेलभित्रै मर्ने तर नझुक्ने प्रण गरेका थिए । गोञ्जालोको स्वास्थ्य कमजोर बन्दै गएपछि विश्वभरिका कम्युनिस्टहरूले उनको स्वास्थस्थिति सार्वजनिक गर्न माग गरेका थिए । जेलभित्र पटक पटक आन्दोलन र हडताल समेत गराएका उनलाई अमेरीकी बिशेष दस्ताहरुबाट यातना दिएको समाचार बाहिरीएको थियो । सन् २०२१ को जुलाइमा उनको स्वास्थ जटिलता भएपछि बिशेष सुरक्षा सहितको अर्को जेलमा स्थानान्तरण गरीएको थियो ।
गोञ्जालो विश्वभरिका कम्युनिस्ट एवं क्रान्तिकारीहरू बिचनिकै लोकप्रिय थिए । सन १९७६ मा माओको निधनपछि सुस्ताएको माओवादी आन्दोलनलाई उठाउन गोञ्जालोले नै निर्णायक भूमिका खेलेका थिए । चीनको हुनानमा भएको किसान विद्रोह, नयाँजनवादी क्रान्ति, महान अग्रगामी छलाङ, सर्वहारा साँस्कृतिक क्रान्ति, अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजको विश्लेषण, दीर्घकालीन जनयुद्धको कार्यदिशा लगायतका माओका योगदानलाई माओवादका रूपमा संश्लेषण गर्नुमा गोञ्जालोको महत्वपूर्ण भूमिका थियो ।
गोञ्जालोको जन्म सन १९३४को डिसेम्बर ३ मा एरक्वेपा, एण्डिज श्रृंखला पेरुमा भएको हो । गोन्जालोको वास्तविक नाम डा. अविमायल गुज्मन रेनोसो हो । एरक्वेपा विश्वविद्यालयबाट विद्यावारिधि गरेका गोञ्जालोले सन् १९६२ देखि १९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरुमा प्राध्यापन गरेका थिए । सन् १९४५ मा दोस्रो विश्वयुद्धमा फाँसीवादको पराजयमा खुसी मनाउन पेरुका वामपन्थीहरुले निकालेको जुलुुसबाट गिरफ्तार भएपछि उनको राजनीतिक यात्रा ठोस रुपमा सुरु भएको थियो ।
गोञ्जालोे सन् १९४६ मा कम्युनिस्ट योङ ब्रिगेटको सदस्य भएका थिए भने १९५६ मा एरक्वेपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्ष निर्वाचित भएका थिए । १९६५ मा चीनको भ्रमणपछि १९६६ मा पेरु कम्युनिष्ट पार्टीको सदस्य भएका उनलाई सन १९६९ मा कम्युनिस्टको आरोपमा पक्राउ गरिएको थियो । पार्टी सदस्यता लिएको ९ बर्षमै सन् १९७५ मा पेरु कम्युनिस्ट पार्टीको अध्यक्ष भएका गोञ्जालोकै नेतृत्वमा सन् १९८१ मा पेरुमा सशस्त्र जनयुद्ध सुरु गरिएको थियो । यो जनयुद्धले अपार सफलता पाइरहेको अवस्थामा प्रतिक्रियावादी फुजीमोरी सरकारले सन् १९९२ को सप्टेम्बर १२ मा पक्राउ गरी सैनिक जेलमा राखेर आजीवन कारावासको सजाय सुनाएको थियो । उनको निधनका बारे बिबिसी, सिएनन, वालस्ट्रिट, न्युयोर्क टाइम्स, वाशिंगटन पोष्ट, गार्जियन लगायतका संचारमाध्यमले पुष्टि गरेका छन् । पेरुको सबभन्दा पुरानो पत्रिका एल पेरुयानोले बिशेष सामाग्री सहित उनको निधनबारे पुष्टि गरेको छ । उनको निधन पछि उनलाई माओवादी दर्शनका महानायक भन्दै सामाजिक सञ्जालहरुमा श्रद्धाञ्जली सहित सम्मान व्यक्त गरिएका छन् ।

प्रतिक्रियाहरु